भारत जाने प्रधानमन्त्रीलाई वामदेवको सुझाव - "बचेर आउनुहोला "

भारत जाने प्रधानमन्त्रीलाई वामदेवको सुझाव - "बचेर आउनुहोला "

नेकपा पुनर्गठन राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो भारत भ्रमणका दौरान भूराजनीतिक संवेदनशीलता ख्याल गर्न सल्लाह दिनुभएको छ ।

आज राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिनुभएको हो । चार बुँदे सुझाव राख्नुभएका उहाँले नेपाल दुई ठूला र शक्तिशाली छिमेकीका वीचमा रहेको यथार्थलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभएको छ । 'हाम्रो देश एकातिर अजिङ्गर र अर्कोतिर सिंह भएको अवस्थामा छ,बचेर आउनुहोला', गौतमको सुझाव छ । 

'हाम्रो देश एकातिर अजिङ्गर र अर्कोतिर सिंह भएको अवस्थामा छ,बचेर आउनुहोला',

त्यस्तै, गौतमले इपिजी प्रतिवेदन कार्यान्वयनमा लैजान र नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेर बसेका भारतीय सुरक्षा फौज त्यहाँबाट हटाउन भारतीय पक्षलाई सहमत गराउन पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभएको छ । लिम्पियाधुरा नेपाल, भारत र चीनको त्रिदेशीय सीमा बिन्दु हो भन्नेमा दुबै छिमेकीलाई सहमत गराउन नसकेसम्म पन्चेश्वर जलविध्युत परियोजना मुलुकको पक्षमा नहुने भएकाले यसबारे पनि कुरा गर्न उहाँको सुझाव छ । 

गौतमले कालोधन विदेश पुर्याएर मुलुक टाट पल्टाउनेहरुमाथि तत्काल छानविन गर्न मागसमेत तेर्स्याउनु भएको छ । 'नेपालका ठूला उध्योगपति र सबै धनपतिहरुले मिलेमतोमा लाखौंको धितो राखेर खर्बौं रुपैयाँ नेपालका बैंकहरुबाट लगेका छन्', उहाँ दावाका साथ भन्नुहुन्छ, 'देशभित्र र बाहिर लगानी गरेर कालोधन कमाइरहेका छन् । अहिले बैंकहरुसँग लगानीका निम्ति पैसा छैन । अख्तियारले तुरुन्त यस्ता विषयमा कारवाही गरोस् ।'
 

टिप्पणीहरू