काठमाडौँमा कश्मीर एकता दिवसको कार्यक्रम

नेपालस्थित पाकिस्तानी दूतावासले कश्मीर एकता दिवसको अवसरमा काठमाडौँमा अन्तरक्रिया आयोजना गरेको छ ।
‘कश्मीरः अन्तर्राष्ट्रिय कानुन र विवेकको परीक्षण’ विषयमा आज दूतावासमा अन्तरक्रिया भएको हो । सोक्रममा पाकिस्तानी राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले पठाएको सन्देश पढेर सुनाइएको थियो ।
राष्ट्रपति आसिफ अली जरदारीको सन्देशमा भारतले त्यहाँका जनताको इच्छाविपरीत जम्मु र कश्मीर कब्जा गरेको उल्लेख छ । सन् २०१९ अगष्ट ५ मा भारतले गरेका गैरकानुनी कार्यले कश्मीरीहरुको अवस्था बिग्रिएको उनको भनाइ छ ।
सन्देशमा उनले भनेका छन्,‘सबैभन्दा पुरानो विवादमध्येको एक जम्मु र कश्मीर विवाद हो । भारतले हाम्रा जनताको इच्छाविपरीत सो क्षेत्र कब्जा गरेको छ । ५ अगष्ट २०१९ को भारतको गैरकानुनी कार्यले कश्मीरीहरुको स्थितिलाई थप बिगार्यो । प्रशासनिक र विधायकी उपायहरुमार्फत आफ्नो कब्जालाई सुदृढ पार्ने भारतको प्रयासको बाबजूद पनि काश्मिरी जनताको आत्मनिर्णयको चाहना अटल छ ।’
त्यस्तै, प्रधानमन्त्री मियाँ मुहम्मद शहबाज शरीफले संयुक्त राष्ट्र महासभाले समर्थन गरेको अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त, आत्मनिर्णयको अधिकारको लागि कश्मीरी जनताको वैधानिक संघर्षमा पाकिस्तानको दृढ नैतिक, कूटनीतिक र राजनीतिक साथ रहेको बताएका छन् ।
उपप्रधान तथा विदेशमन्त्री मुहम्मद इशाक दारले स्वतन्त्र र निष्पक्ष जनमत संग्रहमार्फत जम्मू र कश्मीरको अन्तिम स्थितिको निर्णय गर्न आह्वान गरेका छन् । ‘संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावले जनताको इच्छालाई प्रतिबिम्बित गर्दै स्वतन्त्र र निष्पक्ष जनमत संग्रहमार्फत जम्मू कश्मीरको अन्तिम स्थितिको निर्णय गर्न आह्वान गर्दछु’,उनको सन्देशमा भनिएको छ ।
नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले आत्मनिर्णयको अधिकारसहित जम्मू र कश्मीरका जनताको अधिकार प्राप्तिका लागि भूमिका खेल्न विश्वव्यापी समुदायसमक्ष आग्रह गरे । कार्यक्रममा पत्रकार, लेखक, विश्लेषक, मानव अधिकारकर्मीलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू