मारवाडीसँग दुई करोड माग्ने जनप्रतिनिधिको बचाउमा एमाले

चुनावमा लागेको ऋण तिर्न घोराही सिमेन्ट उद्योगका मालिक पुरुषोत्तमलाल (पिएल) संघाईसँग दुई करोड मागेको आरोप लागेका रोल्पाका दुई जनप्रतिनिधिको बचाउमा सत्तारुढ नेकपा एमाले सक्रिय देखिएको छ ।
०७९ को चुनावमा सोही पार्टीबाट निर्वाचित त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा र कांग्रेसबाट चुनाव जितेका उपाध्यक्ष लेखमणी डाँगीले काठमाडौँको एक होटलमा भेटेर सांघाईसँग रकम डिल (प्रस्ताव) गरेको विषय सार्वजनिक भएसँगै एमालेको जिल्ला र गाउँपालिका कमिटीले छुट्टा-छुट्टै विज्ञप्ति निकालेर बचाउमा बोलेको हो ।
लुम्बिनीका पूर्व मन्त्री दिपेन्द्र कुमार पुन सिजलले प्रदेश सभा बैठकमा पालिका अध्यक्ष बाँठा र उपाध्यक्ष डाँगीले संघाईसँग दुई करोड मागेको र पैसा नपाएपछि सिमेन्ट उद्योगविरुद्ध आन्दोलन गरिरहेको आरोप लगाएका थिए । ‘बाहिर एउटा होटलमा भेटघाट भयो,अनि उपाध्यक्षज्यूले सबै डिल गर्नुभयो । चुनावमा खर्च लाग्यो, आदि इत्यादि गरेर दुई करोड प्रस्ताव राख्नुभयो’, सिजलले भनेका थिए, ‘तर संघाईले पैसा नदिएपछि अहिले एमालेकै नेतृत्वमा संघर्ष समिति बनाएर आन्दोलन गर्ने काम भइरहेको छ ।’
रोल्पा एमालेले भने सिजलले मिथ्या आरोप लगाएको दावी गरेको छ । जिल्ला अध्यक्ष अमृतबहादुर बुढाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुनले दिनुभएको असान्दर्भिक अभिव्यक्तिकाे घोर भत्सर्ना गर्दछ ।’
त्यस्तै, गाउँपालिका कमिटीले पनि सिजलले भ्रामक र कपोकल्पित आरोप लगाएको बताएको छ । अध्यक्ष कुशबहादुर पुनले विज्ञप्ति निकालेर भनेका छन्, ‘चुन ढुंगा उत्खननबाट पीडित नागरिकले स्वत:स्फूर्त आन्दोलन गरिरहेको अवस्थामा पूर्व मन्त्री पुनले कपोकल्पित, भ्रामक र प्रदेश सभाकै गरिमा घटाउने अभिव्यक्ति दिनुभएको छ ।’
प्रश्न उठिसकेपछि निष्पक्ष छानविन गर्नुपर्नेमा उल्टै बचाऊ गरेको एमालेले तथ्यपूर्ण खण्डन भने गरेको छैन । बुढागाउँको चुन ढुंगा उत्खननको विवादलाई नजिकबाट नियालिरहेका एक स्थानीय अगुवा भन्छन्, ‘आफ्नो पार्टीको नेतामाथि आरोप लागेपछि खण्डन गर्नु सामान्य हो, तर, बचाउ गर्दै विज्ञप्ति निकाल्ने पार्टीले हिम्मत भए उनीहरूमाथि छानविन गरेर सत्यतथ्य बाहिर ल्याए भैगाे नि !’
यसैबीच, उद्योगमन्त्री दामोदर भण्डारीले आज रोल्पा पुगेर चुनढुंगा खानीको अवलोकन गरेका छन् । उत्खनन् विवाद चर्किदै गएपछि आज उनी स्थलगत अवलोकनको लागि बुढागाउँ पुगेका हुन् ।
त्यसक्रममा उनले खानी उत्खननको विस्तृत अध्ययन गर्न दुई हप्ताभित्र विज्ञ टोलीलाई खटाउने बताएका छन् ।
याे पनि.....
चुनाव खर्च उठाउन मारवाडीलाई मुर्गा
टिप्पणीहरू