हिरासतमा भेट्न जानेलाई के भन्छन् रवि लामिछाने ?

हिरासतमा भेट्न जानेलाई के भन्छन् रवि लामिछाने ?

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुई सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । 

उनीविरुद्ध ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा मुद्दा चलाउने तयारीका साथ प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा अनुसन्धान गरिरहेको प्रहरीले बुटवलको सुप्रिम सहकारी घोटालामा पनि अनुसन्धान अघि बढाउन अदालतबाट अनुमति पाइसकेको छ । 

सूर्यदर्शनसँगै चितवनको सहारा, वीरगन्जको सानो पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा गएको रकम प्रवन्ध निर्देशकको हैसियतमा परिचालन गरेका उनी उम्किने सम्भावना कम देखिन्छ । तर,भिआइपी सुविधासहित प्रहरी हिरासतमा  रहेका लामिछानेले भेट्न जानेहरुलाई आफू छिट्टै छुट्नेमा ढुक्क रहन सन्देश दिने गरेका छन् । 

प्रहरीले पूर्वगृहमन्त्री तथा सांसदको हैसियतमा उनलाई अन्य थुनुवासँगै राखेको छैन । हिरासतको तेस्रो तलामा लामिछानेलाई एक्लै बस्ने प्रवन्ध मिलाइएको छ । दुई दिनअघि एसपी कार्यालयमा पुगेर उनलाई भेटेका कास्कीका एकजना जनप्रतिनिधिले अदालतबाट 'क्लिन चिट' पाउनेमा लामिछाने अचम्मैको आत्मविश्वासी देखिएको जनआस्थालाई बताए ।   

यसपटक शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जस्तो भीडको बलमा लामिछाने छुट्ने सम्भावना नरहेपछि सडक प्रदर्शनमा रहेको रास्वपाले सरकारसँग संवाद अघि बढाएको छ ।

'संसदीय विशेष छानविन समितिले मलाई सहकारीमा दोषी देखाएकै छैन',तर सत्ताले प्रतिशोध साँधेर पक्राउ गर्यो । यो राजनीतिक इश्यु हो,केही छैन म छुटिहाल्छु', लामिछानेसँगको संवाद उनले सुनाए । 

ग्यालेक्सी टेलिभजनको प्रवन्ध निर्देशकको हैसियतमा त्यहाँ भएको आर्थिक परिचालनको जिम्मेवारी लिने प्रतिवद्धता जनाउँदा जनाउँदै राजनीतिक प्रतिशोध साँधेर सहकारी ठगी र संगठित अपराधको मुद्दा लगाउन खोजिएको उनको दाबी रहँदै आएको छ । अदालत परिसरमै उनले प्रधानमन्त्री केपी ओलीप्रति चर्को आक्रोश जनाएका थिए । 

'ग्यालेक्सीमा कमजोरी भएको सन्दर्भमा छलफल गर्न सकिन्थ्यो, तर अहिले जे गरिएको छ यो त पूर्वाग्रह हो',केपी ओलीप्रति असन्तुष्टि जनाउँदै लामिछानेले भन्ने गरेका छन्, 'स्वार्थ कता के मिलाउनुपर्ने हो त्यो उहाँको आन्तरिक कुरा होला तर ममाथि अन्याय गरेको त सत्ताले हो नि !'

कांग्रेस महामन्त्री गगन थापाको राजनीति जोगाउन प्रधानमन्त्री ओलीले आफूलाई 'बलिको बोका बनाएको' उनको भनाईको आशय आफूले बुझेको ती जनप्रतिनिधिले बताए । 'यस्तै हो,नआत्तिनुस्' भनेर सान्त्वना दिनेहरुलाई लामिछानेले भन्ने गरेका छन्, 'केही छैन,मलाई पनि यो विषय आखिर टुंग्याउनु नै थियो । टुंगियोस् भन्ने हिसाबले नर्मल नै लिएको छु ।'

उनले सहजै छुटिहाल्छु भने पनि स्थिति त्यस्तो देखिंदैन । किनभने सहकारी ठगीमा समातिएका उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा पनि अनुसन्धान चलिरहेको छ । संगठितमा ६० र सम्पत्ति शुद्धिकरणमा ९० दिनसम्म प्रहरीले हिरासतमा राख्न पाउँछ । 

अर्कोतिर सूर्यदर्शन सहकारीको ठगी अनुसन्धानमा रहेका उनीविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत हिनामिना आरोपमा अदालतले पक्राउ अनुमति दिइसकेको छ । त्यसबाहेक बुटवल,चितवन,वीरगन्ज हुँदै काठमाडौँसम्मको चक्कर काट्नुपर्ने देखिंदैछ ।   

यसपटक शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जस्तो भीडको बलमा लामिछाने छुट्ने सम्भावना नरहेपछि सडक प्रदर्शनमा रहेको रास्वपाले सरकारसँग संवाद अघि बढाएको छ । उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारले अस्ति राति बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । भेटमा उनीहरुले हिरासतमा रहेका लामिछानेप्रति नरम भैदिन आग्रह गर्दै घुमाउरो ढंगले मुद्दा फिर्ता लिन माग गरेको एमाले नेताहरुले बताएका छन् ।

हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्न डोलप्रसादले गरेको प्रयास भने सफल नभएको बुझिएको छ।
 

टिप्पणीहरू