भविष्य नै नभएको हो र यो देशमा ?

भविष्य नै नभएको हो र यो देशमा ?

आयआर्जनका निमित्त आफ्नो मुलुक छोडेर अन्य शारीरिक वा मानसिक श्रम गर्न जानु वैदेशिक रोजगारी हो । हाम्रोजस्तो अल्पविकसित मुलुकको अर्थतन्त्र नै वैदेशिक रोजगारीले धानिरहेको छ । रोजगारीका लागि नेपालबाट वर्षेनि हजारौं नेपाली विदेशिने गर्दछन् । यो क्रम केही समययता ह्वात्तै बढेको छ । विश्व बजारमा पनि त्यसरी नै विभिन्न मुलुकका जनशक्तिहरू खपत हुने गर्छन् । नेपालको युवाशक्ति अन्य देशमा गएर रगत पसिना चुहाइरहेका छन् । साउदी अरेबिया, कतार, कुबेत, दुबईलगायतका खाडी मुलुकमा जानेको संख्या उच्च छ । अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत विकसित मुलुकमा पढ्न जानेहरू पनि उत्तिकै छन् । 

अलिक कम पढाइ भएकाहरू खाडी जान्छन् त पढेलेखेकाहरूको रोजाई युरोपियन मुलुक बनेको छ । माध्यमिक शिक्षा पढ्नेबित्तिकै विदेशिने सपना देख्न थालिन्छ । मुलुकमै केही गरिखाऊँ भने वातावरण छैन । कृषिप्रधान देश भनिएको छ तर त्यताको अवस्था बर्बाद छ । भारतबाट धमाधम फलफूल, तरकारी आयात भइरहँदा नेपाली किसान बजार नपाएर रोइरहेका छन् । सडकमा ल्याएर तरकारी फाल्नुपर्ने अवस्था छ । बिचौलियाको बिगबिगी छ । शैक्षिक क्षमताअनुसारको रोजगारी पाइँदैन । त्यत्रो कष्ट गरी लाखौं खर्च लगाएर पढ्यो । जागिर खाने बेलामा पावर भएकाले खान्छन् । दुःख गर्ने जहाँ पनि हेरेको हे¥यै । व्यापार व्यवसाय सञ्चालन गर्नेलाई पनि उत्तिकै तनाव । बैंकको चर्को ब्याज, बन्द हड्तालले रुवाउनसम्म रुवाएको छ । राजनीतिक अवस्था उही हो । 

यस्तै अवस्थाको चित्रण गर्दै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले केही दिनअघि वैदेशिक रोजगारीसंग सम्बन्धित केही कुरा उठान गरेका छन् । आफ्नो साथीको भनाइ उद्धृत गर्दै उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसले धेरैलाई सोचमग्न बनाउँछ । लाखौं खर्च गरेर पठाएका छोराछोरी फर्किन नमान्दा अभिभावकलाई कति पीडा हुँदो हो ? अवकाशप्राप्त इञ्जिनियर साथीको कुरा सुन्दा झसङ्ग भएको बताउँदै उनले नेपालको जल्दोबल्दो अवस्था विश्लेषण गरेका छन् । ‘यो देशमा कुनै बच्चाको भविष्य छैन ।

४० लाख खर्च गरेर एमबीबीएस पढेकाको तलब २५ हजार छ । त्योपनि रातभर ड्युटी गरेर । २४० प्रतिशत भन्सार तिरेर गाडी किन्यो, गुडाउने ठाउँ छैन । पार्किङ्ग छैन । काम खोज्दा काम छैन । अधिकांश शिक्षित बेरोजगार छन्,’ साथीको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, ‘कनेक्सन नभएकाको कुनै औचित्य छैन । कर तिर्न लामो लाइन बस्नुपर्छ । ट्राफिकले तोकेको जरिवाना तिर्न दुई दिन थप गर्नुपर्छ । राम्रो पढ्नेलाई अवसर छैन । खेती ग¥यो, बजार छैन । उद्योगको सम्भावना नै छैन । संस्कृति खँस्किदो छ । स्वच्छन्दता बढ्दो छ । राजनीति लाजनीति बन्यो । डन र ठेकेदारले टिकट पाउने भए । अब भन्नुस् सर, मेरा बच्चा किन नेपाल बस्ने ?’

स्टाटसमा लेखिएको हरेक शब्दले गहन अर्थ बोकेको छ । नेपालको वर्तमान अवस्थाबारे त्यहाँ विश्लेषण गरिएको छ । विश्व कहाँबाट कहाँ पुगिसक्दा पनि नेपालमा सवारी लाइसेन्स लिनकै लागि वर्षदिन कुनुपर्ने बाध्यता छ । देशको माया हुँदाहुँदै पनि बाध्य भएर विदेश दौडिनुपर्ने अवस्था छ । अझ युरोपियन मुलुक पुगेकाहरू फर्किनै चाहँदैनन् । दक्ष जनशक्ति विदेश पलायन हुँदा नेपाल विकासमा थप पछि पर्दै गएको नागरिक अगुवाहरू बताउँछन् । 
 

टिप्पणीहरू