प्रधानमन्त्री, पत्नी बित्दा ४ हजार चट्

प्रधानमन्त्री, पत्नी बित्दा ४ हजार चट्

कसैलाई श्रीमती गुमाएको शोक त कसैलाई समवेदना प्रकट गर्न जाने नाममा मोज ! प्रसंग हो, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की श्रीमती सीता दाहालको निधनपछि बालुवाटारमा आयोजित शोक सभामा उपस्थिति जनाएर फर्किने क्रममा कोषका पदाधिकारीसहित कर्मचारीहरूले सरकारी खर्चबाट दिवाभोज गरेको पाइएको छ । 

कार्यकारी निर्देशक घनश्याम खतिवडा, प्रशासन प्रमुख रेवतीरमण अधिकारी, तत्कालीन लेखा प्रमुख भरत मरासिनी, सदस्य डा. अर्जुन बाँस्तोलालगायतले संगम स्विट्समा खाएर बिल कोषबाट भुक्तानी दिएको तथ्य भर्खरै खुलेको हो । समवेदना प्रकट गरेर फर्किंदै गर्दा उनीहरूले खाजा खाएको बिल जनआस्थाको हात लागेको छ । जसमा आठ पिस मसला डोसा, तीन वटा मिनरल वाटर, रसबरी एक प्लेट, रसबरी ११ पिस, रसमलाई पाँच पिस र मिल्क केक चार पिस खाएको उल्लेख छ । 

त्यसबापत ४ हजार ४०५ रूपैयाँको बिल आएको थियो । सो बिल कोषको खाताबाट भुक्तानी दिएको स्रोतले बतायो । तत्कालीन लेखा प्रमुख भरत मरासिनीले कोषबाट भुक्तानी गर्न नमिल्ने बताउँदा–बताउँदै पनि जबरजस्ती ‘पेमेन्ट’ गर्न लगाइएको थियो । 

‘कोषबाट बालुवाटार डेढ किलोमिटरको दूरीमा छ, तैपनि समवेदना प्रकट गरेर फर्किने बेला खाजा खाएछन् । बिलचाहिँ कोषको खाताबाट तिराएछन्,’ स्रोतले भन्यो । यता, यस विषयमा कोषका पदाधिकारीबाट फरकफरक जवाफ आएको छ। 

कार्यकारी निर्देशक खतिवडाले खाजा खाएको भए पनि याद नभएको बताए । उनले भने, ‘खाजा त खाइरहेका हुन्छौं । त्यो दिन पनि खायौं होला तर मलाई याद भएन । खाए पनि कोषबाट भुक्तानी गरिएको जस्तो लाग्दैन ।’ त्यस्तै प्रशासन प्रमुख अधिकारीले खाजा नखाएको दाबी गरे । भन्छन्, ‘हामी शोक सभामा बालुवाटार गएका थियौं । त्यहाँ भीड भएकाले एकछिन पुगेर फर्किहाल्यौं ।’

तत्कालीन लेखा प्रमुख मरासिनीले आफूलाई यसबारे केही जानकारी नभएको बताए । कोषको खर्च प्रणाली आफ्नो हातमा नरहेको बताउँदै उनले आफू हुँदासम्म त्यस्तो कुनै किसिमको बिल नआएको ठोकुवा गरे ! ‘म त्यहाँबाट सरुवा भएको लामो समय भइसकेको छ । मलाई त्यस्तो किसिमको कुनै बिल आएको जानकारी छैन । मभन्दा माथिकालाई थाहा हुन सक्छ’, उनले सुनाए । लेखा प्रमुख चन्द्र खनालले चाहिँ आफू शोक सभामै नगएको जनाए । 

सर्वसाधारणको बिजोग, पदाधिकारीलाई मोज 

पदाधिकारीले कोषको पैसामा मनपरी गरिरहँदा सर्वसाधारणले लाश जलाउन नसकेको पीडादायी खबर बाहिरिरहेका छन् । चैतमा एउटा एकदमै हृदयविदारक घटना सार्वजनिक भएको थियो । माईली राईले शववाहनलाई त्यही हाकिमको खाजा खर्चबराबर चार हजार रूपैयाँ तिर्न नसक्दा श्रीमानको शव रिक्सामा हालेर पशुपति आर्यघाट पुर्‍याएकी थिइन् । 

सहयोग जुटाएरै श्रीमानको काजकिरिया गरिन् । यो त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । पशुपतिजस्तो पवित्र धार्मिकस्थल भ्रष्टाचारको अखडा बन्दै छ । कहिले सुनको जलहरी राख्दा अनियमितता त कहिले कर्मचारीकै मिलेमतोमा भक्तजनले श्रद्धापूर्वक चढाएको दान चोरी । मन्दिरको सरसफाइ, रंगरोगन, सवारी व्यवस्थापन, मगन्तेको व्यवस्थापन, भत्किएका संरचनाको पुनर्निर्माणमा कोषले चासो नदेखाएको गुनासो सुनिन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू