भूपू गोर्खा सैनिकद्वारा भूपूकै सन्तानमाथि ठगी

भूपू गोर्खा सैनिकद्वारा भूपूकै सन्तानमाथि ठगी

पछिल्लो समय ठगीको अनेकौँ स्वरूप देखिन थालेको छ । सबैभन्दा धेरै ठगी विदेश पठाउने नाममा हुने गर्छ । भूतपूर्व गोर्खा सैनिकका दम्पतीले भूतपूर्व गोर्खाका सन्तानलाई बेलायत लैजाने भन्दै ठूलै ठगीधन्दा चलाएको अर्को रहस्योद्घाटन भएको छ । लण्डन बस्दै आएका सूर्य नेम्वाङ र उनकी श्रीमतीले उनै भूतपूर्व गोर्खाका सन्तानलाई बेलायत लगिदिने बहानामा करोडौं ठगी गरेको बताइन्छ । उनले बेलायतको आवासीय भिसा मिलाइदिने प्रलोभनमा एउटै परिवारबाट झण्डै ५० लाख रूपैयाँसम्म असुलेको स्रोतको दाबी छ । लण्डनको एउटा पाकिस्तानी ल फर्म ‘बोण्ड आडम्स् सोलिसिटर्स’ को लिगल कन्सल्टेन्ट बताउँदै हिँडेका उनले विभिन्न बहानामा बढी रकम उठाउने गरेका हुन् । जनआस्थाको सम्पर्कमा आएका केही पीडितका अनुसार उनले अनेकथरी शीर्षकमा नचाहिँदो चार्ज लिने गरेका छन् । 

एप्लिकेसन फाराम भर्ने समयदेखि नै उनले ठग्ने गरेको पीडितहरूको भनाइ छ । भूपूगोर्खाका ३० वर्षमुनिका सन्तानको सोझै भिसा लाग्छ । तर, ३० वर्ष कटेकाले भने मुद्दा लड्नुपर्ने व्यवस्था छ । उनले मुद्दा लडिदिने नाममा करोडौं ठगी गरेको पीडितहरूको आरोप छ । 

भिसा आवेदनका लागि शुरुमा ८५० पाउण्ड तिर्नुपर्ने हुन्छ । तर, उनले एक हजार ३५० पाउण्डबाट शुरु गरेर ५ हजार पाउण्ड कम्तीमा लिंदै आएको उनीहरूले बताए । आफूले तोकिएकोभन्दा एक पैसा बढी नलिएको दाबी गर्ने लिम्बूको शुल्क मनलाग्दी भएको भुक्तभोगीहरूको अनुभव छ । स्वैच्छिक सहयोग लिने गरेको भन्दै आएका उनले दर्ता नभएको मुद्दालाई समेत प्रक्रियामा गइसकेको नाममा चर्को शुल्क लिने गरेको पाइएको हो । 

बेलायतमा कोर्स नै नगरी आफूलाई लिगल कन्सल्टेन्ट बताउँदै हिँडेका उनले पाकिस्तानीसँग मिलेर ठगी कर्मलाई तीव्रता दिएका छन् । यसअघि नेपालमा एक कम्पनीसँग जोडिएर काम गरेका उनले ‘युकेको सबै डकुमेण्ट मै हेर्छु’ भन्दै क्लाइन्टसँग मनोमानी शुल्क असुलेका थिए । आफूले मनपरी चार्ज लिएपछि नेम्वाङले आफूलाई निर्दोष सावित गर्न अन्य संस्था र व्यक्तिमाथि हिलो छ्याप्ने गरेको स्रोतको ठोकुवा छ । अहिले उनी आफ्नो ठगीको समाचार जनआस्थाले पर्दाफास गरेपछि पत्रिका, पत्रकार र अर्को ल फर्ममाथि आक्रोश पोख्दै ढाकछोप गर्न सक्रिय छन् । पत्रिकामा आएका आफूविरुद्धका सबै समाचार झुट भएको जिकिर गर्दै पत्रकार नै बिकेको आरोप लगाउँदै हिँडेका छन् । 

मुद्दा टुंगो लागिसकेपछि पनि ब्यारिस्टर र अदालतमा मिलाउनुपर्ने नाममा रकम बार्गेनिङ गर्ने गरेको कतिपयको आरोप छ । ‘लण्डनको कानुन नेपालजस्तो त छैन । तर, उनले अदालतमा बुझाउनुपर्छ, ब्यारिस्टरलाई दिनुपर्छ भन्दै अतिरिक्त शुल्क माग्ने गरेका छन् । पैसा नदिए यो रोकिदिन्छु, त्यो रोकिदिन्छु भनेर धम्काउने गर्छन्’, पीडित भनिएका एक जनाले जनआस्थासँगको कुराकानीमा बताए । स्रोतका अनुसार नेम्वाङले क्लाइन्टसँग सम्बन्धित विषयबारे पूर्ण जानकारी दिने गरेका छैनन् । अदालतबाट मुद्दा फिर्ता भइसक्दा पनि क्लाइन्टलाई जानकारी नगराई ‘हुँदैछ’ भनेर पैसा असुलेको धेरै वटा घटना आफूसँग रहेको ती पीडितले जानकारी दिए । 

अदालतमा मुद्दा जितेर बेलायतको गृह मन्त्रालय (होम अफिस) ले आवेदकको पासपोर्ट मागेपछि फ्रि हुने काम पनि दुई हजार पाउण्ड शुल्क लाग्छ भन्दै अतिरिक्त रकम उठाएर गोर्खा बूढाबूढीलाई नंग्याइसके । जबकि त्यसका लागि एक पैसा बुझाउन नपर्ने बेलायत बस्ने अधिकांशलाई थाहा छ । नेम्वाङ दम्पतीले बेलायतमा रहेका भूपू गोर्खाको घरघरमा चहारेर आफ्नो ठगीधन्दालाई अझै पनि जारी राखेको पाइएको छ । ‘मेरो भिसा लागिसकेको रहेछ । तर, उहाँले तपाईंको बाबाले मुद्दा बिगार्नुभएको छ । अब माथिल्लो तहको मुद्दा लड्ने कि हामी मिलाइदिऊँ भन्दै राति ११ बजे फोन गर्नुभयो’, एक पीडितले भने, ‘म डराएँ । मेरो एक वर्ष समय खेर जाने र पैसा गुम्ने डरले सूर्य नेम्वाङको खातामा दुई लाख ९३ हजार जम्मा गरिदिएँ । त्यसको एक घण्टापछि उहाँले तपाईंले मुद्दा जित्नुभयो भनेर जानकारी गराउनुभयो । त्यसपछि मैले ठगिएको थाहा पाएँ ।’

त्यस्तै, उनले भिसा लागिसकेपछि पनि सर्भिस चार्ज भन्दै क्लाइन्टसँग शुल्क लिएको खुलेको छ । छुट दिएको नाममा उनले ब्रह्मलुट मच्चाएको प्रमाणसमेत जनआस्थाले फेला पारेको छ । क्लाइन्टले शुल्कको विषयमा सोधेपछि उनले बाँङ्गोटिंगो जवाफ दिने गरेका छन् । चर्को शुल्क भन्दै प्रश्न गरेपछि नेम्वाङले आफूलाई नराम्रोसँग झपारेको अर्का एक जना पीडितको गुनासो छ । उनले सामाजिक सञ्जालमार्फत म्यासेजमा तोकिएको रकम जम्मा नगरेसम्म काम अघि नबढ्ने जवाफ दिने गरेका छन् । 

भूतपूर्व गोर्खा बूढाबूढीसँग अनधिकृत पैसा उठाएको प्रमाण नहुने भएकाले पनि उनी ठगी कार्यमा झन् प्रेरित भएको बताइन्छ । ‘उसले तीन पुस्तालाई पुग्ने गरी कमाइसक्यो, अब जेल नै परे पनि हदै भए जेल सजायँ भोगेर नेपाल फर्किने हो, यसनिम्ति तयार छ’, एक गोर्खाले जिकिर गरे । सन् २०२२ फेब्रुअरीमा लागिसकेको भिसाबारे क्लाइन्टलाई जानकारी नगराई उनले पुनः मार्चमा रकम मागेका थिए । सर्भिस चार्जलगायत अन्य विभिन्न शीर्षकमा उनले उठाउनसम्म पैसा उठाएको बेलायत जान पहल गरेका भूतपूर्व लाहुरेहरूको भनाइ छ । 

‘कार्यालयमै पठाउँछन् बाउन्सर’

नेम्वाङले आफ्नो विरोधमा बोल्नेलाई तर्साउनका लागि कतिपयको कार्यालयमै बाउन्सर पठाउनेलगायत गलत कार्य गरेको खबर पनि बाहिरिएको छ । रकमको आडमा स्थानीय प्रहरी प्रशासनदेखि केही सञ्चारमाध्यमका प्रतिनिधिसम्मलाई आफ्नो पक्षमा पारेको अर्काथरीको भनाइ छ । कतिपय अवस्थामा कानुन व्यवसायीको समेत दुरूपयोग गरेको बताइन्छ । हालै मात्र युरोपको पुरानो नेपाली संगठन यती नेपाली एशोसिएसन युकेमा केही सदस्यलाई आफ्नो पक्षमा पारेर रातारात वरिष्ठ उपाध्यक्ष बन्न सफल भएका थिए । 

नेपाली जनसम्पर्क समिति बेलायतमा पनि उनको आबद्धता देखिन्छ । आफ्नो ठगीको एकपछि अर्को समाचार प्रकाशित हुन थालेपछि उनी त्यसलाई ढाकछोप गर्न हरेक संघसंस्थाका कार्यक्रममा बिना निम्तो पुग्ने गरेको उनलाई चिन्नेहरू सुनाउँछन् । 

यसअघि आबद्ध रहेको संस्थामा पनि त्यस्तै हर्कत गरेपछि त्यहाँबाट हटाइएको थियो । लिम्बूको कामकारबाहीबारे धेरै गुनासो आएपछि हटाइएको उक्त संस्थाका अधिकारीहरूले बताएका छन् । गत साता जनआस्थामा प्रकाशित ठगीसम्बन्धी उनको समाचार अग्रज गोर्खा र नम्बरीहरूले सेयर गर्दै ‘पल्टनमा ‘सोझो’ नेम्वाङ अहिले ठग भएर पो निस्किएछ, गोर्खालीकै बेइज्जत ग¥यो’ भन्दै उडाएका छन् । नेम्वाङले पैसा मात्र होइन, सुरा–सुन्दरी र मादक पदार्थ पनि मज्जाले खाने उनका नम्बरीहरू बताउँछन् । पाँचथर जिल्ला अदालतमा यौन दुव्र्यवहारको मुद्दा विचाराधीन रहेकाले उनी सुटुक्क नेपाल आएर फर्किहाल्छन् ।
 

टिप्पणीहरू