हिम्मत भए समातेर कारबाही गरे हुन्छ

व्यक्ति एक, राहदानी अनेक ! एउटै व्यक्तिसँग दर्जन राहदानीभन्दा धेरैलाई आश्चर्य लाग्ला । तर, विशिष्टमा गनिनेहरूले नै मुलुकको राहदानीलाई पत्रु बनाएको चरम नमुना हो यो । जनतालाई ‘रुल अफ ल’ सिकाउनेहरूद्वारा नै कानुनको चरम बर्खिलाप भइरहेको पछिल्लो प्रमाण भेटिएको छ । राहदानी नियमावली, २०७७ को नियम १० मा विशेष वा सरकारी काममा जाने व्यक्तिलाई कूटनीतिक राहदानी दिइने उल्लेख छ । त्यस्ता राहदानी धारकलाई एउटा साधारण राहदानी लिन पाउने व्यवस्था पनि छ । तर, यसबीच कानुनको धज्जी उडाउँदै माननीयको दर्जा प्राप्तहरुले नै दर्जनौँ राहदानी दुरुपयोग गरेको खुलेको छ । ती राहदानीको आडमा कस्तोसम्म धन्दा चल्दो हो ? तिनले लुगासरी किन राहदानी फेर्दा हुन् ?
कूटनीतिक राहदानीसमेत भएका एकनाथ ढकाल, समिम मियाँ अन्सारी र विनोद चौधरीको कथा हो यो । यीमध्ये चौधरीले त आलोपालो १० वटा राहदानी प्रयोग गरेर सन् २०१४ को मार्च २७ देखि २०२२ जुन १ सम्म १९१ चोटि विदेश भ्रमण गरेको पाइएको छ । गत बुधबार प्रधानमन्त्री केपी ओलीलाई एमालेनिकट कर्मचारी संगठनका तर्फबाट बुझाइएको संक्षिप्त रिपोर्टअनुसार चौधरी त्यसमध्येको एउटा राहदानीबाट निजी व्यापारिक कामका सिलसिलामा ७० र अर्कोबाट १० चोटि विदेश पुगेका छन् । त्यसक्रममा कूटनीतिक राहदानीे पनि प्रयोग गरेको भेटिएको छ ।
जबकि उनले सरकारबाट अफिसियल यात्राका निम्ति स्वीकृति लिएको पाइँदैन । यसैबाट पनि उनले कूटनीतिक राहदानी दुरूपयोग गरेको प्रष्ट हुन्छ । नागरिकता नम्बर १०६०–१००९७६ भएका उनको कूटनीतिक राहदानी नम्बर ००२८८५० हो । त्यसैगरी, उनको तीन वटा साधारण पासपोर्ट जनआस्थाको हात लागेको छ । १०५८९४४२, ११८१६९६९, बिए०००६२९८ नम्बरको राहदानी बारम्बार प्रयोग गरेका छन् । ट्राभल हिस्ट्री हेर्दा सबैभन्दा बढी भारत र श्रीलंका गएको देखिन्छ जहाँ उनी वाइवाई चाउचाउ र होटलको कारोबार गर्छन् । रोचक प्रसंग त के भने चौधरी र उनका जेठा छोरा निर्वाणकुमार पनि हाल तीन वटा राहदानीवाहक हुन् । विनोद चौधरीको एउटा कूटनीतिक राहदानीको म्याद सकिइसकेको छ । सन् २०१८ अप्रिल ५ मा जारी भएको राहदानी सन् २०२३ अगस्ट ४ सम्म भ्यालिड थियो । एउटा राहदानी सन् २०१७ अक्टोबर १७, अर्को सन् २०२० जनवरी १३ र सन् २०२२ मे ३० मा जारी भएको छ । ती राहदानीको भ्यालिडिटी क्रमशः सन् २०२७ अक्टोबर १६, सन् २०३० जनवरी १२, सन् २०३२ मे २९ सम्मै रहेको छ । एउटा राहदानीको डेट एक्सपायर नहुँदै अर्को राहदानी लिनुको पछाडि के कारण होला ?
३९५२–४२९०८ नागरिकता नम्बर भएका निर्वाणले सन् २०२० जनवरी ७ मा एउटा राहदानी लिएका छन् । ११८०५९१७ नम्बर भएको सो राहदानीको म्याद सन् २०३० जनवरी ६ सम्म छ । उनले हरेक दुई वर्षको अन्तरमा नयाँ राहदानी लिएको देखिन्छ । सन् २०२२ जुलाई ५ मा बिए०००६५४५ नम्बर भएको राहदानी निकालिएको छ । जसको म्याद सन् २०३२ जुलाई ४ सम्म छ । बिए०३८८१०३ नम्बर वाला राहदानी अघिल्लो वर्ष लिएको देखिन्छ । सन् २०२४ नोभेम्बर १८ मा प्राप्त राहदानीको म्याद सन् २०३४ नोभेम्बर १७ मा बल्ल सकिन्छ । उनी पालैपालो ती राहदानी प्रयोग गरेर विदेश पुगेका छन् । एउटा पार्टीको अध्यक्ष भएर अर्को पार्टीबाट समानुपातिक सांसद बन्ने एकनाथ ढकालसँग पनि पाँच वटा पासपोर्ट भेटिएको छ । नेकपा एमालेका होलीवाइन सांसदको रूपमा परिचित उनीसँग दुईटा कूटनीतिकसहित तीन वटा साधारण राहदानी छ । ५ मध्ये जेठी छोरीले विद्रोह गरेपछि उनलाई अघिल्लो महिना काउन्सिलिङका नाममा मामाघर पठाएका र फिलिपिनी महिलाका श्रीमान् उनी नेपाल परिवार दलका अध्यक्ष हुन् । आफूलाई क्रिश्चियन धर्मको अगुवा बताउने गोरखाका ढकालको नागरिकता नम्बर ३४८७४ रहेको छ । उनको पनि ट्राभल हिस्ट्री एकदमै अस्वाभाविक देखिन्छ । सन् २०२४ अक्टोबर ४ मा जारी भएको डिए०००१५९८ नम्बरको कूटनीतिक राहदानीको म्याद सन् २०२८ अक्टोबर ३ सम्म छ ।
अर्को कूटनीतिक राहदानीको नम्बर डिए००००६५८ हो । सन् २०२२ डिसेम्बर २९ मा जारी भएको राहदानी सन् २०२८ जुन २८ सम्मै भ्यालिड छ । त्यसैगरी, ११६१६१९३ वाला राहदानी सन् २०१९ सेप्टेम्बर १९, १२०१८३४७ नम्बरको राहदानी सन् २०२० डिसेम्बर १५, बिए०००९०५० भएको राहदानी सन् २०२२ डिसेम्बर २२ मा जारी भएको देखिन्छ । ती पासपोर्टको भ्यालिडिटी क्रमशः सन् २०२९ सेप्टेम्बर १८, २०३० डिसेम्बर १४ र २०३२ डिसेम्बर २१ रहेको छ । उनी हरेक हप्ता विदेश गइरहन्छन् । फिलिपिन्स ससुराली भएका उनी थाइल्याण्ड, दक्षिण कोरिया र अमेरिका धेरै जान्छन् । के कारणले त्यता धाउने हुन् ? चासोको विषय बनेको छ । आरोपअनुसार उनले क्रिश्चियन धर्मको नाममा डलरको खेती गर्दै आएका छन् । क्रिश्चियन धर्म उत्थानको बहाना बनाएर वर्षौंदेखि विदेशबाट पैसा ल्याई अरु दलको टिकट फुत्काउनमा खपत गरिरहेको स्रोत बताउँछ ।
यसरी नै तीन वटा राहदानी दुरुपयोग गर्ने अर्का माननीय हुन्, समिम मियाँ अन्सारी । नेपालमा बसोबास गर्दै आएका ५.९ प्रतिशत अर्थात् १४ लाख ८३ हजार ६६ जना नागरिकको हकहितका लागि गठित ‘मुस्लिम आयोग’ का अध्यक्ष उनीसँग दुईवटा कूटनीतिक र एउटा साधारण राहदानी छ । ७३८४–८७१ नागरिकता नम्बर भएका उनी एमाले पृष्ठभूमिका हुन् । विवादित छविका उनको विदेश यात्रा हेर्दा जो–कोही तीनछक्क पर्न सक्छ । काठमाडौंका स्थायीबासी उनको साधारण राहदानी सन् २०२२ मे २६ मा जारी भएको छ । बिए०००६२२४ नम्बर भएको सो पासपोर्टको अवधि सन् २०३२ मे २५ सम्म छ । उनका नाममा सन् २०१९ नोभेम्बर ८ मा ००३००३९ नम्बरको कूटनीतिक राहदानी जारी गरिएको छ । जसको भ्यालिडिटी २०२६ अप्रिल ७ सम्म रहेको छ । अर्को कूटनीतिक पासपोर्ट डेढ वर्षअघि इस्यु भएको थियो । सन् २०२३ नोभेम्बर ३ मा जारी भएको सो पासपोर्टको म्याद २०२६ नोभेम्बर २ मा सकिन्छ । पासपोर्ट नम्बर डिए०००१११५ रहेको छ । उनले हरेक पल्ट विदेश जाँदा अलगअलग पासपोर्ट प्रयोग गर्दै आएको फेला परेको छ । सन् २०१४ को अप्रिल ८ देखि हालसम्म अन्सारीले एक सयभन्दा बढीपटक विदेश यात्रा गरेका छन् । उनी सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स र दुबई पुगेका छन् । भारत, सिंगापुर, साउदी अरेबिया, सर्बिया, रोमानिया, इटाली, नर्वे, कजाकस्तानलगायत मुलुक घुमिसकेका उनी नै माघ १० गते फ्लाई दुबईको उडानमार्फत गएर २ दिनपछि १२ गते (नेपाल) फिर्ता भएका छन् । दुई रातका लागि दुबई पुगेका उनको वैदेशिक भ्रमणको खर्चलाई लिएर बेलाबखत प्रश्न उठिरहेको हुन्छ । मुलुकको विशिष्ट व्यक्ति र संवैधानिक निकायका प्रमुख पटक–पटक विदेश भ्रमणमा जाँदाको टिकट, होटल बसाइ, घुमघामलगायत अन्य खर्चको स्रोत के ? बारम्बार विदेश जानुपर्ने आवश्यकता के ? विदेश आउजाउ गरिरहन सरकारबाट इजाजत लिएका छन् कि छैन ? अनेकौँ सवाल खडा भएको छ ।
मुस्लिम आयोगको क्षेत्राधिकार नेपाल हो । सरकारले यहीँका मुस्लिमको लागि काम गर भनेर आयोग खडा गरेको हो, अध्यक्षमा नियुक्त गरेको हो । मुस्लिमहरूको हकहितका निम्ति आयोजित कार्यक्रममा सहभागिता जनाउन विदेश जानु एउटा कुरा । तर, मुस्लिम आयोगको अध्यक्ष नेपालभन्दा बढी समय विदेशमा किन हुन्छन् ? कुनै पनि संवैधानिक निकायको अध्यक्ष यसरी खुसुखुसु विदेश जाँदा सरकारबाट अनिवार्य अनुमति प्राप्त हुन्छ कि हुँदैन ? स्वीकृतिबेगर जानेमाथि कारबाही गरिन्छ कि गरिन्न ? महिनामै दर्जनौंपटक विदेश पुग्ने मियाँले सरकारबाट अहिलेसम्म कतिपटक स्वीकृति लिए ? के आपत आइलागेर उनी पटक–पटक विदेश जान्छन् ? सांसद वा संवैधानिक पदाधिकारी कहीँ जाँदा वा केही बोल्दा मर्यादाको ख्याल गर्नै पर्ने हुन्छ । निजी कामको लागि कूटनीतिक राहदानी प्रयोग गर्न पाइँदैन । विडम्बना, कानुन निर्माणकर्ताहरूबाटै कानुनको चरम उपहास भइरहेको छ । कार्यालयबाट घर गएजसरी फुत्तफुत्त विदेश गइरहन्छन् । उनीहरूले कानुनको गम्भीर उल्लंघन गर्दा राज्य टुलुटुलु हेरेर बसेको छ । अख्तियारका एक पूर्वअधिकृतले उनीहरू विदेश भ्रमणमा जानुको कारण जनआस्थासँग भने, ‘विनोद चौधरी त उद्योगपति भए, व्यापार गर्न र हिसाब मिलाउन गएका होलान् तर समिम मियाँ र एकनाथ ढकालको आय स्रोत के ? खर्च व्यहोर्ने को ? आफ्नै खर्चमा गएका रहेछन् भने सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने कि नलाग्ने ? माननीयको तलबले बारम्बार विदेश जान भ्याउँछ कि भ्याउन्न ?’
भिआइपी कक्ष प्रयोग गर्ने उनीहरूमाथि चेकजाँच गर्ने अधिकार त्यहाँका अधिकारीहरूलाई छैन । भिआइपीहरूले रोक लगाइएको चिजबिजसमेत ओसारपसार गर्ने गरेको उनीहरूको अनुमान छ । उहाँहरूको ह्याण्डक्यारी र लगेज चेक हुन्छ तर गोजी चेक गर्न मिल्दैन । खल्तीमा राखेर के–के ल्याउनुहुन्छ ? त्यो त हामीलाई थाहा हुँदैन’, नेपाल प्रहरीका एसएसपीले भने । मुस्लिम आयोगका अध्यक्ष यिनै मियाँले यसअघि भिआइपी कक्षको दुरूपयोग गरेर एक जना अभियुक्तलाई भगाएका थिए । एक करोड ठगेको आरोप लागेका ३० वर्षीय रिजवान आलमलाई भगाएपछि उनको चर्को विरोध भएको थियो । उनलाई पदबाट हटाउनुपर्ने माग गर्दै मुस्लिम समुदायले नै आन्दोलन गरेका थिए । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले राहदानी दुरूपयोग गर्नेमाथि कारबाही हुने बताए । कूटनीतिक राहदानी निजी प्रयोजनमा प्रयोग गर्न नपाइने उनको भनाइ छ । भन्छन्, ‘कूटनीतिक राहदानी भएको व्यक्तिले एउटा साधारण राहदानी पाउँछन् । जम्माजम्मी पाउने भनेको दुईटा मात्र हो । पुरानो राहदानी क्यान्सिल गरेर अर्को लिन भने सकिन्छ । राहदानी दुरूपयोग गर्नेलाई विभागले नियमावलीअनुसार कारबाही गर्छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव प्रेमप्रसाद आचार्यले संवैधानिक निकायका पदाधिकारीहरू विदेश भ्रमणमा जाँदा अनिवार्य स्वीकृति लिनैपर्ने जानकारी दिए ।
टिप्पणीहरू