कर्मचारीको लयमा लाहुरेको खुशी

कर्मचारीको लयमा लाहुरेको खुशी

    ‘म त लाहुरे हङकङको, मेरी हितैकी मायाले नाची देऊ न एक फन्को....।’ लोकदोहोरीमा रमाउनेहरुका लागि एकजना कर्मचारीको सौगात हो यो गीत । नेपाल सरकारको स्वामित्वमा सञ्चालित साझा स्वास्थ्य सेवा, भरतपुर क्यान्सर शाखा प्रमुख बेलबहादुर पौडेलको आफ्नै लयमा सजिएको यो गीतमा लाहुरेहरु छुट्टीमा घर फर्किंदाको खुशी, आत्मीयता र रमाइलो क्षणलाई रंगीन ढंगले प्रस्तुत गरिएको छ । लाहुरबाट घर आउँदा परिवार, इष्टमित्र अनि हितैषीसँग हुने हर्षाेल्लासलाई मायापिरतीको भाकामा उनिएको छ । 


पेशाले गायक नभए पनि बेलबहादुरको गायन सुमधुर छ । झन् यो गीतमा चर्चित गायिका सुनिता बुढाक्षेत्रीसँग उनको स्वर मिसिँदाको मीठास नै बेग्लै छ । दाङका केबी भण्डारीको शब्द र संगीत रहेको यस गीतमा चितवनकी पूजा क्षेत्री र सुर्खेतका अलफाज शाहले मोडेलिङ गरेका छन् । लाहुरेहरु प्रायः दशैं,  तिहारको अवसर पारेर घर आउँछन् । सोही मौका पारी गत ९ असोजमा रिलिज गरिएको यस गीतलाई गीता क्रियसनको युट्युब च्यानलमा राखिएको छ । अहिलेसम्म ६९ हजारभन्दा बढी दर्शक÷स्रोताले यो म्युजिक भिडियो हेरिसकेका छन् । 


भरतपुर–११ निवासी पौडेल चितवनकै पटिहानीमा जन्मिएका हुन् । सानोमा स्कूल पढ्दादेखि नै गीत–संगीतमा उनको अभिरुची थियो । विद्यालयस्तरमा पनि विभिन्न कार्यक्रमहरुमा गीत गाइरहन्थे । आफ्नो शोख र प्रतिभालाई अहिले जागिरे जीवनमा पनि प्रस्फुटन गर्नु कम्ती लगावको विषय होइन । गीतसंगीत आफ्नो रुचीको क्षेत्र भएको र आफूमा रहेको यही कलालाई बाहिर ल्याएको बताउँदै बेलबहादुरले भने, ‘कला–संस्कृति हाम्रो अभिन्न अंग हो, यसलाई हामी सबैले माया गर्नुपर्छ ।’ यो म्युजिक भिडियो उनैको लगानीमा बनेको हो । 

गीत–संगीतमार्फत् कमाइ भन्दा पनि साथीभाइ र स्रोता बटुल्ने चाहना रहेको उनी बताउँछन् । जागिरपछिको आफ्नो अर्काे प्राथमिकताको क्षेत्र गीतसंगीत नै रहेको भन्दै यसलाई निरन्तरता दिँदै जाने पौडेलले बताए ।

केही महिना अगाडि पनि उनको ‘आउ बसम् यतै भो...’ बोलको लोकदोहोरी अडियो सार्वजनिक भइसकेको छ । अर्काे नयाँ रेकर्डिङको तयारी भइरहेको पनि उनले बताए ।

 

टिप्पणीहरू