सहसचिवलाई लखेटे सुब्बाले

सहसचिवलाई लखेटे सुब्बाले

बदमासी गर्ने सुब्बालाई तह लगाउन खोज्दा उल्टै हाकिम सेकिए ! भिजिट भिसाको नाममा बिचौलियासँग मिलेर झण्डै डेढ करोड रकम असुलेको आरोप लागेपछि एक जना कम्प्युटर अपरेटरको सरुवा गर्न खोज्ने सहसचिव उल्टै सेकिएका छन् । 

मन्त्रीका छोराको क्लास मेट सुब्बाले भएभरका भिटो प्रयोग गरेर आफ्नो सरुवा गराउन खोज्ने कार्यालय प्रमुखलाई हुत्याइदिएका छन् । यस्ता जब्बर र डन सुब्बा हुन् राजीव महतो । त्रिवि अध्यागमनमा कम्प्युटर अपरेटर उनी लामो समयदेखि त्यहीं थिए । यसअगाडि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय दरबन्दी राखेर होस् वा विपद् जोखिम प्राधिकरणमा नाम पठाएर अध्यागमन विभागमै काम गरिरहेका थिए । ०७८ भदौ ११ गते विपद् जोखिम प्राधिकरणमा काज सरुवा भएका उनी २०७८ चैत १४ को निर्णयानुसार पुनः काजमै अध्यागमन विभागमा पुगे ।

कार्यालय समय बाहिरै रमाउने गरेको गुनासोपछि तत्कालीन महानिर्देशक कोषहरि निरौला र अध्यागमन एयरपोर्टका हाकिम सुरेश पन्थीहरूको टोलीले अनुगमन गर्दा सिटमा भेटिएनन् । ऐनअनुसार स्पष्टीकरण सोधियो । स्पष्टीकरण दिन जरुरी ठानेनन् । भिजिट भिसाको नाममा एक करोडभन्दा बढी उठाएको आरोप खेप्दै आएका उनी न त कार्यालयमा उपस्थित भए न स्पष्टीकरण नै पेश गरे । बरु ६१ दिनपछि एकाबिहानै कार्यालय पुगेर हाजिरी लगाए ।

सिसी क्यामेरा चेक गर्दा बिहान ३ः०० बजे हाजिर गरेर हिँडेको भेटियो । निजामती सेवा ऐनमा ९० दिनसम्म बिनाकारण गयल भएको खण्डमा जागिरबाट हटाउन सकिन्छ । त्यसैबाट बच्नका लागि ६१ दिनमा एकपटक र ७५औं दिन एकपटक कार्यालयमा पुगेर हाजिर लगाएको भेटेसँगै अध्यागमन एयरपोर्टले क्यानलाई पत्र काटेसँगै पास रद्द भयो, हाजिर डिसएबल । 

अनि शुरु भयो खेलोमेलो । आफूविरुद्ध लाग्ने हाकिम सुरेश पन्थीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा गराइयो र कोषहरिलाई समय नपुग्दै त्यहाँबाट हटाएर तीर्थराज भट्टराईलाई लगिएको छ । बरु यो बीचमा तिनै सुब्बालाई जोगाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीकै सचिवालयबाट फोन लगाउने सिलसिला जारी छ । स्रोतका अनुसार, महतो र संघीय मामिला मन्त्री राजकुमार गुप्ताका छोरा एकै व्याची हुन्, एउटै कलेजमा पढेका । बदमासीमा मुछिएका महतोको सरुवा भूमि व्यवस्थापन विभागमा गरिएको भए पनि मन्त्रीको छोरामार्फत सरुवा उल्टाएर अहिले अर्थमा खटाइएको छ । यद्यपि सरुवा भएको कार्यालयबाट रमाना लिएका छैनन् ।

उता, अहिले अध्यागमन एयरपोर्टमा कार्यरत तीर्थराज भट्टराई र कांग्रेस नेत्री जीवन परियार पत्नी सीताले दरबन्दीभन्दा बढी अधिकृतलाई त्यहाँ लगेर थुपारिरहेका छन् । गृह स्रोतका अनुसार अध्यागमनमा ९ जना मात्र अधिकृतको दरबन्दी रिक्त रहेको भए पनि दुई लटमा गरेर ३६ अधिकृतलाई हाजिर गराइएको छ ।

यसरी लगिएकामा अधिकांश मन्त्रीको गृहजिल्ला र सुदूरपश्चिमतिरका अधिकृतहरू छन् । पोखरा, भैरहवा, रसुवा, सिन्धुपाल्चोकलगायत अध्यागमन कार्यालयमा दरबन्दीअनुसार अधिकृतस्तरका कर्मचारी नहुँदा एयरपोर्ट अध्यागमनमा दरबन्दीभन्दा दुई दर्जनभन्दा बढी अधिकृतलाई खटाइएको छ ।

टिप्पणीहरू