सस्तोमा डलर साट्न खोज्ने महिलाकाे गुम्याे लाखौं
अमेरिकी डलर सस्तोमा सटही गरिदिने प्रलोभनमा एक जनाले लाखौं गुमाएका छन् भने ठगीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक बस्दै आएका सिन्धुपाल्चोकका ३७ वर्षीय विक्रम श्रेष्ठ र ५५ वर्षीय दिलबहादुर श्रेष्ठलाई प्रहरीले डलर साटिदिने प्रलोभनमा ठगेको आरोपमा नियन्त्रणमा लिएको छ ।
ओखलढुंगाकी पीडित महिलालाई उनीहरुले मंसिर १३ गते ह्वाट्स एपमार्फत अमेरिकी डलर सस्तोमा उपलब्ध गराइदिने प्रलोभनमा पारेका थिए । महिलाले उनीहरुको प्रलोभनमा साढे छ लाख रुपैयाँ गुमाएकी हुन् ।
ठगीमा संलग्नहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट एउटा स्कुटर र चार वटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू