अमेरिका–मेक्सिको सीमामा तनाव, सीमा प्रवेश गर्न खोज्ने आप्रवासी खेदिए

अमेरिका–मेक्सिको सीमामा तनाव, सीमा प्रवेश गर्न खोज्ने आप्रवासी खेदिए फाेटाे स्राेत : एपी

आप्रवासीको विषयलाई लिएर अमेरिका र मेक्सिकोको सीमाक्षेत्रमा पुनः तनाव उत्पन्न भएको छ । ठूलो संख्यामा आप्रवासीहरूले सीमामा लगाइएको काँडेतार हटाएर अमेरिका प्रवेश गर्ने प्रयास गरेपछि उक्त तनाव सिर्जना भएको बताइएको छ ।

अमेरिकी सीमा सुरक्षा बल र प्रहरीले तीमध्ये अधिकांशलाई मेक्सिकोको सीमासम्म लखेटेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले आप्रवासीका लागि सुरु गरेको एप सेवाबाट अमेरिका प्रवेश गर्न खोज्ने अधिकांश उक्त घटनापछि आक्रोशित भएको बताइन्छ ।

उक्त प्रक्रिया निकै झण्झटिलो र लामो भएको उनीहरुको भनाइ छ ।    समाचार संस्था रोयटर्सका अनुसार हिजो मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न खोज्ने अधिकांश भेनेजुएलाका नागरिक थिए । उनीहरु महिनौँदेखि अमेरिकी अधिकारीहरूसँग शरण माग्दै सीमा क्षेत्र पुगेका हुन् ।

अमेरिकी अधिकारीहरुले शरणको निम्ति गरिएको आग्रहको निर्णयमा ढिलाई भएको जनाउँदै आप्रवासीहरूले सीमाक्षेत्रमा राखिएका काँडेतारहरू हटाएका हुन् । काँडेतार हटाउन खोज्नेलाई प्रहरीले रोक्ने प्रयास गरेको बताइन्छ । सोक्रममा शरण खोज्दै त्यहाँ पुगेकाहरुको बालबालिकासमेत घाइते भएका छन् ।

केही आप्रवासीले सीमा–प्रहरीमाथि आक्रमण गरेको अमेरिकी सुरक्षा अधिकारीहरुको भनाइ छ । लगतै, उनीहरूलाई प्रहरीले त्यहाँबाट मेक्सिकोको सीमाभित्रसम्म लखेटेको थियो ।

अमेरिकी गृह मन्त्रालयले अमेरिकामा आप्रवासन चाहनेका लागि एप सेवा सुरु गरेको थियो । तर एपमा राखिएको प्रक्रिया निकै लामो र झण्झटिलो भएकाले सीमानामा पुगेकाहरु रुष्ट हुँदै दिन बिताउन बाध्य भएको बताउँछन् ।

‘हामीले यो एपमा विश्वास गर्यौं भने हामीलाई अमेरिका पुग्न धेरै वर्ष लाग्नेछ,’ भीडमा रहेकी १८ वर्षीया क्यामिला पेजले भनिन्, ‘बाइडेनले हामीमाथि दया देखाउनुपर्छ । ताकि हामी आफ्नो परिवारको निम्ति जीविकोपार्जन गर्न सकौँ । यसबारे अमेरिका र मेक्सिकाका अधिकारीहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । अमेरिकाले हामीलाई सहयोग गर्न सुरु गरेको भनिएको एप सेवा केवल प्रक्रिया लम्ब्याउनका लागि मात्र हो ।’

अमेरिकी बोर्डर पेट्रोल डिपार्टमेन्टका अनुसार गत वर्ष मात्र अमेरिका छिर्न खोजेका २२ लाख जनालाई पक्राउ गरिएको थियो । उनीहरुलाई तत्काल मेक्सिकोको सीमाबाटै आ–आफ्नो मुलुक फिर्ता पठाइएको अमेरिकी दाबी छ ।

 

टिप्पणीहरू