सबै निर्माण बर्खा अगावै सम्पन्न गर्न मेयरको निर्देशन

सबै निर्माण बर्खा अगावै सम्पन्न गर्न मेयरको निर्देशन

ऋषि भट्टराई

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्रका मुख्य योजनाहरुको अनुगमन गर्दै वर्षाअघि सबै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने संघ, प्रदेश र बुटवल उपमहानगरपालिकाको लगानीमा निर्माणाधीन योजनाहरुको हिजो प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीसहित उपमहानगरपालिकाको टोलीले अनुगमन गरेको थियो ।

बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको सडक क्षेत्र, योगीकुटीदेखि कालिका पथ क्षेत्र, योगीकुटीदेखि रानीगञ्जसम्मका सडक, अभियान पथको पर्खाल र निर्माणाधीन योजनाहरुको अनुगमन गर्दै प्रमुख पाण्डेयले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई सचेत गराएका हुन् । उनले तोकिएको अवधिभित्र निर्माण सम्पन्न गर्नेलाई पुरस्कृत गर्ने र सम्पन्न नगर्ने कम्पनीलाई दण्डित गरिने समेत बताए ।

नगरप्रमुख पाण्डेयले नगरभित्रका संरचनाको काम तत्काल सम्पन्न गर्न संघ र प्रदेशलाई समेत ताकेता गर्न आग्रह गर्ने जानकारी गराए । बजेट विनियोजन भएका योजनाहरु समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस गर्ने उनको भनाइ छ ।

नदीजन्य पदार्थको चोरीनिकासी रोक्न अनुगमन

बुटवल उपमहानगरपालिकाको टोलीले तिनाउ नदी किनार क्षेत्रको अनुगमन गर्दै नदीजन्य पदार्थको चोरी निकासी रोक्न नियमित अनुगमन टोली खटाएको छ । बुटवलतर्फको नदीकिनार क्षेत्रबाट चोरी निकासी बढेको पाइएकाले सीमावर्ती स्थानीय तहमा निर्माण भइरहेका संरचना र निर्माण कम्पनीहरुको समेत निगरानी गर्ने र स्थानीय तहहरुसँग छलफल गरेर नियमनमा ल्याउने नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

उनले नदीजन्य पदार्थको चोरी निकासी रोक्ने र आगामी वर्षामा बाढी र कटान रोक्न सुरक्षित बनाउने गरी काम गर्न योजना महाशाखा र विपद् शाखालाई निर्देशन दिएका छन् । प्रमुख पाण्डेयले नगरप्रहरीसहितको टोलीले नियमित रुपमा निगरानी गर्ने र चोरीनिकासी रोक्न स्थानीयको समेत साथ आवश्यक रहेको उल्लेख गरे । जिल्ला र नगरका सुरक्षा निकायलाई समेत चोरीनिकासीमा थप संवेदनशील बन्न मेयरको आग्रह छ ।
 

टिप्पणीहरू