जहाँ प्रमुख प्रशासकीयको काम मेयरले गर्छन्
![जहाँ प्रमुख प्रशासकीयको काम मेयरले गर्छन्](https://janaaastha.prixacdn.net/media/albums/belbari_napa_hpzGNMjpY7.jpg)
‘नेपालीमा एउटा उखान छ– नपाउनेले के पायो बोक्रैसँग खायो ।’ बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद (डिपी) राई छन्, जसले बजेट पुस्तिकामा भएको रकम आफ्नो तजबिजमा मात्रै खर्च गर्न दिन्छन् । उनको एकलकाँटे प्रवृत्तिका कारण आफूलाई निर्वाचित गराउने पार्टी एमालेमा भने चरम असन्तुष्टि छ ।
यसअघि ज्ञानेन्द्र सुवेदी मेयर र गणेश दाहाल प्रमुख कार्यकारी अधिकृत हुँदा मेयरको तोकादेशबाट बजेट दिने काम रोकिएको थियो । तर पछि आपतकालीन अवस्थामा जनतालाई राहत दिन नपाएको भन्दै महिनामा डेढ लाखसम्मको बजेट दिने सहमति गरियो । अहिलेका मेयर दिलप्रसाद राई आएपछि शुरुमा त तोकादेशबाट बजेट नचलाउने भनियो ।
तर, अहिले दमकका गणेश कार्की प्रमुख कार्यकारी अधिकृत यहाँ आएको बेला कर्मचारीकै राय सुझावबमोजिम १५ लाख बजेट रिजर्भमा राखियो र मेयरले खर्च गर्न पाउने भनी तोकिएको सबै रकम महिना दिनमै स्वाहा भयो । हाल विनियोजित बजेटबाट जति पनि खर्च गर्न मेयरलाई अधिकार दिइएको छ । तैपनि, नगरपालिकाले अरुभन्दा पृथक् र विशेष कार्यक्रम वा योजना सञ्चालन गर्न सकेको छैन ।
मेयरले गरेको निर्णय (तोक आदेश) बाट गरिएको खर्च कार्यपालिका बैठकबाट अनुमोदन गराउनुपर्ने निर्णय गरिए पनि २०८० साउनयता खर्च गरेको रकम बैठकमा पेश गरिएको छैन । मेयरले बजेट खर्च गरेकै अवस्थामा अघिल्लो वर्ष बेलबारी नगरपालिकाको साढे १४ करोड फ्रिज भएको थियो ।
हुन त बेलबारी नगरपालिकामा मेयर एमालेका भए पनि कांग्रेसको बहुमत छ । उपमेयरसहित ११ वडामध्ये बहुमत वडाध्यक्ष कांग्रेसकै छन् । तर, पार्टीभन्दा बढी जातिलाई ध्यान दिने प्रवृत्तिका कारण बोलवाला भने एमालेकै चल्ने गरेको छ ।
– उपासना क्षेत्रीबाट
टिप्पणीहरू