आईटी विकासको लागि सरकार र निजी क्षेत्रबीच सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।
आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणमा उनले यस्तो धारणा राखेका हुन् । मुलुकको सूचना प्रविधि क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको औल्याउँदै ढकालले दुवैको हातेमालोमा मात्रै आईटी हबको लक्ष्य हासिल हुने बताए ।
आईटी क्षेत्र विश्वव्यापी बजारसँगै खर्बौ बराबरको सेवा निर्यात र लाखौं मानिसलाई रोजगारी दिनसक्ने क्षेत्र भएकोले यसको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधार गर्न ढकालले सरकारसँग आग्रह गरे ।
महासंघले आईटी तथा स्टार्टअप र इनोभेसनका क्षेत्रमा पनि समयानुकूल नीतिगत सुधारका लागि सरकारसँग बहस र पैरवी गर्दै आएको बताउँदै उनले भने, ‘नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्न सकिनेछ ।’
क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने अध्यक्ष ढकालको भनाइ छ ।
सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास र प्रयोगका लागि ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेको सन्दर्भमा प्रस्तावित नीतिले सुरक्षित तथा दिगो एआई इकोसिस्टम निर्माणसँगै जनशक्ति विकास, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धमा सहयोग पुग्ने अपेक्षा गरिएको समेत उनले बताए ।
टिप्पणीहरू