हत्यामा संलग्न दुई जना समातिए

हत्यामा संलग्न दुई जना समातिए

काठमाडौँको सुन्दरीजलमा महिला हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३, बसुन्धरा बस्ने सिराहाकी राम दुलारीको हत्या आरोपमा सोही ठाउँ बस्ने सर्लाही घर भएका २४ वर्षीय सन्तोष राम महरा र ४० वर्षीय राम विनय महरालाई प्रहरीले पक्रेको जनाएको छ । 

गत बिहीबार गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलस्थित ढुंगाको चेपभित्र दुलारीको शव भेटिएको थियो । प्रहरीका अनुसार उनी मजदूरी गरी गुजारा चलाउँदै आएकी महिला हुन् । घटनाको अनुसन्धान गर्ने क्रममा मृतकको यकिन नाम थर खुल्ने केही विवरण तथा कागजात हालसम्म फेला नपरेको प्रहरी भनाइ छ । दुलारीको घरपरिवार र आफन्त पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।  

तर, विभिन्न प्राविधिक पक्ष र मानवीय सूचनाका आधारमा हत्यामा संलग्न ती दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले हिजो दुवै जनालाई बसुन्धरा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू