विधान मिचेर त्रिवि प्राध्यापक संघको निर्वाचन नगर्न चेतावनी

विधान मिचेर त्रिवि प्राध्यापक संघको निर्वाचन नगर्न चेतावनी

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले विधान मिचेर त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन नगर्न चेतावनी दिएको छ । गैरमतदाताबाट निर्वाचन गराउने षड्यन्त्रका साथ निर्वाचन कार्यतालिम प्रकाशन गरिएको जनाउँदै संघले कडा धारणा राखेको हो । 

संघले वैधानिकता पूरा गरे÷नगरेको छानबिन गरेर मात्र निर्वाचन अघि बढाउन आग्रह गरेको छ । ‘त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ निर्वाचनको वैधानिक निकासका लागि विश्वसनीय छानबिन समितिमार्फत तत्काल संघले सम्बन्धित एकाई समितिमा पठाएको पत्रानुसारको वैधानिक प्रक्रिया पूरा गरे÷नगरेको छानबिन गरी अन्तिम मतदाता नामावली तयार गरी सोही नामावलीका आधारमा यथाशक्य छिटो निर्वाचन गर्ने कार्यतालिका प्रकाशन गर्न त्रिवि प्राध्यापक संघ र त्रिवि प्राध्यापक संघ निर्वाचन समिति, २०७९ सँग अनुरोध छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

संघले यथास्थितिमा असार ७ र ८ गते त्रिवि प्राध्यापक संघको निर्वाचन सम्भव नभएको ठहर गरेको छ । विधान मिचेर थप कार्य अघि बढाएमा उत्पन्न परिस्थितिको जिम्मेवार त्रिवि प्राध्यापक संघ केन्द्रीय समिति र निर्वाचन समिति हुने चेतावनी दिइएको छ ।

संघका अनुसार प्राध्यापक संघको वैध अधिवेशनका लागि एकाई साधारणसभाबाट १० जना सदस्य बराबर एक जना प्रतिनिधिका हिसाबले राष्ट्रिय अधिवेशन प्रतिनिधि समानुपातिक सिद्धान्तअनुरुप एकलसंक्रमणीय मत सिद्धान्तका आधारमा निर्वाचन गरेर पठाउन संघको केन्द्रीय कार्यालयले सबै एकाई समितिमा पत्राचार गरेको थियो । 

संघको उक्त पत्रबमोजिम राष्ट्रिय अधिवेशन प्रतिनिधि छनौट नभएकाले गत मंसिरमा प्राध्यापक संघको अधिवेशन स्थगन गरियो । त्यसपछि हालसम्म राष्ट्रिय अधिवेशन प्रतिनिधि (केन्द्रीय समिति निर्वाचन मतदाता) नामावलीउपर छानबिन भई अन्तिम नामावली प्रकाशित नभएकाले निर्वाचन रोक्न आग्रह गरिएको हो ।

टिप्पणीहरू