आउँआउँ कि जाउँजाउँ वामदेव ?

नेपाली वामपन्थी जाति एकअर्कालाई गालीगलौज र बदनामी गर्नमा माहिर छन् । दुर्नाम र बदनाम पनि छन् । यतिखेर उनीहरूभित्रका एक खेलाडीको चलखेल अर्को लाजमर्दो चरणमा पुगेको छ । कम्युनिष्ट गुट र फुटको एक ज्वलन्त पर्याय बनेका वामदेव गौतमले आफैँलाई कम्युनिष्ट एकताको महानायक घोषणा गरेर एकता केन्द्र यतिखेर यो दलमा गएर मिसाउँ कि अर्को दलसँग जोडिऊँ भनेर रनभुल्ल छन् । मन्दिरमा झुण्ड्याइएको घण्टको रालो भक्तले जता तान्यो त्यतै पुगेर हल्लिएझैँ वामदेव गौतम कहिले यता, कहिले उताको भाउन्नले रनभुल्ल परेका छन् । दुई साताअघि समाजवादीमा गए–गए भनिएका उनी एक साता यतादेखि एमालेमा समाहित भए–भए भन्ने अवस्थाबाट अगाडि बढेर फेरि माओवादी र समाजवादीको चक्करमा लागेको देखिजान्ने, सुनिजान्ने र बुझिजान्नेहरू बताउँछन् ।
हाँडीमा भुटिरहेको मकै उछिट्टिएझैँ कहिले कसको, कहिले कसको गुट उपगुट बनिरहने ७० वर्षदेखिको वामपन्थी निरन्तरता वामदेवको पछिल्लो अवसरवादी संस्करणले नक्कली एकताको पुरानै उद्योग यतिखेर छताछुल्ल भएको छ । उनको कम्युनिष्ट एकता नामधारी ‘फुइँ’ कहीँ–कतै काम लाग्न सकेन, बाँदरको पुच्छर लौरो न हतियार ! कहिले माओवादी, कहिले समाजवादी त कहिले एमाले छहारीको खोजी नै वामदेव एकताको दैनिकी बनिरह्यो । के त्यसमा अहिले क्रमभंग भएको हो ?
एमाले फुटाउन माधव नेपाल, झलनाथ खनाल, भीम रावलभन्दा धेरै अगाडि रहेका वामदेवमा अब एउटा धामको अनुशरण गरेर परमधामको मार्ग समात्दै शान्तसँग बस्ने हुटहुटीले घर गर्न लागेको हो ? यदि, हो भने जीवनको उत्तरार्धमा रणबहादुर शाहको काशीवास होस् कि जुद्धसमशेरको रिडी अथवा हिजोआजको देवघाटवास जुनसुकै आश्रममा आश्रय लिए पनि त्यहाँ गरिने प्रयत्न भनेको जीवनलाई लाभ–हानिको महासागरबाट मुक्त गर्नु मात्रै हो । आफूले गरेका कुकर्मको पश्चाताप गरेर जीवनलाई निर्मल बनाउने प्रयास मात्रै हो । यसो भएपछि किन यो धाम र ऊ धाम अथवा एमाले कि समाजवादी वा माओवादीको परिक्रमामा लागिरहेका होलान् ? लामो जीवनकालमा पनि यति सोच किन नपलाएको होला ? सिर्जनात्मक शक्ति नभएको वृक्ष जति ठूलो भए पनि त्यसले नयाँ पालुवा हाल्ने हैसियत राख्दैन भन्ने त लोकोक्ति नै छ । तर, के रणबहादुरले बनारसबाट र जुद्धसमशेरले रिडीबाट फर्केपछि विवाह गरेजस्तै वामदेवले केपी ओलीपछिको एमालेसँग विवाह गर्न खोजेका त होइनन् ?
म वामदेव हुँ, मलाई जहाँ जसले पनि चिन्छन् भन्ने घमण्ड छ । तर, यिनलाई आफ्नैबारे के थाहा छैन भने, यिनीसँग पुराना गुड्डी हाँक्नेबाहेक कुनै वैकल्पिक कार्यक्रम छैन ।
फर्केर हेर्ने हो भने करिब आठ दशकको जीवन प्राप्ति र असफलताको जिउँदो जाग्दो पुलिन्दा हो । त्यसैले उनी उत्तरार्धमा जहाँ गए पनि त्यसको अर्थ रहने देखिएन । एमाले फुटाए । माले बनाए । सकेनन् । एमालेका प्रदीप नेपालले टुँडिखेलबाट एक नम्बरी भ्रष्टाचारी भनेर घोषणा नै गरे । तैपनि, वामदेव एमालेमा फर्किए । दुर्भाग्य तिनै प्रदीप नेपाल उपप्रधान तथा गृहमन्त्री वामदेवकै सल्लाहकार बन्न पुगे । वामदेवले फेरि किचमिच गरिरहे । एमाले र माओवादी एक भएर नेकपा बन्यो । त्यही फुटाउन लागे । बिहान एक पक्षसँग, बेलुका अर्कै पक्षमा लागिरहे । नेकपा फुट्यो । एमाले–माओवादी छुट्टाछुट्टै पार्टी बने । अनि एमालेमा केपी ओलीलाई कमजोर बनाउन लागे । सकेनन् । अरुलाई समाप्त गर्न हिँडेका आफैं छिन्नभिन्न बने । यतिखेर वामदेव ओलीसँग शरण खोजिरहेछन् !
सबैतिरबाट असफल भएपछि घर न घाटको बन्न पुगेका छन् वामदेव गौतम । अनि आफूजस्तै छिन्नभिन्न र एकलकाँटेहरू जम्मा गरेर कम्युनिष्ट एकता गर्नुपर्छ भनी मोर्चा बनाए । राम्रै खर्च गरे तैपनि सकेनन् । अन्ततः थकित बने । असरल्ल भए । सबैतिर असफल बने अर्थात् वामदेव गौतम गुट, फुट र लुटको पर्याय मात्रै बने । वामपन्थीबीच मुखले एकता, कामले अनेकताका जिउँदो जाग्दो उदाहरण सावित भए । वल्लो घाट न पल्लो तीर नै नियति बन्यो ...।
प्युठानको सामान्य परिवारमा जन्मिएका यिनी कहिल्यै प्रधानमन्त्री बन्न सकेनन् न त पार्टी अध्यक्ष नै बने । गृहमन्त्री पटक–पटक भएपछि असफलता र बदनामीको शिखर चढिरहे । चुनाव पनि हारिरहे । जहाँ जान्छन् भाँडभैलो मच्चाउँछन् । बिगार्छन् । जीवनको पूर्वार्धमा निकै दौडधुप गरे । उत्तरार्धमा नराम्ररी तिरस्कृत भइरहेका छन् । नेकपा माले हुँदै एमाले बनाउन जति दुःख गरे त्योभन्दा धेरै सिध्याउन लागे । त्यसैले वामवृत्तमा वामदेवपछि मात्र रामदेव र कामदेव भनिन्छ !
यी तीन देव वामकित्तामा पटक–पटक लिइरहने नाम हुन् । कामदेवबाट विषयको सुरुवात गरौँ । काठमाडौँ मखनको शिवमन्दिर नजिक यौन समस्यामा परेकाहरूको शरणस्थल हो कामदेवको पसल । जहाँ जहिलेसुकै भीड लागिरहन्थ्यो । भनिरहनै पर्दैन, अर्कादेव रामदेव बहुचर्चित योग र आयुर्वेदका पछिल्ला प्रवद्र्धक हुन् । अल्सरदेखि क्यान्सरसम्मको उपचार गर्छन् । तर, यिनले बिक्री गर्ने औषधि मानव हड्डी मिसाएर बनाएको हुन्छ भन्ने भारतभर आरोप छ । नेपालको वामपन्थी कित्तामा वामदेव भनेको यस्तो अस्थिर नाम हो जसको खातामा सबैभन्दा गुट, फुट र भाँडभैलो मच्चाएको बचत छ । वामपन्थमा हामपन्थ र उद्यण्डपन्थ चुलीमा छ । सुनपन्थका अनुयायीको रूपमा चर्चित छन् । भावनामा युवालाई भड्काउँदै काल्पनिक समाजवादको क्रान्तिकारी नारा लगाउँदै हाँक्नु अनि असहमत जति सबैलाई एउटै खाल्डामा पुर्नेसम्मका हर्कत उनको खाताका थप खजाना हुन् । यिनी त्यस्ता अत्यावश्यक मानिस हुन् जसलाई कसैले थाम्न सक्दैन । सधैँ एकताको जपतप गरेको देखिने तर अस्थिरता ल्याउनु, स्थापित पक्षलाई कमजोर पार्नु अनि मिलिसकेको विषयवस्तुलाई भाँड्नु यिनको विज्ञता नै हो ।
यिनको विश्वसनीयता ठ्याम्मै ह्रास भइसकेको छ । उपयोगिता पनि क्षीण भइसकेको छ । उमेरले नेटो काटिसकेको छ । वयोवृद्धहरूको जमातमा अग्रपंक्तिमा पर्छन् । त्यसैले प्रभाव प्रतिदिन घट्दो छ । उनको उमेरका नेता–कार्यकर्ता कि नारायणहरि भइसके कि त बुढ्यौलीले शिथिलप्राय बनिसकेका छन् । यस्तोमा पनि ठडिन खोज्ने वामदेवसँग न वैकल्पिक कार्यक्रम छ न त यिनका कुरा सुन्न नयाँ जमात तयार छ । यिनी वरिपरि लागेकाहरू यिनकै उतारचढावले गर्दा हैरान बनेर तितरवितर भइसकेका छन् । त्यसैले यिनको अवस्था अहिले जुन वामपन्थी गुटमा गए पनि पदका लागि मोलतोल गर्नु र नेता बनाइमाग्नुपर्ने भिखारीको जस्तो छ । समाजवादीमा गए, ठूलो पद नै दिएनन् । माओवादीले आश्वासन मात्रै दियो । एमालेले गन्दै गनेन ! पत्याउँदै पत्याएन । एमालेभित्र केही यस्ता गुट छन् जो विद्यादेवी भण्डारीलाई ल्याएर पार्टीमा राज गर्न उद्यत छन् । अर्काथरी विकल्प त वामदेव पो हो भनेर उनलाई घिच्याउन लागिरहेका छन् । एमालेमा दुवै स्वार्थ झुण्डहरूको तिकडमभन्दा यो केही पनि होइन ।
यस्तो अवस्थामा अब वामदेवसँग मसँग पनि केही छ भनेर तत्तत् नेता धम्क्याउने आधार एउटै छ, त्यो हो–मसँग भूमिगत अवस्थामा पार्टी हाँकेको अनुभव । आन्दोलनको नेतृत्व गरेको पहिचान । को नेता कस्तो हो ? मलाई सबैको आन्द्राभुँडी थाहा छ । मेरै गृहमन्त्री कार्यकालमा को कति मालामाल भए सबको हिसाब किताब छ । म वामदेव हुँ, मलाई जहाँ जसले पनि चिन्छन् भन्ने घमण्ड छ । तर, यिनलाई आफ्नैबारे के थाहा छैन भने, यिनीसँग पुराना गुड्डी हाँक्नेबाहेक कुनै वैकल्पिक कार्यक्रम छैन । नयाँ पुस्ताले तिमीले विगतमा के राम्रो काम गरेका छौ भनेर सोध्यो भने त्यसको जवाफसम्म यिनीसँग छैन ।
वामपन्थी आन्दोलनमा म्याद गुज्रिएको औषधिझैँ बनेका वामदेव यतिखेर एमालेमा प्रवेश गर्दै गरेको सुनिँदै छ । के यो साँच्चै हो ? हो भने यो ८० वर्षको बूढाको सत्तासुन्दरीसँगको विवाह मात्र सावित हुनेछ । आफ्ना नेता–कार्यकर्ताको बलबुद्धिले नपुगी हो भने बालेन, हर्ष साम्पाङहरूलाई भित्र्याऊ, अरूलाई होइन ।
टिप्पणीहरू