आन्दोलनकारी छिर्ने दाउमा, प्रहरी छलफलमा

आन्दोलनकारी छिर्ने दाउमा, प्रहरी छलफलमा

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध राजधानीमा प्रदर्शन गर्दै आएकाहरुले आज पनि संसद भवनभित्र छिरेर नाराबाजी गर्ने योजना बनाएका छन् । गौशालाको भण्डारखाल बगैंचामा बस्दै आएका उनीहरुले बिहानको खाना खाएपछि संसद भवन घेराउ गर्ने योजना रहेको बताएका छन् । 

प्रदर्शनकारीहरुमध्ये केहीले औपचारिक रुपमा गौशाला, सिनामंगल, तिनकुने हुँदै नयाँ बानेश्वर जाने योजना बनाएका छन् ।

यता प्रहरीले हिजो दिउँसो संसद भवनभित्रै भएको उनीहरुको प्रदर्शन र नाराबाजीको घटना छानबिन गर्न तीन सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एक जना एसपी र एक जना डिएसपी सदस्य छन् । 

सदस्यहरुमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिएसपी दिनेश घिमिरे छन् ।

हिजो दिउँसो लघुवित्त पीडितहरुले संसद भवनको कडा सुरक्षा घेरा तोडेर परिसरभित्रै नाराबाजी गरेका हुन् । झण्डै ५० जनाको संख्यामा छिरेका उनीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए ।  

नेपाल राष्ट्र बैंक, बालुवाटार नजिकै प्रदर्शन गर्ने बताएका उनीहरु एक्कासी नयाँ बानेश्वरस्थित संसद भवनमा छिरेर सरकारविरुद्ध नाराबाजी गरेका हुन् । आफ्नो ऋण मिनाहा हुनुपर्ने र धितो लिलाम फुकुवा गर्नुपर्ने माग गर्दै आएका प्रदर्शनकारीले हिजो मन्त्रीहरुको राजीनामा मागेका हुन् । 

सरकारले राजधानीका विभिन्न स्थानमा झैँ संसद् भवन वरपरको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ । तर, निषेधित क्षेत्र पार गर्दै उनीहरु सरासर संसद भवन छिरेर चर्को नारा लगाएपछि प्रहरीको सुरक्षा घेरामाथि प्रश्न चिन्ह उब्जिएको हो ।

टिप्पणीहरू