नेपालीभाषी मारिएको साता नबित्दै ७ जनालाई मृत्युदण्ड

नेपालीभाषी मारिएको साता नबित्दै ७ जनालाई मृत्युदण्ड

नेपालीभाषी राजु आचार्य (२७) को ‘गोली हानी हत्या’ गरेको हप्ता दिन नपुग्दै म्यान्मारको एउटा सैनिक अदालतले सात जना विद्यार्थीलाई मृत्युदण्डको सजाय सुनाएको छ। डागन विश्वविद्यालयका ‘जुन्ता’विरोधी कार्यकर्ता खान्ट जिन विन,थुरा माउङ माउङ,जाव लिन नाइङ,थिहा हटेट जाव, हेन हेट,थेट पिङ ऊ र खान्ट लिन माउङ माउङलाई मृत्युदण्डको सजाय सुनाइएको हो।

सैनिक अदालतको विशेष इजलासले सेनाविरोधी प्रदर्शनमा भाग लिएको भन्दै उनीहरूलाई देशद्रोहको अभियोगमा कडा फैसला गरेको सैन्य अधिकारीहरूले जनाएका छन्।‘जुन्ता’निकट सशस्त्र समूह ‘प्यूसठी’का अनुसार पूर्वसैन्य अधिकारी साव मो विनलाई ‘गोली हानी हत्या’ गरेको आरोपमा यी विद्यार्थी कार्यकर्तालाई गत अप्रिलमा पक्राउ गरिएको थियो ।

‘कू’यता (फेब्रुअरी २०२१) म्यान्मारमा २ हजार ५ सयभन्दा बढी निर्दोष नागरिकको हत्या गरेको सैनिक शासकले चारैतिर थप डर देखाउनका लागि मृत्युदण्डको सजाय सुनाइरहेको छ। जुलाईमा पूर्वसांसद फ्यो जेया थाव, प्रजातन्त्रवादी कार्यकर्ता को जिमी,हला म्यो आङ र आङ थुरा जावलाई ‘जुन्ता’ परिषद्ले मृत्युदण्ड दिएको थियो। डागन विश्वविद्यालय युनियन फोर्सका नेपालीभाषी कार्यकर्ता रामोसले मृत्युदण्डको सजायलाई अन्यायपूर्ण भन्दै चर्को निन्दा गरेका छन् ।

नयाँ पुस्ताका युवा—युवतीहरू ‘जुन्ता’विरूद्ध सबैभन्दा आक्रोशित देखिएका छन्। तर, कठोर शासकसामु निर्दोष जनता निरीह छन् । आँखै अघिल्तिर ‘जनताको आवाज बोलिरहेका’ प्रदर्शनकारी ज्यान गुमाउन बाध्य छन्। कैयौं परिवारका सदस्यको हत्या भएको छ । कलिला केटाकेटीहरू अकालमै मारिएका छन्। शान्तिपूर्ण आन्दोलन गर्दा जेल पठाइन्छ। चारैतिर अत्याचार छ। जताततै अन्याय छ। यतिबेला ‘डेमोक्रेसी’बारे मन्थन गर्ने नेता,कार्यकर्ता सुरक्षित छैनन्। शासकको कदम कठोर छ । म्यान्मारलाई अँध्यारो बाटोमा हिँडाएको छ।

जनता बढ्दो सामाजिक र आर्थिक कठिनाइबाट बाहिर आउन संघर्ष गरिरहेका छन् । राजनीतिक संकट उस्तै छ । एउटा बर्मेली जीवनमा अनगिन्ती चुनौतीहरू थपिएका छन् । सत्ता कब्जा गरेर सैन्य ‘जुन्ता’ले पूर्ण बर्बरता निम्त्याएको छ।

टिप्पणीहरू