टिचिङको फार्मेसीमा महानगरको छापा, पानोर्मामाथि कारबाहीको तयारी

टिचिङको फार्मेसीमा महानगरको छापा, पानोर्मामाथि कारबाहीको तयारी

काठमाडौं महानगरपालिकाले पानोर्मा फार्मेसीलाई कारबाही गर्न औषधी व्यवस्था विभागलाई पत्र पठाएको छ । 

महाराजगञ्जस्थित टिचिङ हस्पिटलको प्राङ्णमा रहेको उक्त फार्मेसीलाई कारबाही गर्न महानगरको स्वास्थ्य विभागले औषधी व्यवस्था विभागलाई पत्र लेखेको हो । सो फार्मेसीले म्याद गुज्रिएका औषधी बेचेको आरोप छ । 

उपभोक्ताको गुनासोपछि महानगरको अनुगमन टोलीले आज उक्त फार्मेसीको अनुगमन गरेको थियो । त्यसक्रममा म्याद सकिएका औषधीहरु फेला पर्नुका साथै भ्याक्सिन र इन्सुलिन भण्डारणमा पनि कैफियत देखिएको थियो । सञ्चालकले पनि उक्त कुरा स्वीकारेको अनुगमन टोलीले जनाएको छ । 

महानगरका अनुसार भ्याक्सिन र इन्सुलिन राख्दा डीफ्रिजको तापक्रम २ देखि ८ डिग्री सेन्टिग्रेडको बीचमा हुनुपर्नेमा १३ डिग्री सेन्टिग्रेट पाइएको थियो । यो औषधी ऐन, २०३५ तथा औषधी बिक्रीवितरण आचारसंहिता, २०८० को दफा ३ को व्यवस्था विपरीत रहेको महानगरको भनाई छ । 

यस्तो भ्याक्सिन र इन्सुलिन प्रयोग गर्ने उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने भएपछि अनुगमनकै दिन फार्मेसी बन्द गरिएको महानगरले जनाएको छ । औषधी ऐनअनुसार औषधीमा मिसावट गर्न, म्याद नाघेका औषधी बेच्न, अरु सामानलाई औषधी भनेर बेच्न पाइँदैन । यस्तो कार्य गर्नेलाई जन्मकैद वा दश वर्षसम्म कैद सजायसहित जरिवाना हुने कानूनी व्यवस्था छ ।
 

टिप्पणीहरू