प्रहरीकै सामुन्ने सूचक रक्तमुछेल,एक पक्राउ

प्रहरीकै सामुन्ने सूचक रक्तमुछेल,एक पक्राउ
सुन्नुहोस्

प्रहरीकै अगाडि सूचकमाथि कुटपिट गर्ने एक जना पक्राउ परेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४, न्यूरोडस्थित होटल कलपत्रुले सञ्चालन गरेको ‘एसएन ब्लु गेमिङ्ग’ नामक क्यासिनोका जिएम अर्जुन खनाललाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो । 

वडा नम्बर १५,जमुनाह भन्सारको चेकपोष्ट नजिकै भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख रुपैयाँ हिजो साँझ सूचक अर्जुन खड्काले नियन्त्रणमा लिएका थिए । उक्त रकम क्यासिनो तथा हुण्डी कारोबारका लागि ल्याइएको बुझिएको प्रहरीले जनाएको छ । रकम नियन्त्रणमा लिएको केही समयपछि क्यासिनोको जिएम खनाल र नेकपा एमाले बाँकेका उपसचिव किशोर थापालगायत दुई दर्जनको समूहले खोसेर लगेको थियोे । 

त्यसपछि उनीहरुले फेरि फर्किएर प्रहरीकै अगाडि सूचकमाथि बोतल, फलामको कुर्सीले प्रहार गरेको बताइन्छ । ती सूचकको टाउकोमा११ वटा टाँका लगाइएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । ‘यसविषयमा अनुसन्धान भइरहेको छ । हामीले एक जनालाई नियन्त्रणमा लिएका छौं । के भएको हो ? यो अनुसन्धानपछि थाहा हुन्छ’, कार्यालयका एक अधिकृतले भने ।

टिप्पणीहरू