प्रदेश १ मा एमालेको उन्नति,अरुलाई घाटा,राप्रपाको प्रगति

प्रदेश १ मा एमालेको उन्नति,अरुलाई घाटा,राप्रपाको प्रगति

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यता, समानुपातिकतर्फको मतगणना पनि जारी छ । 

यसैबीच,प्रदेश नम्बर १ को प्रदेश सभा समानुपातिकतर्फको अन्तिम मतगणना सार्वजनिक भएको छ । प्रदेश सभा समानुपातिकतर्फ नेकपा एमाले सबैभन्दा अगाडि छ भने राप्रपाले सबैभन्दा धेरै प्रगति गरेको देखिन्छ । 

अग्रस्थानमा रहेको एमालेले ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेको छ । २०७४ सालको निर्वाचनको तुलनामा हाल एमालेको आठ हजार २४९ मत बढी छ । 

त्यस्तै, नेपाली कांग्रेस पाँच लाख ६२ हजार ९५६ मतसहित दोस्रो स्थानमा रहेको छ । कांग्रेसले अघिल्लो चुनावभन्दा २३ हजार २९० मत बढी ल्याएको छ । 

तेस्रो स्थानमा रहेको राप्रपाले प्रदेश सभा समानुपातिकतर्फ एक लाख ९८ हजार ५११ मत पाएको छ । राप्रपाले यसअघिको चुनावभन्दा एक लाख ४१ हजार १६९ मत बढी प्राप्त गरेको हो । 

यसैगरी,नेकपा माओवादी केन्द्रले पनि अघिल्लो निर्वाचनभन्दा २५ हजार ५२६ मत बढी ल्याएको छ । गोलाकारभित्र हँसिया- हथौडा चिन्ह भएको माओवादीले दुई लाख ६ हजार ७८१ मत पाएको छ । 

अन्य पार्टीको मत बढ्दा जनता समाजवादी पार्टी (जसपा) को भने घटेको देखिन्छ । जसपाले समानुपातिकतर्फ ६१ हजार ७२३ मत प्राप्त गरेको छ । प्रदेश सभातर्फ नेकपा एकीकृत समाजवादी पार्टी सबैभन्दा तल देखिएको छ । उसले जम्मा ५५ हजार ९५७ मत ल्याएको छ ।

एमालेको सीट संख्या १५ मा यथावत रहँदा कांग्रेस १३ बाट १२ मा ओर्लिएको छ । माओवादी पाँचबाट चारमा झरेको छ । यता, जसपा दुईबाट एक हुँदा राप्रपा एकबाट चार हुन पुगेको छ ।

टिप्पणीहरू