विश्वको सातौं आश्चर्यमा पाइला राखेपछि...

विश्वको सातौं आश्चर्यमा पाइला राखेपछि...

‘चिनियाँ जनता जसले ग्रेटवाल चढ्दैन कि उ चिनियाँ होइन, कि उ साहसी चिनियाँ होइन,’ चिनियाँहरु अहिले पनि अध्यक्ष माओको उक्त भनाइमा सहमत छन् ।

चिनियाँहरु आफ्ना हरेक नागरिक अगाध राष्ट्रप्रेमी रहेको बताउँछन् । जसरी समग्र हिन्दूहरुको लक्ष्य जीवनमा एक पटक भएपनि नेपालको पशुपतिनाथ दर्शन गरेर आफुलाई भाग्यमानी हिन्दु धर्मवालम्बीको रुपमा प्रस्तुत गर्न चाहन्छन् । त्यसैगरी मुस्लिमहरु मक्का मदिनाको दर्शनमा जान उस्तै व्यग्र देखिन्छन् । 

हरेक चिनियाँको लक्ष्य पनि जीवनमा एक पटक ग्रेटवाल चढ्नेनै हुन्छ । उनीहरु करिब छ सय वर्षअघि पूर्खाको विरासत बोकेको ग्रेटवालसँग साक्षात्कार गर्न चाहन्छन् । हजारौं पुर्खाको त्याग बलिदानी र देनलाई चौंडा छाती पार्दै सत्कार गर्न चाहेको देखिन्छ । पुर्खाहरुले तीनवटा साम्राज्यमा ७० वर्षसम्म बगेको रगत पसिनाको अमर चिनोको दर्शन गर्न चाहन्छन् । त्यसैगरी पुर्खाले छाडेर गएको प्राचीन र गौरवपूर्ण सौगातलाई सम्हालेर राख्न चाहेकाले ग्रेटवाल अहिले पनि विगतमा झैँ सुन्दर र अमर छ । 

भनिन्छ, चिनियाँहरुले ग्रेटवालको पहाडको चुचुरोमा अध्यक्ष माओको आत्मा रहेको विश्वास गर्छन् । त्यसैले बालकदेखि वृद्धसम्म सबै ग्रेटवालको चुचुरोमा रहेको किल्लामा पुगेर गगनसँग मित्रता गाँसेर लामो स्वास फेर्न चाहन्छन् । सोही बेलामा पहाडबाट निस्केको धुपीको सुगन्धको रसापन गर्दै रम्न चाहेको विश्वासमा देखिन्छन् । 

ग्रेटवाल वरपरको स्वच्छ हावासँग रम्दै आफ्ना उनै नयाँ चीन  निर्माता माओसँग श्रद्धाले झुकेर गफिन चाहन्छन् । भन्छन् ‘वे दा लिङ् सियो । माओ झु सि सिया सिया नि । वो मेन फेई छाङ् आए नि । मिन वे योव नि ।  वो मेन साय यो जिङ् छियान’ अर्थात् सर्वोच्च कमाण्डर माओ धन्यवाद । हामी तिमीलाई अगाध माया गर्छौं । तिम्रो कारण हामी यहाँ छौं । धन्यवाद माओ तिमी थियौ र त हामी अहिले एकीकृत र सम्पन्न चिनियाँ भएका छौं ।

ग्रेटवाल चीनको राजधानी बेइजिङ्गको केन्द्रबाट उत्तरतर्फ करिब ८० किलोमीटर दूरीमा पर्दछ । जसले पूर्वपश्चिम फैलिएर रहेको जुयोङ्गगुवान पास (प्रवेशद्वार) को दुई पहाडलाई अंग्रेजी वर्णमालाको भी आकारमा ५ हजार ४ सय मिटर लमतन्न फैलिएर राजधानी शहरलाई अझैपनि पहरा दिइरहेको छ । त्यसैले ग्रेटवालको यो भागलाई चिनियाँहरु ‘स्वर्गमुनिको उत्कृष्ट प्रवेशद्वार’ मान्छन् । यहि ग्रेटवाल मुनिबाट गत वर्ष २०२२ मा शीतकालीन आलम्पिक भएको शहर जोङ्गज्याखो द्रुतमार्ग र भूमिगत रेल सेवाद्वारा जोडिएको छ ।

जनगणतन्त्र चीनले सन् २०१२ मा सार्वजनिक गरेको तथ्यांक अनुसार यसको लम्बाई २१ हजार १९६.१८ किलोमीटर लामो छ । करिब छ सय वर्ष पहिले उत्तरतर्फको मंगोलियन घोडचढीहरुको पशुपालक (नोमेटिक) समूहहरुबाट बच्न चिनियाँ वास्तविक कृषकहरुको साम्राज्यले बनाइदिएको थियो । 

ग्रेटवाल केवल दुष्मन मुलुकका सैनिकहरुलाई रोक्न र प्रहार गर्न मात्र बनाइएको थिएन । सूचना दिनको लागि पनि बनाइएको थियो । भनिन्छ ‘एक जना सिपाहीले राम्ररी डिउटी गर्यो भने हजारौं दुश्मन सेनालाई रोक्न सकिन्छ ।’ त्यसैले वालको उत्तरतर्फ झण्डै पाँच सय मीटरदेखि एक किलोमीटरसम्मको भागमा वेकन टावर छ । त्यसमा केही सिपाही बसेर पहरा दिने गर्दथे र जनरलहरु ग्रेटवालमा अन्य सिपाहीहरुसँग बस्थे । वेकन टावरमा रहेको सिपाहीले दुष्मन मंगोलियन घोडचढी सेना आएको देख्ने बितिक्कै रातको समयमा आगो बालेर र दिउँसो धुवाँ निकालेर सूचना दिने गर्दथे । त्यसपछि ग्रेटवालमा रहेको जनरलको नेतृत्वको टोली दुष्मन सेनाको मुकाबिला गर्न किल्ला किल्लामा आफ्ना तोप, बन्दुक, खुकुरी, भाला र ढाल लिएर तयारी हालतमा बस्थे भन्ने ऐतिहासिक विवरण छ ।

विशाल पर्खालको चीनतर्फको भागमा चीनको पौराणिक कला र संस्कृतिले भरिएको गार्गोयोल शैलीमा बनाइएका धाराहरु पनि ठाउँठाउँमा देखिन्छन् । त्यसमा ड्रागनको मुखबाट पानी खसिरहेको छ । ती धारा चिनियाँ कृषकहरुले पिउन र कृषिमा उपयोग गर्ने प्रयोजनका लागि आफ्नो देशतर्फ मात्र फर्काएर बनाएको स्पष्ट हुन्छ । यसले चिनियाँहरु कृषिप्रति कति दत्तचित्त थिए भन्ने बुझ्न सकिन्छ । यद्यपि बेइजिङ्ग नजिकैको भागमा रहेको ग्रेटवालमा भने किल्लाहरुमा रहेको ढुङ्गाको पिल्लरमा धाराको तस्विर कुँदिएको छ ।

ग्रेटवाल चढ्न जति सजिलो छ आधार सतह अर्थात तल्लो तहसम्म झर्न उत्तिकै कठिन हुन्छ । त्यसैले चिनियाँहरु विश्वास गर्छन् कि ‘जसले चढ्यो उसले ग्रेटवालबारे केही कुरा सिक्यो’ अर्थात निरन्तरको मेहेनेतपछि असम्भव भन्ने केही छैन । उनीहरु यो कुरामा अझ विश्वस्त र आभार छन् कि माओले समग्र चिनियाँलाई एकताको शुत्रमा गाँसे र त्यहि बलमा राष्ट्र, राष्ट्रियता र समग्र चिनियाँ राष्ट्रिय एकताले मुर्तरुप पायो । सोही एकताको बलमा वर्तमान राष्ट्रपति सि जिन पिङले विकसित राष्ट्रको रुपमा परिणत गराएका हुन् ।

जनगणतन्त्र चीनले सन् १९८७ मा ग्रेटवाललाई विधिवतरुपमा विश्व सम्पदा सूचीमा दर्ता गराएको हो । चन्द्रमाबाट नाङ्गो आँखाले देख्न सकिने पृथ्वीको एक मात्र भूभाग भएकाले पनि मानव निर्मित यो सातौं आश्चर्यको रुपमा मानव जगतको सम्पदा बनेको छ । त्यसपछि यसको महत्व र कौतुहलताले विश्व जगतको मानसपटललाई सँधै तरंगित बनाइरहेको छ ।

(ग्रेटवालको हालै भ्रमण गरेका एक जना नेपालीको अनुभूति)

टिप्पणीहरू