उतिबेलै यति अचम्मलाग्दो प्रेम प्रस्ताव

शोभना समर्थ मराठी अभिनेत्री तथा गायिका रतन बाइकी छोरी हुन् । हिन्दी चलचित्रका अभिनेत्रीद्वय नुतन र तनुजाको आमा, अभिनेत्रीद्वय काजोल, तनिषा र अभिनेता मोहनिश बहलका बज्यै, नव प्रतिभा निसा र युग देवगनका जिजु बज्यै । शोभना आफैँ पनि हिन्दी चलचित्र जगतकी सिद्धहस्त अभिनेत्री, निर्देशक र निर्माता हुन् जो हिन्दी चलचित्र उद्योग नफस्टाउँदै कलाकारितामा होमिइन् र १९५० को दशकसम्म उक्त क्षेत्रमा क्रियाशील रहिन् । शोभनाले सन् १९३५ मा प्रदर्शित मराठी भाषाको चलचित्र ‘निगाहें नफरत’ बाट अभिनय यात्रा शुरु गर्दा उमेर थियो १८ वर्ष । अचेल वार्षिक १ हजार ५ सयदेखि २ हजार वटासम्म चलचित्र निर्माण हुने भारतमा सन् १९१३ देखि मात्र कथानक चलचित्र बन्न थालेको हो । त्यतिबेलाको चलचित्र सबै नबोल्ने हुन्थ्यो । सन् १९३१ मा प्रदर्शित ‘आलम आरा’ पहिलो बोल्ने चलचित्र हो । यस अर्थमा शोभना शुरुमै चलचित्रमा अभिनय थाल्नेमध्येकी हुन् ।
सन् १९३५ मै सागर मुभिटोन कम्पनीले ‘दो दिवाने’ शुरु गर्यो । नायिकामा शोभनालाई लिइयो भने नायक मोतीलाल छानिए । शोभनाको यो तेश्रो चलचित्र थियो भने मोतीलालको आठौं । छायांकनकै दौरान मोतीलाललाई शोभना मन परिन् । २५ वर्षका मोतीलाल गोरो वर्णका थिए, आकर्षक ब्यक्तित्वका उनी सधैँ ह्याट लगाउँथे । गाडी तेज रफ्तारमा चलाउनु, घोडादौडमा भाग लिनु र हवाइजहाज चलाउनु सोख थियो । युवावस्थामै पाइलटको लाइसेन्स प्राप्त गरिसकेका थिए । रंगिन स्वभावका थिए । त्यसबेला सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार उनै थिए । चलचित्र रिलिज हुनुअगावै दुबै घनिष्ट साथी बने । दुबैको स्वभाव उस्तै थियो । शोभना पनि स्वच्छन्द स्वभावकी । मनलाग्दी हिँड्थिन्, खुलस्त बोल्थिन् । मोतीलालसित मित्रता जोडिएको समय शोभनाले बिहे गरिसकेकी थिइन् तर सन्तान जन्मेको थिएन । उता, मोतीलाल त्यसबखत अविवाहित नै थिए ।
शोभना विवाहिता भन्ने थाहा पाउँदापाउँदै मोतीलालले प्रेम प्रस्ताव राखे तर शोभनाले चासो देखाइनन् । यसबीच, दुबैले ‘कोकिला’ र ‘विजयलक्ष्मी’ मा काम गरे । त्यसबेलासम्म शोभना दुई छोरी नुतन र तनुजाकी आमा बनिसकेकी थिइन् । ८–९ वर्ष बितिसक्दा पनि शोभनाले मोतीलाललाई प्रेमी मानेकी थिइनन् । यद्यपि, दुवै जना असल मित्र भने थिए । दिनहुँ भेट्थे, हँसिमजाक गर्थे, बाझ्थे । झगडा पनि ठूलै हुन्थ्यो, आइन्दा कहिल्यै नभेट्ने भनेर छुट्टिन्थे तर भोलिपल्ट बिहानै कहिले शोभना मोतीलालको घर पुगिसकेकी हुन्थिन् भने कहिले मोतीलाल शोभनाको घरमा देखापर्थे । लगातार शोभनाको तिरस्कारपश्चात् मोतीलाल केही समय अर्की अभिनेत्री नादिरासित प्रेम गर्न पुगे । नादिरा इराकको राजधानी बग्दादमा जन्मेकी भारतीय चलचित्रकी हिरोइन् थिइन् । तर नादिरासितको प्रेम सम्बन्ध चाँडै टुट्यो । उनी फेरि शोभनाकै नजिक पुगे । शोभना लगातार चलचित्रमा अभिनय गर्दै थिइन् भने ३ वटी छोरीकी आमा उनको पेटमा चौथो सन्तान थियो ।
त्यतिञ्जेलसम्म शोभना र लोग्ने कुमारसेन समर्थबीच कलह शुरु भइसकेको थियो । एउटा कारण मोतीलाल थिए, किनभने ती दुई लोग्नेस्वास्नीसरह सँगसँगै हिँड्न थालेका थिए, यद्यपि, शोभनाले मोतीलालको प्रेम प्रस्तावलाई भने स्वीकारेकै थिइनन् । अर्थात् दुबैको सम्बन्ध अनौठो प्रकारले अघि बढिरहेको थियो । स्मरणीय छ, कुमारसेन चलचित्र निर्देशक र मराठी कवि थिए । शोभना चलचित्रमा खेल्न लालायित रहे पनि मामाले खेल्न दिइरहेका थिएनन् । त्यसबखत आमाबुबासहित मामाको घरमा बस्थिन् । त्यसो त बुबा प्रभाकर ‘शिलोत्री बैंक’ का मालिक थिए तर व्यवसायमा असफल बनेपछि ससुरालीमा शरण लिन पुगे । मामा हक्की स्वभावका थिए । उनको मान्यता थियो – भाञ्जीले चलचित्रमा काम थालिन् भने उनलाई कसैले बिहे गर्दैनन् । त्यस्तो अवस्थामा नाताले दाजु पर्ने कुमार सेनले चलचित्रमा काम गर्ने भए गर, अरुले बिहे गरेनन् भने तिमीलाई मै लान्छु भनेर ढाडस दिँदै चलचित्रमा खेल्न लगाएका थिए । नभन्दै परिवारको विरोधका बावजुद दुबैले कोर्टमा गई बिहे गरे र बल्ल शोभनाले चलचित्र क्षेत्रमा प्रवेश गर्न पाइन् । शोभनाको नाउँ त सरोज शिलोत्री थियो । चलचित्रमा खेलाउने बेला कुमारले नै शोभना समर्थ राखिदिएका थिए ।
मोतीलाल जिद्दी स्वभावका थिए । लगातारको प्रयासबाट पनि शोभनालाई आफ्नो बनाउन नसकेपछि एकदिन प्रेम प्रस्ताव राख्ने अनौठो तरिका अपनाउने सोच बनाए । एउटा हेलिकप्टर भाडामा लिए । पाइलटको लाइसेन्स त थियो नै । हेलिकप्टर उडाएर शोभना बसेको घरमाथि चक्कर लगाउन थाले । त्यसपछि लेखेर ल्याएको प्रेमपत्रसँग एउटा ढुंगा पोको पारे अनि झ्यालभित्र फाले । झ्यालको सिसा फुट्यो र ढुंगोसँगै पत्र कोठाभित्र खस्यो । शोभनाले कागज उठाएर हेर्दा त्यसमा लेखिएको थियो – ‘आइ लभ यु ।’
आफूलाई पाउन अथक प्रयास गर्दै गरेका र त्यत्रो जोखिम मोलेर प्रेमप्रस्ताव राख्न पुगेका मोतीलालको पछिल्लो प्रयासबाट भने शोभनाको मन पग्लियो । र, प्रस्ताव स्वीकारिन् । यसपछि भने निर्धक्कसित दुबैजना लोग्नेस्वास्नीसरह बस्न थाले । त्यसबेलासम्म शोभना र कुमार कानुनी तवरमा सम्बन्धविच्छेद भने भइसकेको थिएन । शोभना र मोतीलालले पनि सम्बन्धलाई समाजबाट कहिल्यै लुकाएनन् । खुल्लमखुला पतिपत्नीसरह जीवन बिताए । यहाँसम्म कि शोभनाकी छोरी नुतनको बिहेमा कन्यादानसमेत उनैले गरे । यसअघि शोभनाले पुत्री नुतनलाई फिल्म क्षेत्रमा प्रवेश गराउने हेतुले एउटा चलचित्र बनाएकी थिइन् – ‘हमारी बेटी’ । नुतनको यो नै पहिलो फिल्म थियो । उनी १४ वर्षकी थिइन् । यसअघि उनले एउटा चलचित्र नल दमयन्तिमा बाल कलाकार भई खेलेकी थिइन् । चलचित्र हमारी बेटीमा नुतनकी आमाको भूमिकामा सोभना स्वयं थिइन् भने बाबुको भूमिका भने मोतीलालले नै निभाएका थिए । मोतीलाल र शोभनाको यो सम्बन्ध लामो समयसम्म चल्यो । कुमारसितको सम्बन्धविच्छेदपछि त झन् मजबुत बन्यो ।
मोतीलाललाई हिन्दी सिनेमा जगतमा सजीव अभिनय गर्ने पहिलो कलाकारको रूपमा लिइन्छ । शिक्षित परिवारका उनी जलसेनाको क्याप्टेन बन्ने हेतुले मुम्बई पुगेका थिए तर परीक्षाको बेला बिरामी परेपछि सपना तुहियो । त्यसपछि हल्लिँदै गर्दा र एउटा सुटिङ हेर्दै गर्दाको समयमा निर्देशक केपी घोषले देखेपछि चलचित्रमा खेलाएका थिए । त्यसपछि सन् १९३४ मा प्रदर्शित ‘शहरका जादू’ मा हिरो बनेका उनले ५७ वटा चलचित्रमा अभिनय गरे भने एउटा चलचित्र पनि बनाए । उनको अभिनयका प्रशंसक दिलिपकुमार, राजकपुर पनि थिए, दिलिपकुमार त उनलाई अभिनयमा आफ्नो गुरु नै मान्थे । गायक मुकेशलाई चलचित्रमा प्रवेश गराउने उनैह हुन् । नातामा मुकेश भतिज थिए । उनको निधन सन् १९६५ मा ५४ वर्षको उमेरमा भइसकेको छ । जीवनको अन्तिम घडीमा निर्धनको जीवन जिउन पुगेका उनले अभिनयतर्फ धेरै पुरस्कार जितेका छन् । उता शोभनाले भने आफ्नै पुत्री नुतनबाट पीडा भोगिन् । सम्पत्तिको कुरालाई लिएर उनलाई अदालतसम्म तानेर लगिन् । यसबाट आमा–छोरीबिचको सम्पूर्ण सम्बन्ध टुट्यो । शोभनाको निधन सन् २००० मा भयो भने नुतनको सन् १९९१ मै भइसकेको थियो । शोभनाले कूल ३३ वटा चलचित्रमा अभिनय गरेकी थिइन् । सन् १९४३ मा चलचित्र ‘रामराज्य’ मा सीताको भूमिका निभाएपछि उनलाई दर्शकले साँच्चिकै सीता मान्न थालेका थिए । सीताको रूपमा क्यालेण्डरमा समेत देखा पर्न थालेकी थिइन् । जनता घरको भित्तामा फोटो झुण्ड्याएर उनको पूजा गर्नसम्म पछि परेनन् ।
टिप्पणीहरू