दलीय प्रणालीमै त्यसपछि निरीह बन्न पुगे दलहरू

दलीय प्रणालीमै त्यसपछि निरीह बन्न पुगे दलहरू

योपटकको निर्वाचनमा बदर मतको त्यति धेरै चर्चा छैन, तर मत बदर भने डरलाग्दो छ । स्थानीय चुनावमा ठूलो मतपत्र र धेरै चुनाव चिह्नका कारण धेरै मत खेर गयो । यसचोटि भने कर्मचारीको अलमलका कारण धेरै मत खेर गइरहेको गणनामा सहभागी कर्मचारीहरू बताउँछन् । कतिपय ठाउँमा त बाकसका बाकस मत बदर भइरहेका छन् ।

निर्वाचन आयोगले कर्मचारीलाई प्रशिक्षण दिन नसक्दा बदरमा वृद्धि भएको हो । मतपेटिका कहाँ राख्ने ? प्रत्यक्ष र समानुपातिक कुन, कहाँ राख्ने ? भन्नेमै गञ्जागोल भएको कर्मचारीहरू बताउँछन् । कतिपय ठाउँमा मतदान शुरु भयो, तर कुन मत प्रदेशमा, कुन मत संघमा भनेर कर्मचारी नै अलमल गर्दै थिए । कतिपय मतदान अधिकृतले मतदान केन्द्रमै जाँड खाँदा समस्या भयो, अधिकृत फेरिए । यस्तो घटना कपिलवस्तुको शिवराज नगरपालिकासहित केही ठाउँमा भएका छन् । 

कतिपय मतदान केन्द्रमा कर्मचारीले प्रदेश र प्रतिनिधिसभाका मतपत्र नचिनाई हात हातमा मतपत्र थमाउँदा एकातिर खसाल्नुपर्ने मत अर्कातिर हालिएका छन् । त्यसरी गलत किसिमले खसालिएको मत स्वतः बदर हुने नै भए । त्यसो त निर्वाचन आयोगले दलहरूको भूमिकालाई पनि संकुचन गर्दा मतदाता शिक्षामा समस्या आएको छ । निर्वाचन आयोग आफैँले मतदाता शिक्षा कार्यक्रम खासै चलाएन । उक्त शीर्षकको बजेट विभिन्न संघसंस्थालाई बाँडेरै सकियो । बदरको यकिन संख्या आयोगले हालसम्म सार्वजनिक गरेको छैन ।

दलको बल भनेकै कार्यकर्ताको हुल हो । पार्टीको परम्परागत प्रचार माध्यम तुल, ब्यानर, भित्ते नारा, पोष्टर र माइकिङ हो । स्वतन्त्रलाई त एक्लै हिँडे पनि भयो । तर, यसपटक तिनै राजनीतिक दलका लागि प्रचार प्रसारको यथेष्ट समय दिइएन । हुनेले सामाजिक सञ्जालबाट प्रचार गरेर चुनाव पनि जितिरहेका छन् । त्यो प्रविधिमा अभ्यस्त नभएका प्राचीन शैलीकै कतिपय दलीय उम्मेदवारले प्रचारको अभावमा चुनाव हार्नुपर्ने स्थिति स्थानीयदेखि अहिलेको निर्वाचनसम्म देखिएको छ ।

स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालको बलमा जित्ने काठमाडौं महानगरका मेयर बालेनलाई सघाउने ३६ लाख फलोअर्स भएको फेसबुक पेज छ । अहिले घण्टी लहर ल्याएका रवि लामिछानेको १० लाख फलोअर्स भएको फेसबुक पेज छ । उक्त प्रविधिमा अभ्यस्त नहुनेका लागि जम्मा १८ दिनको प्रचार सीमा, २५ भन्दा बढी हिँड्न नपाइने पावन्दी थियो । यसले गर्दा विशेषतः पहाडी र दुर्गम जिल्लामा समस्या भएको बताइन्छ ।
 

टिप्पणीहरू