खै कहाँ छ सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन ?

खै कहाँ छ सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन ?

सूर्तीजन्य पदार्थको सेवन गर्ने ब्यक्तिमा मस्तिष्कघात, क्यान्सर तथा हृदयघातको सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ । दमको रोग लागि मृत्यु हुने सम्भावना १३ प्रतिशत हुन्छ । मिर्गौलालाई काम गर्न नसक्ने बनाइदिनुका साथै मुख, घाँटी, आन्द्रा, स्तन पिसाबथैली जस्ता अंगमा क्यान्सरको खतरा हुन्छ । मधुमेह रोगको जोखिम उच्च बनाइदिन्छ । सूर्तीजन्य पदार्थको सेवनले रक्तनलिको भित्री भागमा कोलेस्टेरोल जम्मा गराउँछ । लामो समयसम्म धुम्रपान गरेका मानिसमा खान मन नलाग्ने तथा पाचन प्रक्रियामा समस्या निम्त्याउँछ । युवा अवस्थामानै कपाल झर्ने तथा छिटो फुल्ने समस्या हुन्छ । उमेरभन्दा बढी पाको देखिन्छ । कान कम सुन्ने तथा आँखा कमजोर बनाइदिन्छ । गर्भवती महिलाले धूमपान गरेमा बच्चा समय नै नपुगी जन्मन सक्छ साथै सूर्ती सेवन गर्ने महिलामा बाँझोपनको समस्या हुन्छ । चुरोट पिउने व्यक्तिको छालामा समस्या हुने, चाउरी पर्ने, सुख्खा हुने, जिब्रोको स्वाद लिने क्षमता र नाकको सुँघ्ने क्षमता कम हुने, शुक्रकिटको क्षमता घटाउने, दाँत बिग्रिने, मुख गनाउने हुन्छ ।

धुम्रपानमा हुने प्राणघातक रसायनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई कमजोर बनाउँछ्, जसबाट शरीरमा विभिन्न रोग लाग्ने सम्भावना बढेर जान्छ । सुर्तीमा भएको निकोटिनले अम्मली बनाउनुका साथै मष्तिष्क र स्नायुमा पुगी रिंगटा लाग्ने, कम निद्रा लाग्ने, सुत्दा निद्रा नलाग्ने, मस्तिष्क शिथिल हुने, दाँत बिग्रने, औंला र नङ पहेंलो हुने, कालो हुने, रक्तनली र भल्भमा निकोटिन जम्दै जाँदा साँघुरिएर मुटुसम्बन्धी रोग, थोम्ब्रोएन्जाइटिस अवलिटरेनस, बर्गर रोग, हृदयाघात, मस्तिष्कघात, कान पाक्ने, श्रवणशक्ति कम हुने, बहिरो हुने, पक्षाघात, स्नायु, नसा र धमनी सुन्निने, कपाल, लुगा फोहोर हुने आदि बनाउँछ । चुरोटमा हुने कार्बन मोनोअक्साइड ग्याँसले रगतको अक्सिजन बोक्ने क्षमतालाई १५ प्रतिशतले बाधा पु¥याई हाड कमजोर हुने, घाउ निको हुन लाग्ने समय ८० प्रतिशतले बढ्ने, ५ गुणा बढी ढाड दुख्ने सम्भावना, दम बढ्ने, दीर्घ खोकी, पिपयुक्त खकार तथा खोक्न र श्वास फेर्न कठिन बनाउँछ ।

मोतिया बिन्दु पनि धुम्रपानले बनाउन सक्छ भन्ने कुरा ४० प्रतिशतभन्दा बढी धुम्रपान गर्नेमा आँखाको दृश्यशक्तिलाई कमजोर पार्दै नदेख्ने बनाएकोबाट प्रमाणित भएको छ । धुम्रपानको धुवाँले आँखालाई पीडा तथा संवेदनशील बनाएर र फोक्सोबाट रगत हुँदै आँखामा पुग्ने सुर्तीका रसायनले रेटिनाको मध्यभागमा क्षति पु–याउँदछ । उमेरसँगै बूढो हुँदै जाँदा विकसित हुने फोकस गर्न नसक्ने समस्या धुम्रपान गर्नेमा छिटो सुरु हुने तथा तीव्र गतिमा हुने गर्दछ । धुम्रपानले मुटुसम्बन्धी रोग उब्जाउने प्रमुख कारण धुम्रपान हो, जसका कारण विकासोन्मुख मुलुकमा १० लाखभन्दा बढी र विकसित मुलुकमा ६ लाखभन्दा बढी व्यक्ति मर्ने गरेका छन् । धुम्रपान मुटुको घड्कन तीव्र पार्ने, रक्तचाप बढाउने, उच्च रक्तचापको सम्भावना हुने, हृदयघातको कारण बन्न सक्छ ।

धुम्रपानमा भएका करिब ६० वटा क्यान्सर लगाउन सक्ने तत्व, कार्सिनोजनहरूले शरीरका विभिन्न अंगप्रत्यंगमा क्यान्सर लगाउन सक्छन् । सामान्य व्यक्तिलाई भन्दा धुम्रपानको अम्मलीलाई दुई गुणा बढी छालाको क्यान्सर, मेलानोमा, पाठेघर, स्तन तथा मूत्रथैलीको क्यान्सर, २२ गुणा बढी फोक्सोको क्यान्सर, दुई गुणा बढी जिब्रोको क्यान्सर, ६–२७ गुणा बढी मुख, –यालग्रन्थी र श्वासनलीको क्यान्सर, १२ गुणा बढी घाँटीको क्यान्सर, ८–१० गुणा बढी भोजननलीको क्यान्सर, १०–१८ गुणा बढी भोजन नलीको क्यान्सर, दुई–तीन गुणा बढी आमाशयको क्यान्सर, पाँच गुणा बढी मिर्गौलाको क्यान्सर, दुई–पाँच गुणा बढी प्यान्क्रियाजको क्यान्सर, तीन गुणा बढी आन्द्राको तथा ५–६ गुणा बढी गुदद्वारको क्यान्सर हुने सम्भावना रहन्छ ।

उल्लेखित असर बाहेक धेरै असल सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेकोछ । तर यो यथार्थ पक्ष थाहा हुँदा, हुँदै पनि दिनहुँ मान्छेहरुले सेवन गरिरहेका छन् । विश्वमा ८३ लाखको मृत्यु धुम्रपानका कारण हुने गरेको तथ्याँक छ । नेपालमा कुल जनसंख्याको १८.५ प्रतिशत जनसंख्याले धूम्रपान तथा सुर्ती सेवन गर्ने तथ्यांक छ । सेवा गर्नेहरुको डरलाग्दो तथ्याँक यस्तो छ भने खुलम, खुला धुम्रपानजन्य पदार्थ प्रयोग गरिने संस्कारले त्यो भन्दा बढि जनसँख्या सेवन गर्नेका कारण प्रभावित छ । 

विश्वमा प्रत्येक ६ सेकेन्डमा एक व्यक्ति धुम्रपानको कारणले मर्दछ, जसमा ८०% नेपालजस्तै विकासशील देश पर्दछन् । नेपालमा वार्षिक ३० हजार मानिस धुम्रपानकै कारणले मर्छन् । १२ वर्षअघि गरेको एक सर्वेक्षणमा नेपालको ७२% घरमा न्यूनतम एक व्यक्तिले धुम्रपान गर्ने गरेको पाइएको छ । विश्वका विभिन्न देशमध्ये नेपाल धुम्रपान सेवन गर्नेमा अग्रस्थानमा रहेको तथा नेपाली महिला विश्वमै प्रथम स्थानमा छन् । अरू त अरू सहरी क्षेत्रका स्वास्थ्य परीक्षण गराउने गर्भवती महिलाले पनि धुम्रपान गरेको पाइन्छ । ७१.४ प्रतिशतभन्दा बढी महिला, ८५ प्रतिशतभन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको अनुमान छ । यहि अचाक्लिपनालाई कम गर्न नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन, २०६८ ल्याएको पनि एक दशक बढि भईसकेकोछ । यसको पूर्ण कार्यान्वयनको अभावमा सुर्तीजन्य पदार्थको खुला संस्कृति माथि अँकुश लाग्न सकिरहेको छैन । 

ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा मानिसहरू अहिले पनि विद्यालय, अस्पताल, क्याम्पस, होटल, मठमन्दिर र पाटीपौवालगायत सार्वजनिक स्थलमा खुला रूपमा चुरोट, बिँडी, खैनी, सुर्ती र तमाखुलगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइन्छ । ऐनमा निजी वा सरकारी कुनै पनि सार्वजनिक स्थलमा धूमपान गरेको खण्डमा १०० जरिवाना गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, विद्यालय र अस्पताललगायतका सार्वजनिकस्थल वरिपरि १०० मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने व्यवस्था गरिएको छ तर विद्यालय वा अस्पताल हाताभित्रै ती सुर्तीजन्य पदार्थ बिक्रीवितरण हुँदासमेत सम्बन्धित निकायले कुनै कारबाही गर्न सकेको छैन । गर्भवती र बालबालिकालाई चुरोट बेच्न नपाउने, चुरोट खिल्लीको हिसाबले नभई बट्टा नै बेच्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी निर्देशिकाको पनि प्रभावकारी कार्यान्वयन भएको पाइँदैन । प्रभावकारी जनचेतनाको अभाव, दण्डको व्यवस्था नहुनु र सम्बन्धित निकाय र सङ्घ संस्थाबीच आवश्यक सहकार्य नभएका कारण ऐन कार्यान्वयनमा समस्या देखिएको छ । जव सम्म ऐन कार्यान्वयन हुँदैन तब सम्म सार्वजनिक स्थानमा सुर्ती सेवन निषेध हुन असम्भव छ । तसर्थ ऐनको अक्षरशः कार्यान्वयन गर्न जरुरी छ ।

यहि पृष्ठभुमीमा विश्वभर मे ३१ को दिन विश्व धुम्रपानरहित दिवस मनाइन्छ । यस बर्षको नारा धभ we need food, no tobacco लय तयदबअअय रहेको थियो । जसको सन्देश हामीलाई खाना जरुरी छ, खाना चाहिएको छ, सुर्तीजन्य पदार्थ होईन भन्ने हो । यहि सन्देश अनुरुप सार्वजनिक स्थानलाई मात्रै सुर्तीजन्य पदार्थ निषेध गरिदिने हो भने यसको प्रयोग र यसबाट अरुलाई गर्ने असरबाट बच्न सकिन्छ । यस तर्फ ध्यान दिऔं ।

टिप्पणीहरू