खानेपानी ट्याङ्कीको शिलान्यास एकातर्फ, संरचना अन्तै

खानेपानी ट्याङ्कीको शिलान्यास एकातर्फ, संरचना अन्तै -शंकर श्रेष्ठ

कुनै पनि आयोजनाको शिलान्यास जहाँ गरियो संरचना निर्माण पनि त्यही हुन्छ र हुनुपर्छ । तर धादिङको सदरमुकाम धादिङबेसीमा धादिङबेसी सहलगानी खानेपानी तथा सरसफाई आयोजनाले भने एकातिर शिलान्यास गरेर अर्कैतिर ट्याङ्की निर्माण थालेको छ । तर त्यो पनि ऐतिहासिक सम्पदा मिचेर बनाइएको आरोप लागेको छ । 

गत भदौ १३ गते नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले नगरपालिकाले हाल पार्किङको रुपमा प्रयोग गरिरहेको स्थानमा आयोजनाको शिलान्यास गरेका हुन् । अहिले त्यहि आयोजनाको ट्याङ्की निर्माण जिल्ला प्रशासन कार्यालय नजिकैको भानुपार्कमा थालिएको छ । 

उक्त पार्कमा आदिकवि भानुभक्त आचार्यको शालिक छ । त्यहाँ विभिन्न समयमा विभिन्न बोट विरुवाहरु रोपिएका छन् । शौचालय र आरामका लागि गोलघरसहितका संरचना पनि पार्कमा बनाइएको छ । 

२०४८ सालदेखि धादिङबेसीका स्थानीय साँझ बिहान बजारको भीडभाड छाडेर स्वच्छ र शान्त वातावरणमा बस्न त्यही पार्क पुग्ने गरेका छन् । सरकारी काममा आइपुगेकाहरुको शीतल लिने स्थान पनि त्यही पार्क बन्दै आएको छ । तर अहिले त्यहाँका बोटविरुवा मासिएको छ भने भानुको पाउमै खानेपानी ट्याङ्कीको निम्ति ठूलो खाडल खनिएको छ । 

भानु प्रतिष्ठान धादिङका अध्यक्ष डा. नवीनबन्धु पहाडी भन्छन्–‘ऐतिहासिक सम्पदा संरक्षणको अतिक्रमण भयो, सार्वजनिक सम्पत्ति र एतिहासिक सम्पदाको संरक्षण गर्नुपर्ने स्थानीय सरकार नै विनाशकारी काम गर्दैछ ।’ 

जिल्ला प्रशासन कार्यालयसँगै रहेको पार्क सरकारी निकायमा सेवा लिन आउने सेवाग्राहीको लागि मनोरञ्जन र समय बिताउने ठाउँको रुपमा सुविधा सम्पन्न पार्क निर्माण गर्न पहल भइरहेका बेला नीलकण्ठ नगरपालिकाले पार्क नै मासेर ट्याङ्की निर्माण गर्नु खेदजनक कार्य भएको नागरिक समाजका प्रतिनिधिहरुले बताएका छन् । २०४८ सालदेखि भानुपार्कको रुपमा प्रयोग हुँदै आएको सभ्यता नाश गर्नु गलत कार्य भएकोले तत्काल काम रोक्न जिल्ला प्रशासन कार्यालयसँग नागरिक समाजका अगुवाहरुले माग गरेका छन् । 

पार्क मिचेर पानी ट्याङ्की निर्माण गरेको विषयमा नगर प्रमुख भीमप्रसाद ढुंगानाको ध्यानाकर्षण गराइए पनि काम नरोकिएको धादिङ साहित्य समाजका अध्यक्ष डा.मुरारी अधिकारीले बताए । साहित्यिक जमघट, मनोरञ्जन र थकाइ मेटाउने चौतारीको रुपमा प्रयोग हुँदै आएको पार्कलाई अझ विकसित तुल्याउनुको सट्टा नाश गर्ने कार्य भएकाले कुनै पनि हालतमा पार्कभित्र ट्याङ्की निर्माण गर्न नहुने साहित्य समाजका अध्यक्ष डा. अधिकारीको भनाइ छ ।

धादिङ साहित्य समाज, भानु प्रतिष्ठान धादिङ र नागरिक समाजका प्रतिनिधिहरुले भानुपार्कको अतिक्रमण गरेर भइरहेको संरचना निर्माण कार्य रोक्न जिल्ला प्रशासन कार्यालयमा आज बिहान लिखित उजुरी हालेका छन् । भानुपार्क हरियाली क्षेत्र मात्रै नभएर सभ्यता पनि हो । सभ्यता नै नाश हुने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले यस्ता ऐतिहासिक सभ्यतासँग जोडिएका स्थलमा अतिक्रमण नगर्न र निर्माण कार्य रोक्न माग गरिरहेका छन् । 

‘नागरिकका लागि पिउने पानी आवश्यक हो, तर त्यसका लागि अन्यत्र स्थान हुँदाहुँदै पार्क नै छनोट गर्नु सभ्यता विपरीतको कार्य भएको छ’, डा. अधिकारी भन्छन्, ‘पार्कभित्रको निर्माण कार्य तत्काल नरोकिए हामी थप आन्दोलनका कार्यक्रम ल्याउँछौं ।’

यता नगर प्रमुख ढुंगानाले सहमतिमा काम अघि बढाएको दाबी गर्दै आएका छन् । ट्याङ्की भूमिगत हुने र जमीनमाथि दुइमिटर मात्र देखिने भएकाले त्यसमा विभिन्न चित्र कोरेर आकर्ष र व्यवस्थित बनाउने उनको योजना छ ।

टिप्पणीहरू