कसले चलाउँछ नेपाल प्रहरी ?

कसले चलाउँछ नेपाल प्रहरी ?

जागिरबाट अवकाशप्राप्त वा राजनीतिक हस्तक्षेप भएको भन्दै राजीनामा दिने प्रहरीका केही उच्चपदस्थ अधिकृतले पछिल्लो समय राजनीतिक जीवन अपनाउन थालेका छन् । यस्ता अधिकृतले सेवामै हुँदा राजनीतिक करिअर बनाउने कसरत थाल्ने गर्दछन् । यसै श्रृंखलाको थप कडीका रूपमा अहिलेका महानिरीक्षक वसन्तबहादुर कुँवर देखिएका छन् ।

२०८४ सालको निर्वाचनमा कुँवरले अर्घाखाँची जिल्लाबाट कांग्रेस उम्मेदवार हुने तयारी शुरु गरेका छन् । यसनिम्ति अर्घाखाँचीको आफ्नो गाउँमा ६ कोठे आवासगृह निर्माण गरिरहेका छन् । सो कामका लागि कपिलवस्तुका ट्राफिक प्रहरीलाई व्यापक रूपमा परिचालन गरिएको बताइन्छ । उनकी पत्नी लक्ष्मी भने काठमाडौंस्थित पञ्चकन्या आधारभूत विद्यालयमा शिक्षिका रहेकी छन् । प्रहरी परिवार महिला संघको अध्यक्ष भएपछि उनी अध्यापन बिदा लिएर बसेकी छन् ।

वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा १३ नम्बरमा रहेका कुँवरलाई तत्कालीन आइजिपी धीरजप्रताप सिंहले एक नम्बरमा उकालेर डिआइजी बनाएका थिए । यो प्रकरणलाई नेपाल प्रहरीमा ‘न भूतो न भविष्यति’ वाला घटनाको रूपमा लिइन्छ । आइजिपी भएको केही महिनासम्म त सिंहले दाहिने, देब्रे जता फर्की भने पनि कुँवर त्यतै फर्किन्थे । पछिल्लो समय आफ्नो सल्लाहलाई कुँवरले नजरअन्दाज गर्न थालेपछि गाली गर्न थालेको दाबी स्रोतको छ । त्यसो त कुँवरमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित रवि लामिछानेलाई राम्रैसँग जोगाउन भरमग्दुर प्रयत्न गरेका थिए । 

केरकारको हाकिम हुँदा कुँवरले आफ्नै भेग रुपन्देहीका बालकृष्ण खाँणलाई जोगाउन र आफ्नै जिल्लाका एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जेल हाल्न राम्रै भूमिका खेलेको आरोप पनि लाग्न थालेको छ । यसका पछाडि कुँवर र रायमाझी एउटै निर्वाचन क्षेत्रको भएका र २०८४ सालमा उनी आफैसँग प्रतिस्पर्धी हुने दह्रो सम्भावनालाई ध्यानमा राखेको हुनुपर्छ । 

कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनक्रममा सानु भण्डारी र केशव दुलाललाई हिरासतमा राखे पनि कारवाही नगरिकनै छोडेका थिए । यसको मुख्य कारण पश्चिम दाङका सन्देश शर्मा हुन् । त्यसबेला उजुरी दिने ८३ जना नै दाङका पीडित थिए । सन्देश शर्मा पक्राउ परेपछि मात्रै यो मुद्दा अघि बढेको हो । अहिलेसम्मका आइजिपीमध्ये कुँवरलाई अत्यन्तै रुखो बोलीवाला पात्रको रूपमा चित्रण गर्न थालिएको छ । उनलाई सल्लाह दिने भने बिनाबर्दीका तीन जना सिपाही मदन भण्डारी, सुधाकर राजेश र चितवनको स्कुपखबर अनलाइनका सम्पादक सुजन पन्त हुन् भनिन्छ । भण्डारीकै बल र भनसुनमा कुँवरले नवीन पौडेललाई डिएसपी बनाए । अहिले भण्डारी र कुँवरको राम्रो छैन । भण्डारीसँग सम्बन्ध बिगे्रेपछि कुँवरले सुधाकर राजेशसँगको सम्बन्धलाई तरोताजा राखेको सुनिन्छ । 

जिल्ला र गाउँघरतिर घुमफिर गर्नका लागि कुँवरले यिनलाई सवारी साधन पनि उपलब्ध गराउँदै आएका छन् । सुधाकरलाई धीरजप्रताप सिंहले पनि गुरु भन्ने गर्थे । बाँके, दाङ र बर्दियाका प्रहरीको अह्रनखटनमा सुधाकरको मुख्य भूमिका हुँदै आएको चर्चा छ । नेपालगञ्ज, गुलरिया र तुलसीपुरस्थित एसपीहरू सुधाकरदेखि आजित छन् । त्यसमा पनि बाँकेका तुलबहादुर कार्की विशेष पीडित भएको बताइन्छ । हाकिमहरूले पीरमर्का सुनाउँदा झडङ्ग रिसाउँदै अश्लील गाली गर्ने भएकाले पीडित अधिकृतहरु त्यसै चाउरिएर बस्न बाध्य भइरहेको बुझिन्छ । रोल्पातिर घर भएका सुधाकरले दलालीमार्फत बनाएको घर नेपालगञ्जमा पनि छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग पनि बेलाबेला आवतजावत गरिरहन्छन् । बाँकेका माननीय किशोरसिंह राठौरसँग पनि घुलमिल मज्जैको छ । 

कुँवरलाई रवि लामिछानेले पछिल्लो समय यो झल्लु रैछ, योभन्दा त बरु श्याम ज्ञवाली नै ठीक, यसले मलाई हैरान पा¥यो भन्ने गरेका थिए । त्यसैकारण कुँवरलाई हटाएर ज्ञवालीलाई आइजी बनाउने तरखर लामिछानेले शुरु गर । पछि आफैँविरुद्ध षड्यन्त्र गर्ने ज्ञवालीविरुद्ध गठित एआइजी टेकप्रसाद राई नेतृत्वको छानबिन समितिको प्रतिवेदन बेकामे बनाएर यिनै कुँवरले अभयदान दिए । ज्ञवाली कुँवरकै भेगका हुन् ।

यसका पछि सेवा निवृत्त भएर राजनीति गर्ने अभिष्ट नै मुख्य कारण हुन सक्छ । त्यसो त पूर्व आइजिपी ध्रुवबहादुर प्रधानदेखि सर्वेन्द्र खनालसम्म राजनीतिमा उत्रेकै छन् । आफै दल खोलेर अध्यक्ष हुनेमा पूर्वएसएसपी रमेश खरेल पर्छन् । 

 

टिप्पणीहरू