एक प्रकाण्ड परिवर्तनकारी

एक प्रकाण्ड परिवर्तनकारी

आखिर यो देशको सबैभन्दा ठूलो परिवर्तनकारी नेता कोही छ भने त्यो प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्ड नै हो भन्ने कुरा फेरि एक पटक पुष्टि भएको छ । उहाँ पहिले–पहिले क्रान्तिकारीको भेषमा हुँदा खुबै परिवर्तनको कुरा गर्नुहुन्थ्यो । देश बदल्ने कुरा गर्नुहुन्थ्यो । व्यवस्था बदल्ने कुरा पनि गर्नुहुन्थ्यो । तर, मान्छेले उहाँलाई पत्याएको थिएन । केपी ओलीले त झनै पत्याएका थिएनन् । 

तर, अहिलेचाहिँ पत्याउनुभयो होला । नपत्याई सुख पनि छैन । किनभने कमरेड प्रचण्डले दुई महिनामै जुन खालको सत्ता परिवर्तन, सरकार परिवर्तन र गठबन्धन परिवर्तन गरेर देखाइदिनुभयो, यसबाट प्रमाणित हुन्छ कि उहाँ साँच्चै एक सच्चा परिवर्तनकारी नेता हुनुहुन्छ ।

यसबीच उहाँले आफ्नो वचन, इमान र प्रतिबद्धतामा जुन परिवर्तन ल्याउनुभयो, त्यसको त कुरा गरिसाध्य छैन । मात्र दुई महिना भित्र सत्ता, समीकरण, गठबन्धन र इमानमा यति धेरै परिवर्तन त उहाँ जस्तो परिवर्तनकारी नेताले मात्रै गर्न सक्छ । अरूले सक्दैन । सक्छ र ?
 

टिप्पणीहरू