न्यायाधीशकी पत्नी न्यायका लागि भौतारिँदै,रुँदै भन्छिन्,‘अब म कहाँ जाऊँ ?’

न्यायाधीशकी पत्नी न्यायका लागि भौतारिँदै,रुँदै भन्छिन्,‘अब म कहाँ जाऊँ ?’

भनिन्छ,न्याय दिलाउने व्यक्ति न्यायाधीश हुन् । न्यायालयको प्रमुख अधिकारी जो पीडितलाई न्याय दिनका लागि बसेको हुन्छ,ऊ नै न्यायाधीश हो ।  तर, न्यायको कुर्सीमा बसेका न्यायाधीशले नै न्याय मार्ने काम गरेपछि पीडितहरु मर्कामा पर्ने गरेका छन् । 

न्यायाधीशको कुर्सीमा बसेर फैसला सुनाउनेलाई उल्टै सुनपानीले छर्किनुपर्ने अवस्था सिर्जना भएको छ । हालै सार्वजनिक भएको एउटा घटनाले न्यायाधीश र न्यायमाथि नै प्रश्न खडा गरिदिन सक्छ । 

न्यायाधीशकै श्रीमती न्याय नपाएर हारगुहार गरिरहेको धेरैलाई अनौठो लाग्न सक्छ । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावल गिरी न्यायका लागि भौँतारिरहेकी छन् । 

लामो समयदेखि न्यायाधीश गिरीसंग प्रेममा रहेकी आरतीले २०७५ वैशाख २९ गते त्यसलाई वैवाहिक सम्बन्धमा परिणत गरिन् । उनले आफूलाई साँच्चै माया गर्छन् भन्ने सोचेर जीवनसाथी बनाएकी आरतीले त्यसपछि नपाउनु दुःख पाइन् । 

आफैं न्यायाधीश भएपछि अरुले के गर्न सक्छ भन्ने मनशाय भएका गिरीले आरतीलाई बन्धक बनाएर राखे । विवाहपछि आरतीले आफ्नो श्रीमानको सोचाइ एकदमै तल्लो स्तरको भएको थाहा पाइन् । श्रीमानले जसरी भन्यो त्यसरी बस्नुपर्ने बाध्यता उनलाई थियो । 

उनले आफ्नो घरपरिवारसंग सबै नाता तोडिन् । न माइत जान पाउँथिन्,न आफन्तका । विवाहको यत्रो वर्षसम्म श्रीमानको घरमा पाइला नटेकेकी बताउँछिन्,आरती । न्यायाधीश गिरीले घरमा केही समस्या छ भन्दै आरतीलाई अँध्यारोमा राखेका थिए । 

न्यायाधीश गिरी जहाँजहाँ सरुवा हुन्थे,आरतीलाई संगसंगै लिएर जान्थे । आरतीले विस्तारै आफू श्रीमानको यौन प्यास बुझाउने साधन भएको थाहा पाइन् । बिरामी हुँदा होस् या महिनावारी आरतीसंग यौन सम्बन्ध राख्न खोज्थे । 

गिद्दले सिनो लुछेझैं आरतीको शरीर लुछ्थे । आफ्नो प्यास मेटिएन भने मरणासन्न हुनेगरी पिट्थे । आफ्नो शरीरमा भएको नीलडाम देखाउँदै उनी बिलौना गर्छिन्,‘त्यस्तो न्यायाधीशले कुर्सीमा बसेर महिलालाई के न्याय दिन्छ ? म भित्रैदेखि टुटफुट भइसकेको छु ।’

दिनहुँ कुटपिट र अनेकौं यातना सहन नसकेर उनी गत मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा उजुरी दर्ता गराउन पुगिन् । प्रहरीले उनलाई उल्टै थर्काएर पठाए । उनी भन्छिन्,‘उजुरी दर्ता गर्न भनेर प्रहरीमा पुगेकी थिएँ । उल्टै थर्काएर र धम्काएर पठाए ।’ 

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि राष्ट्रिय महिला आयोगको ढोका ढक्ढक्याइन् । आयोगले मेडिकल जाँच गर्न लगाएपछि उनको मनमा न्यायको आश पलायो । तर, दुई हप्ता बितिसक्दा पनि न्यायाधीश गिरीलाई कारबाही गर्ने प्रक्रिया अघि बढ्न सकेको छैन । गहभरि आँशु पार्दै उनले दुःखेसो पोखिन्,‘मेरो ईज्जत लिलाम भयो । अब रुनुबाहेक अरु केही विकल्प छैन ।"

प्रहरी चौकीले कारबाहीको पत्र आयोगमा पुगेको छ भन्छ, आयोग प्रहरी चौकीमा । दुई वटै निकायले आलटाल गरिरहेका छन् । अब म कहाँ जाऊँ ?’ यता, जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक (डिएसपी) मीनबहादुर घलेले हालसम्म पनि उजुरी दर्ता नभएको बताए । 

‘अहिलेसम्म मुद्दा दर्ता भएको छैन’, उनले भने,‘मैले योभन्दा धेरै केही बोल्न मिल्दैन ।’ न्यायको कुर्सीमा बसेका यस्ता व्यक्तिले कानुनलाई गिज्याइरहेका छन् । यता, प्रहरी र आयोगको मौनताले पीडितको चित्कारलाई दबाउन खोजेको स्पष्ट हुन्छ ।

टिप्पणीहरू