जनताले जान्ने त यत्तिमात्रै हो

जनताले जान्ने त यत्तिमात्रै हो

मजस्ता थुप्रै मानिस अत्यन्त उत्साहित थियौँ कि, कम्तीमा वामपन्थीको नयाँ गठबन्धन बन्यो र यसले गरिखाने वर्गको निम्ति र यिनीहरूको आफ्नै कथनअनुसार समाजवादमा जाने नापनक्सा र बाटो बनाउनेछन् भनेर । तर, जब राप्रपा जो राजावादी, हिन्दूवादी तथा संघीयताविरोधी दल राप्रपा तथा छद्मभेषी रास्वपालाई लप्टन बनाएर सरकार बनाउने काम ग¥यो ठीक त्यतिबेलै मजस्ता धेरै अथवा हामी सितांगै भएका थियाैँ, छाँगाबाट खसेझैँ भएका थियौँ ।

हुन त प्रचण्डले नै यस्तो संविधानविरोधी दलहरूसँग मिलेर सरकार बनाउनु आफैँमा उनको सत्तालोलुपताको उपज थियो । तर, एमालेमा त्यस्तो कुनै बाध्यता थिएन ती दललाई सरकारमा सहभागी बनाएर सत्ताको लप्टन बनाउने । तर, ऊ नै यस्तो सरकार बनाउन १० कदम अगाडि रह्यो । वामपन्थी गठबन्धनको नाममा यो सर्वथा दक्षिणपन्थी गठबन्धन बन्न पुगेको थियो । प्रचण्डले के कारणले केपीसँगको सामीप्यलाई तोडेर कांग्रेससँग बढाए भनेर धेरै तरिकाबाट अनुमान गर्न सकिन्छ । पटक–पटक धोका खाएका कारण फेरि पनि धोका दिन्छन् भन्ने भयले सामीप्य तोडे कि, आफूलाई ओलीले दिएको धोकाको बदला लिन तोडे कि अथवा संविधानको रक्षा गर्न तोडे ? तर, तोडे । यो गठबन्धन तोडिँदा हामीजस्ता मानिस अहिले खुशी छौं किनभने कम्तीमा पनि संविधानविरोधीहरू अहिले सरकारबाट बाहिरिने अवस्था बनेको छ ।

भनिन्छ नि लाटो खान्छ एक बल्ड्याङ बाठो खान्छ तीन बल्ड्याङ । माकेसँगको गठबन्धनले एमालेलाई असम्भवजस्तै बनेर गुमेको सत्ता र शक्तिको केन्द्रमा ल्याउने काम गरेकै हो । सभामुख पाएकै थियो, उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएकै थिए, प्रदेशतिर पनि मुख्यमन्त्री तथा अरु पद पनि मिलेकै थियो र सबैभन्दा महत्वपूर्ण कुरा उच्चस्तरीय राजनीतिक संयन्त्रको मुखिया स्वयं ओली थिए । जनताको पक्षमा, उनी आफैँले भन्ने गरेको सुखी नेपाली, समृद्ध नेपाल बनाउने काम गर्न कुनै असजिलो थिएन । तर, यस्तो गुमेको अवसर पुनः पाउने ऐतिहासिक नै भन्न मिल्ने अवस्था बनेको कुरालाई पनि एमालेले एक किसिमले शक्ति हत्याउने, अरूमाथि दबाब र प्रभाव जमाउने हत्कण्डाको रूपमा प्रयोग गर्न खोजेको देखियो ।

सरकारमा सहभागी भएर विकास र समृद्धिकाे निम्ति काम गर्ने चाहना थियाे भने खासमा राजनीतिक संयन्त्रमार्फत, राष्ट्रपतिमार्फत शक्तिकाे अभ्यास गर्ने लालस राख्नुहुन्थेन ।

प्रचण्डले पनि यस्तै महसुस गरेका रहेछन् भन्ने कुरा उनको अभिव्यक्तिले बुझाउँछ । संसद्लाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले संसद विघटन गर्नु संविधानसम्मत नै थियो र प्रधानमन्त्रीले जहिले पनि संसद विघटन गर्न सक्छ भन्ने किसिमको अभिव्यक्ति दिनु, सभामुख त छँदै छ राष्ट्रपति पनि लिने र अर्को आधा कार्यकाल फेरि आफैँ प्रधानमन्त्री बन्ने जुन सुरतालतर्फ एमाले लम्कियो त्यसले संविधानमाथि एमालेबाट अझै पनि खतरा छ भन्ने कुरालाई नै बल पु¥याउने काम ग¥यो । यदि, सरकारमा सहभागी भएर विकास र समृद्धिको निम्ति काम गर्ने चाहना थियो भने खासमा राजनीतिक संयन्त्रमार्फत, राष्ट्रपतिमार्फत शक्तिको अभ्यास गर्ने लालसा राख्नुहुन्थेन ।

तर, कुरा यस्तो थिएन । बरु कुरा के थियोे भने कसरी हुन्छ अध्यक्ष ओलीको सत्तामा जाने चाहनालाई पूरा गराउन कुरा नै थियो । यस्तो गरेर एमालेले केवल आफ्नो खुट्टामा बञ्चरो हान्ने काम मात्रै गरेन कि उसले एउटा कोर्स लिन सक्ने वामपन्थी आन्दोलनलाई समेत दिग्भ्रमित पार्ने काम गर्न पुग्यो । हामीमा एउटा भनाइ चल्तीमा छ अरुमा भएको लचकता, अरुको समस्यालाई कमजोरी ठान्ने गल्ती गर्नु हुँदैन । कांग्रेससँगबाट एमालेमा आइपुग्नु प्रचण्डको बाध्यता थियो तर त्यही बाध्यताको फाइदा उठाउँदै ओलीले प्रधानमन्त्रीभन्दा आफू ठूलो हुँ भन्नेजस्तो गरेर उच्चस्तरीय संयन्त्रको मिटिङमा प्रचण्डलाई छेवैमा कुर्सीमा राखेर होच्याउने काम भयो । यस्तो रवैयाले सरकारी कामकाजमा ओलीवाद हावी हुने कुराको छनक हामीले देखेजस्तै प्रचण्डले समेत देखेका रहेछन् । एक जना मानिसको महत्वाकांक्षालाई प्राथमिकतामा राख्दा एमालेले धेरै कुरा गुमाउने अवस्था बनेको छ ।

अन्त्यमा एउटा साझा आलोचना– नेपालका वामपन्थीहरूले आफूलाई दुनियाँकै एक मात्र सच्चा कम्युनिस्ट भन्छन्, एक मात्र सच्चा समाजवादी भन्छन् । मजदुर, किसान, गरिब, दलितको मान्छे हुँ भनेर दावा गर्छन् । उनीहरू होलान् पनि । तर, तिनीहरू हुन् कि होइनन् भनेर हामी जनताले थाहा पाउने भनेको त उनीहरूले अँगालेको आर्थिक, सामाजिक, साँस्कृतिक, वैदेशिक नीति र त्यसको कार्यान्वयनलाई हेरेर हो । के आफूलाई वामपन्थी भनेर दावा गर्नेहरूले किसानको हितको निम्ति, मजदुरको हितको निम्ति, अशिक्षा हटाउन, गरिबी हटाउन, अन्धविश्वास हटाउन, शोषण र उत्पीडन अन्त्य गर्न संसद्मा एउटा मात्रै पनि र एक जना मात्रैले पनि कुनै बिल प्रस्तुत गरे त भन्दा गरेनन् । शिक्षा र स्वास्थ्य उपचार किन महँगो छ भनेर कसैले बोलेका छन् त भन्दा छैनन् ।

समाजमा किन छुवाछुत अझै पनि कायमै छ भनेर बोलेको, शोषण किन कायमै छ भनेको बोलेका छन् त, असमानता किन छ भनेर बोलेको सुनिएको छ त भन्दा छैन । सबैजसो वामपन्थी नेताहरूको आर्थिक सामाजिक हैसियत के–कस्तो हो भन्ने कुरा घामजत्तिकै छर्लंग छ । आज ती अधिकांश वामपन्थीको काठमाडौँमा राम्रो घर छ, गाडी छ, शेयर छ, दाइजोमा पाएको भन्नुपर्ने तहसम्मको सुनचाँदी छ । जनता झन्–झन् गरिब हुँदै जाने तर आफू सत्तामा पुगेपछि आफ्नो आर्थिक सामाजिक हैसियत बढाउने मानिस कहिल्यै पनि कम्युनिस्ट वा समाजवादी नेता हुनै सक्दैन । जनताले जान्ने त आचरण र व्यवहारबाट हो । चाहे प्रचण्ड होस् अथवा ओली हुन् अथवा माधव नै, उहाँहरूको मनमा जेसुकै भए पनि बाहिर भने न माटाको गन्ध छ न गरिबको पसिनाको गन्ध छ न त मजदुरको कुर्कुच्चा फुटेर निस्किने रगतको गन्ध छ, केही पनि छैन । मन, वचन र कर्ममा एकरूपता नभएको मान्छे वामपन्थी नै हुन सक्दैन भनेपछि कम्युनिस्ट हुने त कुरै भएन । 
 

टिप्पणीहरू