मुख्यमन्त्रीको चेतावनीपछि पूर्व मुख्यमन्त्रीद्वारा लुसुक्क गाडी फिर्ता
लुम्बिनीका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले आफूले चढेको सरकारी गाडी फिर्ता गरेका छन् । २०७९ भदौ ३१ गते तत्कालीन मन्त्रिपरिषद्ले पूर्वविशिष्ट व्यक्तिहरुलाई लागि सरकारी सेवा–सुविधा उपलब्ध गराउन बनाएको कार्यविधिलाई देखाउँदै पूर्वमुख्यमन्त्रीहरु सोनाम, लीला गिरी, पूर्वसभामुख पूर्ण घर्तीलगायतले गाडी र चालकसहित अन्य सेवा सुविधा प्रयोग गर्दै आएका थिए ।
तर भदौ ६ गते बसेको चेतनारायण आचार्य नेतृत्वको मन्त्रिपरिषद्ले उक्त कार्यविधि खारेज गरेपछि पूर्व विशिष्ट व्यक्तिहरुले सरकारी सुविधा फिर्ता गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । मुख्यमन्त्री सोनामले उक्त खबर पाएको तीन हप्तासम्म पनि सरकारी गाडी फिर्ता गर्ने कुनै मनाशय नदेखाएपछि केही दिनअघि मुख्यमन्त्री आचार्यले प्रदेशको आर्थिक भार बढेको कारण फजुल खर्च रोक्न कार्यविधि खारेज गरिएको पुनः जानकारी गराएका थिए ।
उनले सोनामलाई सरकारी गाडी फिर्ता नगरे प्रहरी परिचालन गरेर फिर्ता ल्याउने चेतावनी दिएको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले जनआस्थालाई जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री आचार्यको उक्त चेतावनीपछि सोनामले गाडी फिर्ता गरेका हुन् ।
‘अस्ति कार्यालय बन्द हुनेबेलामा साँझपख उहाँ (सोनाम) को चालकले लु १ झ ७४५ नम्बरको स्कर्पियो बुझाउनुभयो’, ती कर्मचारीले भने ।
टिप्पणीहरू