रविको राहदानीमा सिडिओकै बाझियो राय

रविको राहदानीमा सिडिओकै बाझियो राय

सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको प्रमाण माग गर्दै दिएको पछिल्लो निवेदनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतलाई प्रामाणिक कागजात पेश गर्न नसकेपछि मुद्दाले नयाँ मोड लिएको छ । 

अब यो विवादको निप्टारा सर्वोच्च अदालतबाट कसरी होला भन्ने नयाँ कौतुहल न्याय क्षेत्रमा सिर्जना भएको छ । पौडेलको रिटमा सर्वोच्चले वैशाख २७ गते जिल्ला प्रशासनलाई पत्र लेख्दै लामिछानेले अमेरिकी राहदानी त्यागेको प्रमाण माग गरेको थियो । 

न्यायाधीश हरि फुयाँलको एकल इजलासको आदेशअनुरुप उक्त पत्र लेखिएको हो । ‘प्रत्यर्थी रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भए पनि झिकाई नियमानुसार पेश गर्नू,’ आदेशमा भनिएको छ ।

तर लामिछानेले अमेरिकी राहदानी त्यागेको ‘निस्सा’ प्रमाण पठाउन नसकेपछि जिल्ला प्रशासनले गोलमटोल जवाफ दिएर टारेको छ । जिल्ला प्रशासन कार्यालयका कानुन अधिकृत सानोबाबु श्रेष्ठले गत जेठ ३ गते जवाफ पठाउँदै लामिछानेले अमेरिकी नागरिकता त्यागेको प्रमाणको विषय आफ्नो कार्यालयसँग सम्बन्धित नरहेको भनेका छन् । 

चलानी नम्बर २७३४ रहेको उक्त जवाफमा लेखिएको छ, ‘रिट निवेदनमा प्रत्यर्थी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा माग भएको हुँदा उक्त राहदानी त्यागसम्बन्धी निस्सा यस कार्यालयसँग सम्बन्धित नरहेको ब्यहोरा सादर अनुरोध गर्दछु ।’

उक्त जवाफपछि तालुक अड्डामै राहदानी त्यागको निस्सा नरहेपछि ‘कहाँ छ त’ भन्ने जिज्ञासा उत्पन्न भएको छ । यससँगै अर्को प्रश्न पनि उठेको छ– प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा नै जाँच नगरी एकै दिनमा कसरी नेपाली नागरिकता दिए ?

जिल्ला प्रशासन मात्र नभई अध्यागमन विभागले पनि रविको अमेरिकी नागरिकतासम्बन्धी विवादमा कागजातको सक्कल प्रति आठ थान यसअघि नै अर्को रिटका सन्दर्भमा सर्वोच्चमा पठाएकाले हाल आफूसँग नरहेको जवाफ दिएको छ । ‘अदालतबाट पुनः यस विभागमा फिर्ता नपठाइएको व्यहोरा सादर अनुरोध छ,’ अध्यागमन कार्यालयका अधिकृत सन्देशप्रसाद जोशीले सर्वोच्चलाई पत्र लेख्दै भनेका छन् । 

यस विषयमा पुस २६ गते नै सक्कल प्रति ८ थान पठाइसकिएको दाबी अध्यागमनको छ । तर सर्वोच्च अदालतको रिट शाखा स्रोतका अनुसार अध्यागमनले रविले अमेरिकी राहदानी त्याग गरेको निस्सा खुल्ने कागजात जेठ ८ गतेसम्म सर्वोच्चमा पठाएको छैन । ‘हाम्रो रेकर्ड भिडाउँदा त्यस्तो कागजात कतै भेटिँदैन,’ सर्वोच्च स्रोतले भन्यो ।

यता, रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा (प्रमाण) बारे जिल्ला प्रशासन कार्यालय काठमाडौंको आफ्नै पुरानो जवाफ बाझिएको छ ।अघिल्लो रिटका सन्दर्भमा गत वैशाख ८ गते प्रजिअ घनश्याम उपाध्यायले सर्वोच्चलाई पठाएको लेखेको पत्रमा लामिछानेले अमेरिकी नागरिकता त्यागेको ‘निस्सा’ पेश गरेको दाबी गरेका छन् । राहदानी दुरूपयोगसम्बन्धी पौडेलकै अर्को रिटमा उपाध्यायले लामिछानेलाई कानुनको तोकेको सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्रै नागरिकता दिइएको जवाफ दिएका थिए । 

यतिबेला आएर फेरि जिल्ला प्रशासन कार्यालयले नै राहदानी त्यागसम्बन्धी निस्सा आफूमातहतको विषय नभएको बताएको छ । पछिल्लो जवाफले पुरानो जवाफ खण्डित भएको छ । अमेरिकी राहदानी त्यागेको निस्सा प्रमाण सरकारी अड्डामै फेला नपर्नुले अर्को लफडा देखिएको छ । सर्वोच्चले नै मागेको राहदानीको निस्सा सिडिओ र अध्यागमनमै नरहेपछि न्यायिक निर्णय कुन ढंगले आउला भन्ने प्रश्न उठेको छ ।

टिप्पणीहरू