नेपाल भ्रमणको निम्तो कुर्दै भारतीय मुख्यमन्त्री

भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले सीमानाकामा सहजताका लागि राज्य सरकार प्रतिबद्ध रहेको बताएका छन् । बनबासास्थित एक कार्यक्रममा सहभागी मुख्यमन्त्री धामीले सञ्चारकर्मीसँगको कुराकानीमा उक्त कुरा बताएका हुन् ।

नेपालको सुदूरपश्चिमसँग जोडिएको भारतीय सीमानाका र विशेषगरी बनबासामा भारतीय सुरक्षाकर्मी तथा एसएसबीले सास्ती दिने गरेको विषयमा पत्रकार टेकसिंह धामीले मुख्यमन्त्रीसँग जिज्ञासा राखेपछि उक्त जानकारी दिइएको हो । सोही सन्दर्भमा मुख्यमन्त्री धामीले दुई देशका सीमा नाकामा सहजता प्रदान गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिइएको पनि बताए।

उनले तत्काल बनबासाका एसएसबी प्रमुखलाई नेपालको सशस्त्र प्रहरी बलसँग समन्वय गरेर सीमा नाकाको आवागमनमा सहजता प्रदान गर्न निर्देशन दिएका थिए ।

एक अर्को प्रसङ्गमा भने उनले आफूलाई नेपालबाट निमन्त्रणा आए चाँडै पशुपतिनाथको दर्शनका लागि भ्रमणमा आउने बताए । नेपाल भ्रमण तथा पशुपतिनाथ दर्शनको चाजोपाजो चाँडै मिलाइने उनले जनाए ।
 

टिप्पणीहरू