एमाले अखिलमा पनि कारबाहीको कोतपर्व

एमाले अखिलमा पनि कारबाहीको कोतपर्व

एमाले अखिलको अवस्था सिंगो फर्सीजस्तो छ । देख्दा आकर्षक, भित्रचाहिँ बर्बाद । अहिले मातृ पार्टी एमालेजस्तै अखिलमा पनि नेतृत्वविरुद्ध बोल्न र लेख्नसमेत पाइँदैन । स्वस्थ आलोचना त परकै कुरा भयो । समानान्तर कमिटी बनाएको र बनेको कमिटीलाई बधाई दिएको भन्दै केन्द्रीय सचिव अञ्जना शिवाकोटीसहित समिक बडालनिकट आकाश घर्ती मगर, गत महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर विजयी हुने शोभा सापकोटा थापालगायतलाई समेत स्पष्टीकण सोधेर ‘छोरी कुटी बुहारी तर्साएको’ धेरै भएको छैन । 

उता, विभिन्न विवादमा आइरहने राजमती बम उर्फ रक्षा बमलाई महनगरीय प्रहरी प्रभाग महाराजगञ्जले २०८० चैत १५ मा पक्रउ गर्दा बडालले उनलाई निलम्बन गरिएको विज्ञप्ति जारी गरेका थिए । तर फुकुवा कहिले गरे, त्यो उनैबाहेक कसैलाई थाहा छैन । बम हिरासत मुक्त भएदेखि नै संगठनको विभिन्न क्रियाकलापमा सक्रिय छिन् । 

महोत्सव भयो, खर्च खै

२०८१ जेठ १–४ सम्म काठमाडौँको भृकुटीमण्डपमा अनेरास्ववियुले विद्यार्थी महोत्सव २०८१ गर्‍यो । महोत्सवले निकै चर्चा बटुल्यो । विभिन्न विषयमा प्यानल छलफल, बहस, प्रदर्शनी, कन्सर्ट आदि भयो । एकजना सचिवालय सदस्य भन्छन्, महोत्सव गर्दा खर्च पनि ब्यापक उठेको थियो । १ करोड २० लाखभन्दा बढी रकम उठ्दा खर्चचाहिँ लगभग ६०–७० लाख पुगेको हुँदो हो । कार्यक्रमअघि पत्रकार सम्मेलन गर्दै अध्यक्षले ‘महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र कार्यक्रम सकिएको एक हप्ताभित्र आम्दानी र खर्च (आय–व्यय) विवरण सार्वजनिक गर्छु’ भनेका थिए । तर, अहिलेसम्म हिसाव देख्न पाइएको छैन । 

इञ्चार्ज र अध्यक्षसामु अरु निरीह 

किशोरविक्रम मल्ल अखिलको इञ्चार्ज भएर आएपछि अरुको कुरै नसुन्ने, आफूले भनेको लागू गरेरै छोड्ने शैली अपनाउने गरेका छन् । ४ उपाध्यक्ष र अन्य पदाधिकारी उनीसामु निरीह हुने गरेको एक पदाधिकारीले बताए । 

स्ववियु निर्वाचन कार्यशालामा लफडा 

पुस २५–२६ गते एमाले मुख्यालय च्यासल ललितपुरमा अखिलले आसन्न स्ववियु निर्वाचन केन्द्रित कार्यशाला सम्पन्न गरेको छ । जसमा जिल्ला इञ्चार्ज र अध्यक्षहरूको सहभागिता थियो । पदाधिकारीबीच एकमत नहुँदा उपाध्यक्ष मर्यादा विष्टले स्वागत मन्तब्य दिएकी थिइन् । १० मिनेटभन्दा बढी बोल्ने अवसर पाउँदासमेत देशभरबाट भेला भएका विद्यार्थीमाझ प्रभाव छाड्न सकिनन् । एक पदाधिकारी हल बाहिर भन्दै थिए, ‘मैले स्वागत मन्तव्य दिन पाएको भए आगो बाल्थें’ । सो कार्यक्रमा योगेश भट्टराईदेखि नविना लामासम्मले प्रशिक्षण दिने अवसर पाएका थिए तर ऐन महरले पाएनन् । भानुभक्त ढकाल र समिक बडालले समेत ऐनलाई बोल्न दिने भनेका थिए । 

ऐनले किशोरलाई पक्राएको चर्चा

अहिले अखिल वृत्तमा ऐन महरले किशोरविक्रम मल्ललाई पक्राएको चर्चा ब्यापक छ । स्ववियु निर्वाचन केन्द्रित कार्यशाला सकिएको केही दिनमै किशोरविक्रम मल्ल शंखमूल दोभानस्थित नविना लामाको बर्गर हाउसबाट पक्राउ परे । उनलाई पुलिसले भक्तपुर लगेर पुनः महाराजगञ्ज प्रहरी बिटमा लगी राखेको थियो । ऐन महरनिकट पुष्प पहराईसँग किशोरले व्यक्तिगत कामका लागि रु २० लाख सापटी लिएको र पैसा फिर्ता गर्दा (चेक दिँदा) बैंकमा पैसा नरहेको जानकारी पाएपछि लामै समयदेखि लफडा चलेको महरलाई समेत जानकारी थियो । पहराई ऐननिकट हुन् । उनी विद्यार्थी राजनीति गर्दा अस्कल क्याम्पसको प्राक अध्यक्ष थिए । अहिले सामाखुशीतिर विद्यार्थी बाहिर पठाउने कन्सलटेन्सी चलाएर बसेका छन् । 

पहाराइले ऐनसँग यो विषयमा कुरा गरेका थिए, कार्यशालामा मल्लले बोल्न नदिएको झोंक र आफूनिकट कार्यकर्ताको पैसा तिर्न आनाकानी गरेको थाहा पाएपछि उनले गेम खेलेको र मल्ललाई ३ दिन हिरासतमा पु¥याएको चर्चा अखिल वृत्तमा ब्यापक छ । 
 

टिप्पणीहरू