यातायात भाडा : सरकार घटाउने, व्यवसायी नटेर्ने

यातायात भाडा : सरकार घटाउने, व्यवसायी नटेर्ने

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जेठ ११ गतेदेखि प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतसम्म घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर, पनि व्यवसायीले भाडा घटान मानेका छ्रैनन् ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको नौ दिनपछि मन्त्रालयले भाडा घटाएको थियो । नयाँ भाडादरअनुसार काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ४.१८ प्रतिशतले घटाइएको छ । यसअघि उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारी चढ्नेबित्तिकै न्यूनतम २० रुपैयाँ तिर्नुपर्नेमा अहिले १९ रुपैयाँ तिर्नुपर्ने मन्त्रालयले जनाएको हो । 

उपत्यकाभित्र १० किलोमीटरसम्म यात्रा गर्दा २७ रुपैयाँ तिर्नुपर्नेमा अब २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँको सट्टामा ३० रुपैयाँ, २० किलोमीटरभन्दा बढीको दूरीमा ४० रुपैयाँको सट्टा ३८ रुपैयाँ भाडादर कायम भएको छ ।

प्रदेशभित्र मालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटाइएको मन्त्रालयले जनाएको छ । घटेको भाडा सोही दिनदेखि लागू हुने मन्त्रालयले जारी गरेको राजपत्रमा उल्लेख छ । तर सरकारी निर्णय आजसम्म पनि कागजमै सीमित छ । 

व्यवसायीहरुले पूरानै भाडा उठाउने क्रम जारी रहेकाले सरकार रमितेको हैसियतमा देखिएको छ । काभ्रेपलाञ्चोक घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएकी सुरक्षा दाहाल सदाझैं हिजो पनि भाडाको गाडिमा चढिन् । उनी ललितपुरको धोबिघाटस्थित एक कार्यालयमा कार्यरत भएकाले सार्वजनिक यातायातको साधन प्रयोग गरेको बताउँछिन् । 

सल्लाघारीबाट धोबिघाटसम्मको दूरी करिब १५ किलोमिटर छ । पुरानो भाडादरअनुसार सो दूरीमा यात्रा गर्दा ३२ रुपैयाँ तिर्नुपथ्र्यो । तर व्यवसायीहरुले यात्रुसँग ३५ रुपैयाँ असुल्दै आएका थिए । दाहालले हिजो पनि सल्लाघारीबाट धोबिघाटसम्म आउँदा र जाँदा सहचालकलाई ३५ रुपैयाँ नै भाडा तिरेको बताइन् । जबकी घटेको भाडाअनुसार ३० रुपैयाँ तिर्नुपथ्र्यो । 

सरकारले भाडा घटाएको भन्दै उनले सहचालकलाई सुरुमा ३० रुपैयाँ दिइन् । तर, सहचालकले उल्टै गालीगलौज गर्न थालेपछि उनी ३५ रुपैयाँ तिर्न बाध्य भएकी हुन् । यता काठमाडौँको नयाँ बानेश्वरबाट भक्तपुरको सल्लाघारीसम्म बस चढेकी सीता अर्यालले पनि ३५ रुपैयाँ तिरेको बताइन् । सल्लाघारीको तीनकुने पुगेपछि सहचालकलाई सय रुपैयाँको नोट दिँदा ६५ रुपैयाँ फिर्ता भएको हो । 

नयाँ बानेश्वरबाट सल्लाघारीसम्मको दूरी बढीमा १० किलोमीटर छ । पुरानो भाडादरअनुसार १० उक्त दूरीको भाडा २७ रुपैयाँ हो । नयाँ भाडा २५ रुपैयाँ कायम गरिएको छ । तर, सहचालकले ३५ रुपैयाँ नै असुलेपछि यात्रुहरु दुःखी बनेका हुन् ।

‘सरकारले त भाडा घटायो । तर, यातायात व्यवसायीहरु अहिले पनि आफुखुशी भाडा असुल्छन् । सम्बन्धित निकायले कडा अनुगमन नगरी कारबाही नगर्दा पनि यातायात व्यवसायीको मनोबल बढेको हो,’ उनले भनिन् । 

सम्बन्धित निकाय अनुगमनमा चुकेकोमा आक्रोशित हुँदै अर्याल प्रश्न गर्छिन्, ‘यदि कार्यान्वयन गर्न सकिँदैन भने सरकार किन निर्णय गर्छ ?’ सरकार व्यवसायीको सामुन्ने लम्पसार पर्दा सर्वसाधारणले त्यसको मार भोग्नुपरेको उनको अनुभव छ । यातायात अभियन्ता रामबहादुर थापा भन्छन्, ‘सरकार जनताको हितका लागि भनेर निर्णय गर्छ । तर, त्यसको उचित कार्यान्वयन गर्न नसक्दा व्यवसायीहरु फाइदा उठाउँछन् ।’

सम्बन्धित निकायले अनुगमनमा चासो नदेखाउँदा पनि सार्वजनिक यातायातमा यात्रु ठगिने क्रम बढेको थापाको भनाइ छ । यातायात व्यवस्था विभाग, ट्राफिक महाशाखालगायतले अनुगमनमा कडाई नगरे व्यवसायीको दादागिरी झन् बढ्ने थापाले उल्लेख गरे ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई विभागले नियमित अनुगमन गरेको दाबी गर्छन् । यात्रुसँग सरकारले तोकेभन्दा बढी भाडा लिने सार्वजनिक यातायातलाई कारबाही गर्दै आएको बताउँदै भने, ‘यस कार्यलाई तीव्रताका साथ अघि बढाइएको छ ।’ 

तोकेकोभन्दा बढी भाडा लिने व्यवसायीलाई कारबाहीका निम्ति सम्बन्धित निकायमा सम्पर्क गर्न उनले यात्रुलाई अनुरोध गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख पोषराज पोखरेलले पनि यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको संयुक्त टोलीले अनुगमन कार्यलाई तीव्रता दिएको जानकारी दिए ।

टिप्पणीहरू