ककनीमा कसरी गयो कलेजकी छात्राको ज्यान ?
अहिले जाडोको समय छ । युवायुवतीहरु न्यानो हुने बहानामा क्याम्प फायर गरिरहेका हुन्छन् । तर, क्याम्प फायरमा हुने सामान्य लापरवाहीले कतिसम्म भयावह दुर्घटना निम्तिन्छ,एउटा उदाहरण हेरौँ ।
काठमाडौँ महानगरपालिका–६ बस्ने १९ वर्षीया गुनगुन तामाङ बौद्धस्थित जेभियर इन्टरनेशनल कलेजमा स्नातक (प्रथम वर्ष) अध्ययनरत थिइन् । गत पुस ८ गते कलेजले ‘ओरिएन्टेशन’ भन्दै उनीसहित करिब ७० जना विद्यार्थीलाई नुवाकोटको ककनी लग्यो । समूहमा १२ जना शिक्षक पनि थिए ।
त्यो दिन सबैका लागि ककनीस्थित नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्रको भवनमा बासको व्यवस्थापन गरिएको थियो । साँझ साढे ७ बजेतिर सबैले खाना खाए । त्यसपछि क्याम्प फायरमा जुटे । वीचमा आगो बालेर वरिपरि विद्यार्थीहरुले घेरा हाले । त्यत्तिकैमा नाच्ने र गाउने कुरा भयो । त्यसै क्रममा नाच्न उठेकी गुनगुन एक/दुई फन्को लगाउनेबित्तिकै भुइँमा ढलिन् । उनीसँगै ककनी पुगेकी एक विद्यार्थी भन्छिन्, ‘कुनै रोग थिएन, स्वास्थ्यमा कुनै समस्या पनि थिएन,तर एक्कासी नाच्दा–नाच्दै ढलिन् ।’
गुनगुन ढलेपछि शिक्षकले ‘जाडो लागेको होला,भित्र कोठामा लैजाऊ’ भने । ‘हामीले पनि सरले भनेपछि बोकेर भित्र कोठामा लग्यौँ’, उनले थपिन्, 'कोठामा पुर्याएपछि होशमा ल्याउन एक घण्टाजति साथीहरुले विभिन्न उपाय अपनाए । पल्स चेक गयौँ,सिपिआर दिने प्रयास गयौँ,पानी छम्कियौँ,तर होश आएन ।’
गुनगुन होशमा नआएपछि साथीहरुले बाहिर क्याम्प फायरमा झुम्मिएका शिक्षकहरुलाई हस्पिटल लैजान खबर गरे । त्यसपछि नजिकै रहेको सशस्त्र प्रहरीको सहयोगमा राति ११ बजे सामाखुशीस्थित ग्रिनसिटी हस्पिटल पुर्याइयो । विडम्बना !, हस्पिटल पुग्नेबित्तिकै डा.अनिश अधिकारीले मृत घोषणा गरे ।
के होला मुत्युको कारण ?
गुनगुनको पोस्टमार्टम रिपोर्टमा कुनै ‘स्ट्रोक’ वा ‘हर्टअट्याक’ नभई 'न्याचुरल डेथ' भएको बताइएको छ । अर्थात् आकस्मिक रुपमा स्वासप्रश्वास रोकिएपछि प्राकृतिक निधन भएको उल्लेख छ । तर,यता गुनगुनका अभिभावकले भने शिक्षकहरुको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।
क्याम्प फायरको क्रममा आगोमा तार्पिन तेल हालिएको र समयै उपचार नपाउँदा गुनगुनको मृत्यु भएको आफन्त विना थिङ तामाङ बताउँछिन् । ‘त्यहाँ आगोमा तार्पिन तेल (जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ) हालिएछ, त्यसको असर छेवैमा बसेकी नानीलाई पर्यो’, उनले भनिन्,‘नानी ढलेपछि शिक्षकहरु गम्भीर हुनुपर्थ्यो,तर,नानीहरुलाई भित्र पठाएर रमाइलो गर्नतिर लागेछन् ।’
आगोमा तार्पिन तेल हालिएको थियो कि थिएन ? क्याम्प फायरमै सहभागी मृतक गुनगुनकी उनै साथीलाई जनआस्थाले प्रश्न गर्दा भनिन्,‘सरहरुले बोटलको तेल आगोमा हाल्नु त भएको हो,तर त्यो के तेल हो,हामीले पत्तो पाउन सकेनौँ ।’
त्यस्तै,गुनगुन ढल्नेबित्तिक्कै अस्पताल लैजानुपर्नेमा शिक्षकहरु मदिरा सेवनमा व्यस्त रहेका कारण दु:खद घटना घटेको आफन्तको दावी छ । यसबारे सोध्दा गुनगुनकी उनै सहपाठी भन्छिन्, ‘हाम्रो आँखा अगाडि त खाएको देखेनौँ, तर पछि गाडीमा सामाखुशी ल्याउँदा गन्ध चाहिँ आइरहेको थियो ।’
कलेजले विद्यार्थी बोकेको बस सोही दिन काठमाडौँ फर्काएको र राति तत्काल गाडी नपाएका कारण समयमै अस्पताल पुर्याउन नसक्नु दुर्घटनाको अर्को कारण देखेका छन् मृतकका आफन्तले ।
झण्डै तीन घण्टापछि मात्रै हस्पिटल पुर्याइएको देखियो । एक घण्टासम्म अचेत अवस्थामा रहेको बिरामीलाई त्यो समयभित्र प्राथमिक उपचार दिएर हस्पिटल पुर्याएको भए डाक्टरले बचाउन सक्थे ।’
चिकित्सकले भने अत्याधिक कार्बनमोनोअक्साइडको कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन् । तार्पिन तेल मानव स्वास्थ्यका लागि विषसरह हुने बताउँदै डा.बसन्त थापा थप्छन्, ‘यो तेल आगोमा हाल्दा कार्बनमोनोअक्साईड उत्पन्न हुन्छ । त्यसले मानिसलाई अचेत बनाउँछ र अचेत अवस्थामै मृत्यु पनि हुनसक्छ ।’
यस्तो अवस्थामा बिरामीलाई तत्कालै अस्पताल पुर्याउनुपर्ने बताउँदै उनले 'डिले उपचार’ मृत्युको कारण हुनसक्ने औँल्याए । 'त्यहाँको वस्तुस्थितिलाई नियाल्दा केही कमजोरी भएको देखिन्छ । नानी ढलेपछि तुरुन्त प्राथमिक उपचार दिनुपर्थ्यो । र,सकेसम्म चाँडै हस्पिटल पुर्याउनुपर्थ्यो’, डा. थापाले अगाडि भने, ‘तर, झण्डै तीन घण्टापछि मात्रै हस्पिटल पुर्याइएको देखियो । एक घण्टासम्म अचेत अवस्थामा रहेको बिरामीलाई त्यो समयभित्र प्राथमिक उपचार दिएर हस्पिटल पुर्याएको भए डाक्टरले बचाउन सक्थे ।’
के भन्छ कलेज ?
कलेज व्यवस्थापनले भने गुनगुनको ‘नेचुरल डेथ’ भएको दावी गर्दै आफूहरुको कमजोरी नभएको बताएको छ । पोस्टमार्टम रिपोर्टमा त्यो स्पष्ट रहेको भन्दै कलेज सञ्चालक लोकबहादुर भण्डारीले अभिभावकको दावीमा कुनै सत्यता नरहेको जिकिर गरे । उनले भने, ‘ती नानीको पोस्टमार्टम रिपोर्ट अभिभावकले पाइसक्नुभएको छ,प्राकृतिक निधन भएको हो ।’
अभिभावकले कानुनी उपचार खोज्ने बताइरहँदा भण्डारीले भने कमजोरी प्रमाणित भए सजाय भोग्न तयार रहेको पनि स्पष्ट पारे । ‘हाम्रो कमजोरीको कारण नानीको मृत्यु भएको पुष्टि भयो भने कारवाही वा सजाय भोग्न तयार छौँ’, उनले थपे ।
टिप्पणीहरू