पूर्वमन्त्रीले घुस खुवाएको प्रकरण छानविन गर्न समिति गठन

सोनोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रमा भएको पाँच हजार घुस प्रकरणमाथि अनुसन्धान गर्न सरकारले छानविन समिति बनाएको छ । शिक्षामन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त घटनाको छानबिन गर्न निर्देशन दिनुभएकाे हाे ।
जनता समाजवादी पार्टी, नेपालका सांसद तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद महतोले गत आइतबार संसदमा छोरोको सर्टिफिकेट इक्यूभ्यालेन्ट गर्न विचौलियालाई पाँच हजार घुस दिएको बताएका थिए । उनले भनेका थिए, ‘म भूपुमन्त्री, तर हिजो भर्खर सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु । मेरो छोरोको सर्टिफिकेट इक्यूभ्यालेन गर्नुपर्ने थियो । मैले ११ बजे पठाएको ३ बजेसम्म गर्दिएनन् । किन मिलेन भनेर म आफै गएँ । त्यही एउटा विचौलिया रहेछ । त्यसलाई पाँच हजार दिएँ, पाँच मिनेटमै काम गरेर ल्याइदियो ।’
संसद बैठकमै सांसदले घुस खुवाएर काम गराएको बताएपछि शिक्षामन्त्री भट्टराईले आज शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक बसन्त प्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्नुभएकाे हाे । समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य छन् ।
समितिलाई उक्त घटनाको सम्बन्धमा प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया र लाग्ने दस्तुर लगायतका विषयमा छानविन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।
टिप्पणीहरू