विद्यालयहरुलाई प्राकृतिक विपद्बाट जोगिन सरकारको आग्रह

विद्यालयहरुलाई प्राकृतिक विपद्बाट जोगिन सरकारको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष हुने सम्भावित प्राकृतिक विपद्बाट बच्न पूर्वसावधानी र उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ । 

मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अत्याधिक वर्षाका कारण विद्यालयमा मानवीय तथा भौतिक क्षति हुने उल्लेख गर्दै पूर्व सावधानी र उच्च सतर्कता अप्नाउन आग्रह गरेको हो । 

सातवटै प्रदेशको शिक्षासम्बद्ध मन्त्रालय, सबै स्थानीय तह र शिक्षा, विकास तथा समन्वय ईकाईलाई परिपत्र गर्दै केन्द्रले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कुनै कारणबस् क्षति हुन पुगेका तत्काल जानकारी गराउन भनेको छ । 

त्यस्तै, तराईमा गर्मीका कारण डेंगु, औंलोजस्ता लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ्ने र मौसमी फ्लु, झाडापखाला, हैजा, टाइफाइडजस्ता पानीजन्य रोगको संक्रमण पनि बढ्न सक्ने केन्द्रको भनाइ छ । 

केन्द्रले यी रोगबाट बच्नका निम्ति विद्यालयमा सरसफाईलाई विशेष ध्यान दिन सुसूचित गराएको छ ।  साथै, अत्याधिक गर्मीले विद्यार्थीहरुलाई कक्षाकोठामा बस्न गाह्रो हुने बताउँदै केन्द्रले अनुकूल वातावरणमा सिकाइलाई निरन्तरता दिन भनेको छ । 

परिपत्रमा भनिएको छ,‘अवस्थित विद्यालयहरुमा पानीको सतह बढेर अफिस तथा कक्षाकोठाभित्रका कार्पेट, पुस्तक, पत्रपत्रिका, स्टेश्नरीलगायतका शैक्षिक सामग्रीहरुमा क्षति हुनुका साथै कक्षाकोठा, भवन, खेलमैदान, घेराबार, शौचालय, खानेपानीलगायतका भौतिक संरचनामा क्षति पुग्ने भएकाले यस प्रकृतिको जोखिम कायम रहेका प्रदेश, स्थानीय तह, जिल्लामातहतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पूर्व सावधानी र उच्च सतर्कता अप्नाउन आग्रह गरिन्छ ।’

 

टिप्पणीहरू