पहिलोचोटी उपासनासँग खेल्दै आर्यन

पहिलोचोटी उपासनासँग खेल्दै आर्यन

अभिनेता आर्यन सिग्देल र अभिनेतृ उपासनासिंह ठकुरी पहिलोपटक एउटै फिल्ममा देखिँदै छन् । पुस १५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘डिसेम्बर फल्स’ मा यी दुई कलाकारले पहिलोचोटी स्क्रिन शेयर गरेका हुन् ।

निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको थियो । सार्वजनिक भएका दुई पोस्टरमा आर्यन र उपासना एकल रुपमा प्रस्तुत भएका छन् । आर्यन ‘एक्शन–रियाक्सन’ मा देखिएका छन् भने उपासना घाइते अबस्थामा तनावग्रस्त देखिन्छिन् । दुवै पोस्टरले चर्चा पाइरहेका छन् ।

अभिनेता आर्यन केही समयको अन्तरालपछि ‘डिसेम्बर फल्स’ मार्फत पर्दामा फर्किंदैछन् भने उपासना पछिल्लो समयकी सफल नायिका हुन् । उनी अभिनित अहिलेसम्मका सबै चलचित्र सुपरहिट भएका छन् ।

भारतीय फिल्म उद्योगमा कार्यरत ब्यस्त निर्देशक प्रवीण झाद्वारा निर्देशीत फिल्ममा आर्यन र उपासनासँगै सुमन थापा रोहित, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय रहेको छ ।

रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । चलचित्रको कथा लेखन बिपीका खनालले गरेका हुन् भने केदार भुसाल र प्रतीक पौडेलको पटकथा/संवाद रहेको छ । फिल्मको सम्पादन बनिष शाहले गरेका छन् ।

टिप्पणीहरू