टोपबहादुरको हाँसो, सुदनको आँसु र नागरिकको चासो

टोपबहादुरको हाँसो, सुदनको आँसु र नागरिकको चासो

नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि त्यससम्बन्धमा केही न केही तथ्य आइरहेकै छन् । यही क्रममा कैलालीको टीकापुर काण्डका आरोपी रेशम चौधरीले गणतन्त्र दिवसका दिन आममाफी पाएपछि पत्रकार र पब्लिकले मिडिया र सामाजिक सञ्जालका भित्ता कोर्ने–भर्ने सामल पाएका छन् । चार दिनमात्र अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको भन्दा पनि ‘यु टर्न’ हुने खालका भ्रष्टाचारका फाइल खोल्ने भनेर अर्काे ‘मिडिया ट्रायल’ गरेपछि पत्रकारहरू झन् चनाखो भई बसेका छन् । त्यसैले पुरानो आर्थिक वर्ष सकिनै लागे पनि यो वा त्यो घटनाका कारण नेपालका समाचार–माध्यम र सामाजिक–माध्यमलाई अहिलेसम्म समाचार र प्रचार–सामग्रीको अनिकाल लागेको छैन । 

विभिन्न प्रकरणका समाचार सामान्य र असामान्य अभियुक्तअनुसार चर्चित, कम चर्चित बन्दोरहेछ । केही साताअघि पक्राउ परेका भिआइपी टोपबहादुर रायमाझीले सुरक्षा घेरामा मन्दमुस्कान छाड्दै हात हल्लाएको दृश्यलाई धेरैले ‘नोट’ गरे । हास्य–व्यङ्ग्य कलाकार मनोज गजुरेलले त त्यो हाँसोका १२ अर्थ लगाउनुभयो । अभियुक्तमा पनि सबैभन्दा भिआइपी भएकाले नै होला, टोपबहादुरको हाँसो समेत समाचार बन्यो, त्यसले यत्रतत्र सर्वत्र चासो पायो । विभिन्न माध्यम, चिया, मदिरा पसल, सार्वजनिक यातायात, गाउँघरका चौताराहरूमा बसेर दिन काट्ने मेसो मिल्यो फुर्सदिला मानिसहरूलाई । उहाँ र अर्का भिआइपी बालकृष्ण खाँणलाई हत्कडी नलगाइएको विषय उत्तिकै चर्चामा रह्यो । यसलाई मानिसहरूले यसरी पनि ठट्यौली शैलीमा भने–‘प्रकृतिले हरेकलाई दुई चीज दिएको छ । सृष्टिको बिँडो थाम्न दुईजना नै नभई हुँदैन । दुई हात, दुई आँखा, दुई खुट्टा, दुई कान, दुई नाक भएजस्तै कानुन पनि भिआइपी र सर्वसाधारणका लागि दुइटा हुनु स्वाभाविक नै हो त ।’ 

यो प्रकरण कहाँसम्म पुग्ला ?, के के भएर सकिएला या नसकिएला ? अझै को को तानिएलान् या नतानिएलान् ? अनुसन्धानकर्ताहरूलाई मात्रै थाहा होला । तर यो प्रकरणले देशमा राजनीतिक आवरण र संरक्षणमा शासकीय र प्रशासकीय शक्तिको मिलेमतोमा कतिसम्मका सङ्गठित अपराध हुँदोरहेछ भन्ने ठूलो रहस्य खोलिदियो । सबैजसो राजनीतिक दल र तिनका बडेबडे नेताहरू किन पारदर्शी हुन चाहँदारहेनछन् भन्ने प्रश्नको जवाफ दियो । भनाइ छ, शासन र प्रशासन कहिल्यै नजोडिने वा जोडिन नहुने समानान्तर रेखा हुन् । यी जहिले पनि ‘चेक एण्ड ब्यालेन्स’ मा बस्नुपर्दछ । स्वार्थ मिलेर यी जोडिए भने देश, संस्था नै खतम हुन्छ । यस सिद्धान्तविपरीत कहीँ नभएको जात्रा नेपालमै भयो । शासन र प्रशासन दुई समानान्तर रेखा जोडिएर शरणार्थी जस्तो विषयमा सङ्गठित अपराध हुँदा राष्ट्रकै बेइज्जत भयो । 

गाडीको सहचालकले सोझासीधा यात्रुलाई ठग्छ । डाक्टरले बिरामी ठग्छ । तरकारी बजारमा ठगिन्छ मान्छे । न्यायालय, मालपोत, जताजतै ठगिन्छ । 

यो त बाहिर आएको एउटा नमुना विषय भयो । बहालवाला पर्यटनमन्त्री सुदन किराँती नै भावुक स्वरमा भनिरहनुभएको छ, ‘घुस नखाँदा पापीहरू बहुलाउन थाले । मेरै कुर्सीमा घुनपुतली शुरु भएको छ ।’ घुस, कमिसन र लुटको चलखेल कतिसम्म हुँदोरहेछ भन्ने बलियो प्रमाण बहालवाला मन्त्रीको मुटुको अभिव्यक्तिबाहेक अरू के हुनसक्छ र ? त्यसैले अब जनचासो ‘बाकृखा’ र ‘टोबरा’हरूतिर मात्रै होइन, अरु भिआइपीतिर पनि बढेको छ । २०४७ सालदेखिका ठूला–साना हजारौँ भ्रष्टाचार, अनियमितता, अनैतिक काण्डको पर्दाफास हुनुपर्ने माग उठेको छ । यो विषयलाई सरकारले हालैको नीति तथा कार्यक्रममा पारेर नागरिकको मनमा मल्हम लगाउने प्रयास गरेको छ । प्रश्न उठ्न थालेका छन्, यो देशमा सदाचारी चाहिँ को होला त ? ‘सिंहदरबारदेखि स्यालदरबार’सम्म कति कति भ्रष्टाचारी होलान् ?, घुस, कमिसन नखाने कति प्रतिशत शासक–प्रशासक होलान् ? यत्तिका दल र तिनका नेता कसरी चलेका होलान् ? खाने, लाउने, बस्ने पैसो कहाँबाट आउँदो हो ? तिनीहरूले हिसाबकिताब बुझाउन किन नपरेको होला ? जनयुद्धका सुप्रिम कमाण्डर प्रधानमन्त्री प्रचण्डले युद्धमा झैँ भ्रष्टाचारविरुद्ध ‘बमबार्ड’ शुरु गरेको उद्घोष गर्दा युद्धकालीन गुरिल्ला नेताहरू झन् किन मौन बसेका होलान् ? सरकारको सुरुवाती अभियानमा ऐक्यबद्धतासम्म जनाउन किन नसकेका होलान् ? आफूहरू पनि फसिसकेकाले माकुरी जालमा परिन्छ भनेर त होइन ? 

जताततै ठगी नै ठगी देखिन्छ । प्रशासनको उच्च ओहोदाका मानिसप्रति पनि प्रश्न उठाउन थालिएको छ । अरु कर्मचारीभन्दा अलिकति बढी तलब खाने उच्च पदको व्यक्तिको सम्पत्ति रातारात कसरी बढ्यो ? पुख्र्याैली सम्पत्ति हो कि ‘इधरउधर’को कमाइ हो, भन्न पर्दैन ? खोज्नेले खोज्न पर्दैन ? सोझासीधाको आरोप छ–गाउँको वडादेखि शहरको सिंहदरबारसम्म बसेकाहरूले कहीँ न कहीँ लामो हात गरेकै छन् । भन्छन् नि नचिनेको चोर बाउ बराबर । कानुनले नसमातेसम्म भ्रष्टाचारी पनि सलाम खानलायकै हुन्छ । नत्र इमान्दारिता कहीँ देखिँदैन । गाउँदेखि शहरसम्मको हेडमास्टरले विद्यार्थीको फिबाट कति कमिसन खायो होला ? गाउँपालिका, नगरपालिका सचिवले मरेका मानिसको नाममा समेत कतिचोटी भत्ता मागेर दुरूपयोग ग¥यो होला ? हाकिमले कसरी कमायो होला रातारात ? जहाँ जसले पनि ठगेकै छ । हुँदा हुँदा गाडीको सहचालकले सोझासीधा यात्रुलाई ठग्छ । डाक्टरले बिरामी ठग्छ । तरकारी बजारमा ठगिन्छ मान्छे । न्यायालय, मालपोत, जताजतै ठगिन्छ मान्छे । मन्दिर, मस्जिद, चर्च, मानेमा भगवान् बस्छन् भनेर भेटी बटुल्दै पुजारी, पास्चरले कतिको दिमाग भुटे होलान् आस्थाको नाममा ? कति कमाएर रमाए होलान् ? आदि यस्ता–यस्ता विषय पनि खोज्ने बेला भएन र ?  

सारमा ठगी, लुट, कमिशन, भ्रष्टाचार महारोग हो । सामाजिक चेतना नै यसको प्रमुख कारक हो । हाम्रो घर, परिवार र समाज नै यस्तै छ नि ! पैसा हुने, कमाउनेलाई स्वागत गर्छ, सम्मान, प्रशंसा गर्छ, नहुनेलाई घृणा, बेवास्ता गर्छ । यही कारण त होला, नकमाउनेलाई केटीसाथीले समेत नगन्ने भएर तरुण गीतबाटै पीडा पोख्छ–

 गोजीमा दाम छैन मेरो गोजीमा दाम छैन
कान्छीलाई घुम्न लैजाम् कि भन्छु
गोजीमा दाम छैन  
अनि त्यही पीडामाथि पीडा थप्दै तरूनीहरूले गीतबाटै डाइलग पेल्छन्–
गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन । 
गोजीमा सुको नहुने मान्छे केही पनि काम छैन ।
साउने झरी सकिएपछि खहरे उर्लेको 
गोजीमा सुको नहुने मान्छे के खान कुर्लेको ?

समाज नै यस्तै भएपछि नहोस् त भ्रष्टाचार ! यस्तै दबाब र अभाव भएकाले नेता प्रियहरू पनि फसेका हुन् कि अनेक काण्डमा ! यस्तै–यस्तै विकृति–विसङ्गति, संस्कार, शैली छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि । राजतन्त्रमा भन्दा बढी हाकीहाकी बोल्न, लेख्न र सरकारदेखि सरदारसम्मको आलोचना गर्न त पाइएकै हो, तर सरकारहरू फेरिए पनि संस्कार नफेरिएपछि, पात्रहरू बदलिरहे पनि प्रवृत्तिहरू नबदलिएपछि गणतन्त्रमा पनि नागरिक सन्तुष्टि प्राप्त हुनसकेको छैन । चाकडी, चाप्लुसी, चुक्ली मानवीय स्वाभाव भएकाले ‘मानिस’ भन्ने जाति रहेसम्म यो हराउन्न होला सायद ? तैपनि निराशा भएर होइन आशा लिएर चल्नुनै पर्दछ अघि अघि । 
 

टिप्पणीहरू