अचार संहिता नमान्नेलाई चुनावभर कब्जामा लिन निर्वाचन आयोगको आक्रमक निर्देशन

अचार संहिता नमान्नेलाई चुनावभर कब्जामा लिन निर्वाचन आयोगको आक्रमक निर्देशन

निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचनमा आचारसंहिता विपरीतका गतिविधि गर्नेहरुलाई कानुनबमोजिम नियन्त्रणमा लिन निर्देशन दिएको छ । 

चुनाव अनुगमनमा खटिएकालगायत सरोकारवालाहरुलाई आज पाँच बुँदे निर्देशन दिँदै आयोगले आचारसंहिता उल्लङ्घन गर्ने जो कसैलाई कानुनअनुसार कारवाही गर्न भनेको हो । आयोगले आचार संहिता पालनामा कडाइका साथ अनुगमन र निगरानी गर्न पनि निर्देशन दिएको छ । 

चितवन-२, बारा-२ र तनहुँ- १ मा बैशाख १० गते उपचुनाव हुँदैछ । मतदानको ४८ घण्टाअघि अर्थात् हिजो मध्यरातिदेखि मौन अवधि शुरु भैसकेको छ । त्यस अवधिमा चुनाव प्रचारप्रसार गर्न बर्जित गरिएको छ । उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मी तथा निर्वाचनमा संलग्न व्यक्ति, सङ्घ/संस्था र निकाय बाहेक निर्वाचन कार्यसँग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्तिको अवाञ्छित आवागमन र अनधिकृत गतिविधिलाई कानुनबमोजिम नियन्त्रण गर्न आयोगले प्रष्ट निर्देशन दिएको छ ।

त्यस्ता अवाञ्छित आवागमन र गतिविधि भई निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिइ कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने आयोगको चेतावनी छ ।

त्यस्तै, आयोगको निर्देशनमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई प्रभावमा पारेको वा त्यस्तो प्रयास गरेको पाइए कानुनबमोजिम कारवाही हुने जनाइएको छ । 

मतदातालाई भोट हाल्ने उसको अधिकार प्रयोग गर्न वा नगर्नको लागि उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिन वा त्यसमा मञ्जुर गर्न अथवा सार्वजनिक भोज आयोजना गर्न नपाइने कानुनी व्यवस्था स्मरण गराउंदै आयोगले त्यस्तो गरेको पाइए कानुनबमोजिम तत्काल कारबाही गर्ने बताएको छ ।

आयोगको निर्देशनमा निर्वाचन आयोग तथा जिल्ला सुरक्षा समितिको निर्णय तथा अनुमति विपरीत निर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले सवारी साधन प्रयोग गरेको पाइएमा त्यस्तो सवारी साधन मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ आवश्यक कारबाही गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।
 

टिप्पणीहरू