बहुविवाह गरेकालाई सांसद नबनाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

बहुविवाह गरेकालाई सांसद नबनाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

बहुविवाह गरेको व्यक्तिलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि समानुपातिकको सूचीबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । अभिवक्ता केदार लुईँटेलले बहुविवाह कानुन विपरित भएकाले त्यस्ता व्यक्तिहरुलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन माग गर्दै हिजो आयोगमा निवेदन दर्ता गराएका हुन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसूरका रुपमा परिभाषित गरिएको छ । त्यसैमा टेकेर अधिवक्ता लुँईटेलले आयोगमा उजुरी हालेका हुन् । राजनीतिक दलले कानुन निर्माण गर्ने विधायकमा सजाय पाउने कसूरदारलाई सिफारिस गरेबाट मुलुकमा विधिको शासनमाथिको चुनौती थपिएको उजुरीमा उल्लेख छ ।

बहुविवाहको कसूर गरेका राप्रपाका प्रेमराज थाम्सुहाङ, नेकपा मालेका कृष्णबहादुर आले र चिरञ्जीविराम थारु, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अकवाल कविराज, लोकतान्त्रिक संघीय मञ्चका ज्ञानबहादुर इबुङ लिम्बु र एमालेका चक्रपाणी शर्माको नाम समानुपातिकको बन्दसूचीमा रहेको दावी गर्दै उजुरीमा उनीहरुको नाम हटाउन माग गरिएको छ ।

बहुविवाहको कसुर गर्ने व्यक्तिलाई एक वर्षदेखि पाँच बर्षसम्म कैद वा दश हजार रुपैयाँदेखि पचासहजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सरकारी निकायले बहुविवाह गरेको जानकारी पाएपछि अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा कानुनले कसूरदार मानेको व्यक्तिलाई विधायिकामा पुर्याउने कार्यले विधिको शासनमाथि चुनौती दिएको पनि निवेदक लुईटेलले बताएका छन् ।

सर्वाेच्च अदालतबाट बहुविवाहको कसुरमा प्रतिपादित नजिर /सिद्धान्तहरु अवलोकन गर्ने हो भने निर्णय नं. ७८८४ (ने.का.पा. २०६४ पुस अंक ९) मा बहुविवाहको कसूरलाई एउटा गम्भीर कसूर मानी कुनैपनि अवस्थामा कानुनको पालना नगर्ने छुट नहुने भनिएको छ ।

यसैगरी निर्णय नं. १०१७८ (ने.का.प. २०७६ बैशाख अंक १) मा बहुविवाहको कसूर सरकारी निकायले थाहा जानकारी पाएको मितिबाट समानुपातिकको सूचिमा संलग्न बहुविवाह गरेका व्यक्तिहरु उपर मुद्दा दायर गर्नु पर्दछ ।

टिप्पणीहरू