रुस भयो पारमाणविक अस्त्र घटाउने सन्धिबाट अलग

रुस भयो पारमाणविक अस्त्र घटाउने सन्धिबाट अलग

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुक अमेरिका र रुसबीचको ‘न्यू स्टार्ट’ नाम दिइएको पारमाणविक अस्त्र घटाउने सम्बन्धि एक रणनीतिक सन्धिबाट पछि हटेको बताएका छन् । उनले आज रुसी संघीय संसदलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।

सांसदहरुको सामुन्ने उनले भने, ‘म आज रुसले सामरिक महत्व भएका र आक्रमणमा प्रयोग गरिने अस्त्रहरूसँग सम्बन्धित सन्धिबाट पछि हटेको घोषणा गर्न बाध्य भएको छु ।’ उनले अमेरिकालाई चेतावनी दिँदै भनेका छन्, ‘उसले पारमाणविक अस्त्र परीक्षण गरे रुस पनि चुप लागेर बस्दैन ।’

‘न्यू स्टार्ट’ रुस र अमेरिकाबीच बाँकी रहेका पारमाणविक हतियारहरु कटौतीको एउटा सम्झौता हो । सन् २०२१ मा उक्त सन्धिको समयसीमा सन् २०२६ सम्म थपिएको थियो । उक्त सन्धिमा दुबै मुलुकले सन् २०१० मा हस्ताक्षर गरेका थिए ।

आफ्नो सम्बोधनमा उनले युक्रेनमा जारी युद्धको प्रमुख कारण पश्चिमा राष्ट्रहरू भएको खुलासा गरेका छन् । युक्रेनलाई पश्चिमा राष्ट्रहरूले ‘रुसविरोधी’ बनाउने प्रयास गरेकाले त्यसबाट उत्पन्न खतरालाई रुसले हटाउन खोजेको राष्ट्रपति पुटिनको भनाइ छ ।

टिप्पणीहरू