बैंक विरोधीहरु भाटभटेनीमा,लघुवित्त विरोधीहरु माइतीघरमा

बैंक विरोधीहरु भाटभटेनीमा,लघुवित्त विरोधीहरु माइतीघरमा

व्यापारी तथा व्यवसायीहरुले बैंकको ब्याजदर महँगो भएको विरोधमा आज पनि नेपाल राष्ट्र बैंक बाहिर धर्ना दिने भएका छन् । उता लघुवित्त संस्थाहरुको विरोधमा देशव्यापी विरोध प्रदर्शन गर्दै आएको समूहले आज माइतीघरमा ११ बजे विरोध कार्यक्रम राखेको छ । 

बैंकले चर्को ब्याज लिएको भन्दै विरोधमा उत्रेका व्यापारीहरुले भाटभटेनी मन्दिर नजिकै बिहान ११ बजे विरोध कार्यक्रम गर्न लागेको बताइएको छ । उनीहरुले हिजो राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेर बालुवाटारमा ‘बृहत भेला’ बोलाइएको जानकारी दिएका थिए ।

आज माइतीघरमा जम्मा हुन लागेका लघुवित्त संस्था विरोधी प्रदर्शनकारीहरु उपत्यका बाहिरबाट बस रिजर्भ गरेर काठमाडौं आएका हुन् । प्राप्त विवरणअनुसार आज मधेशबाट ५ वटा बस, बागमतीबाट ३, गण्डकीबाट ४, लुम्बिनी प्रदेशबाट ४ वटा गरी १६ वटा बसमा प्रदर्शकारीहरु उपत्यका भित्रिएका छन् । ती बसमा झण्डै पाँच सय जना रहेको प्रहरीको अनुमान छ । 

प्रदर्शनकारीहरुले टेकूमा भेला भएर माइतीघर जाने कार्यक्रम राखे पनि सानेपामा समेत भेला राख्ने सम्भावना देखिएपछि सो क्षेत्रमा प्रहरी निगरानी बढाइएको बुझिएको छ । लघुवित्त (सहकारीसमेत) विरोधीहरुले ७७ वटै जिल्लामा संघर्ष समिति गठन गरिएको जानकारी दिएका छन् ।

उता मकवानपुरका ३२ वटा व्यापारी तथा व्यवसायगत संघ संस्थाका व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक ढंगले अघि बढेका छन् । उनीहरुले सर्वसाधारणलाईसमेत भड्काउने ढंगले ‘बैंकमा नगद जम्मा नगरौं’ भन्ने सन्देशसहित अस्तिदेखि आन्दोलन थालेका छन् ।

टिप्पणीहरू