१५ वटा भैंसीको मूल्य कति ?

१५ वटा भैंसीको मूल्य कति ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर हिजो स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमण निकै फलदायी भएको उल्लेख गर्नुभयो ।

यता,सामाजिक सञ्जालमा भारतले प्रधानमन्त्रीको भ्रमणको क्रममा उपहारस्वरुप दिएको १५ वटा भैंसीको विषय निकै भाइरल भएको छ । कतिपयले भारतले उपलब्ध गराउने भनेको उन्नत जातको मुर्रा भैंसीलाई प्रधानमन्त्री र सरकारको कटाक्षको विषय बनाएका छन् । 

कृषि र पशु विकासमा सहकार्य गर्ने उद्देश्यले ती भैंसी प्रदान गरिएको भारतीय पक्षको दाबी छ । नेपालकै अनुरोधमा आफूहरुले भैंसी दिने निर्णय गरेको भारतीय अधिकारीहरुले बताएका छन् । यसबारे नेपाल सरकारको तर्फबाट औपचारिक धारणा आएको छैन । 

सोही सन्दर्भमा एक जना प्राध्यापकले सामाजिक सञ्जालमा भैंसी पुराण शीर्षकमा मुर्रा भैंसीबारे संक्षिप्त जानकारी दिएका छन् । उनले उक्त जातको भैंसीको दाम ६० हजार भारतीय रुपैयाँबाट शुरु हुने र बढीमा दुई लाखसम्म पर्ने उल्लेख गरेका छन् । उक्त भाउ सन् २०२३ को प्रारम्भतिरको भएको पनि प्राध्यापकको भनाई छ ।

उनले लेखेका छन्, ‘हरियाणामा अन्यत्रभन्दा सस्तो हुन्छ । दूधको परिमाण र फ्याटको मात्राअनुसार मूल्यमा फरक पर्न सक्छ ।

एउटा मुर्रा भैंसीले दिनको १५ देखि ३२ लिटरसम्म दूध दिने दाबी गरिए पनि एउटा प्रदर्शनीमा भएको प्रतिस्पर्धामा २६.३ लिटर दूध दिने भैंसी प्रथम भएको रेकर्ड रहेछ ।’

उनको हिसाबअनुसार एउटा भैंसीको औसत मूल्य एक लाख ३० हजार पर्छ । यसहिसावले हेर्दा भारतले दिने भनिएको १५ वटा भैंसीको मूल्य भारतीय रुपैयाँ १९ लाख ५० हजार पर्ने देखिन्छ । यो भनेको नेपाली रुपैयाँ ३१ लाख २० हजार हो ।

टिप्पणीहरू