‘अ’भूतपूर्व राष्ट्रपति

‘अ’भूतपूर्व राष्ट्रपति

विद्यादेवी भण्डारी अब राष्ट्रपतिबाट भूतपूर्व राष्ट्रपति बन्नुभएको छ । हामी त उहाँलाई भूतपूर्व राष्ट्रपति नै भन्छौँ । तर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उहाँलाई भूतपूर्व होइन अभूतपूर्व राष्ट्रपति भन्नुहुन्छ । अस्ति एउटा कार्यक्रममा बोल्दै भन्नुभयो, ‘राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल एकदम उत्कृष्ट रह्यो । उहाँले अत्यन्त राम्रो काम गर्नुभएको छ ।’

वास्तवमा त्यो हो पनि । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल अत्यन्त अविष्मरणीय रहेको छ । उहाँको कार्यकाललाई अरु जम्मैले बिर्से पनि कमरेड केपी ओलीले कहिल्यै बिर्सनु हुनेछैन । कसरी बिर्सने ? जसले आफूले पठाएको अध्यादेश जति आँखा चिम्लेर सदर गर्नुभयो, त्यस्तो राष्ट्रपतिलाई बिर्सियो भने त पाप लाग्छ पाप । केपी ओलीले कुनै प्रस्ताव वा अध्यादेश पठाएको छ भने राष्ट्रपतिले राति उठेर भए पनि सदर गरिदिनुहुन्थ्यो ।

ओलीले संसद विघटन गर्नुभयो, एक मिनेटमै सदर भयो । तर सर्वोच्चले उल्टाइदिए पछि ओलीले फेरि अर्को पटक पनि संसद भंग गर्नुभयो । राष्ट्रपतिले त्यो पनि क्षणभरमै स्वीकृत गरिदिनुभयो । तथापि पछि त्यो पनि खारेज भयो । त्यति त केपी ओली आफै राष्ट्रपति भएको भए पनि गर्नुहुन्नथ्यो होला । तर राष्ट्रपति विद्या भण्डारीले गरिदिनुभयो । 

प्रधानमन्त्री ओलीले पठाएको कि राति नै उठेर भए पनि अध्यादेशमा छाप हान्ने गरिन्थ्यो । अहिलेको जमानामा कसले राति राति उठेर देशको काम गर्छ ? तर उहाँले गर्नुभयो । यस्तो कामलाई अभूतपूर्व किन नभन्ने ?
 

टिप्पणीहरू