कोशीमा यसरी बिते पूर्वराष्ट्रपतिका केही दिन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल एमाले अध्यक्ष केपी शर्मा ओलीले नै राजनीतिमा स्वागत गरे एउटा कुरा, नत्र तत्कालै पुनरागमन सजिलो छैन । ओलीले भनिसकेका छन्, ‘उहाँलाई राष्ट्रपति एमालेले बनाएको हो । यदि राजनीतिमा फर्काउनुपरे एमालेबाटै निर्णय हुन्छ ।’
पुस तेस्रो साता तीन दिनका लागि भनेर गण्डकी प्रदेश गएकी भण्डारी सात दिन बसेर फर्किइन् । मितिनीको नगर पोखरामा बसेर एमाले कार्यकर्तासँग बाक्लो संवाद गरेपछि सक्रिय राजनीतिमा फर्किन चाहेको चर्चा भएको थियो । पोखरामा भण्डारीलाई भेटेर राजनीतिमा फर्किन आग्रह गर्ने एमालेजन प्रशस्तै थिए । गण्डकी यात्राको चर्चा सेलाइनसक्दै काठमाडौंबाट माघ १४ गते निस्किएकी उनी २० गतेसम्मको तालिका बनाएर खासगरी मोरङ र सुनसरीकेन्द्रित भ्रमणमा जुटिन् ।
झट्ट हेर्दा शैक्षिक तथा सामाजिक गतिविधिमा सरिक भएजस्तो देखिए पनि कोशीका कार्यकर्तादेखि माथिल्लो तहका नेताहरूसँग संवाद गरेकी छन् । एमाले नेताहरू पनि स्वागतमा लामबद्ध भएकै देखियो । उनी सहभागी हुने कार्यक्रममा उपाध्यक्ष गुरु बरालदेखि स्थायी कमिटी सदस्य शेरधन राईसमेतले मञ्च सेयर गरे । पूर्वराष्ट्रपति भण्डारीप्रति एमाले कार्यकर्ता र नेताहरूको अपेक्षा र आशा ठूलै देखिन्छ ।
उनले त्यही अपेक्षालाई प्रश्रय दिँदै माघ १४ गते विराटनगरमा आफू राष्ट्रिय राजनीतिमै रहेको सुनाइन् । तर, पार्टी राजनीतिमा फर्किने समय अझै नभएको उनको भनाइ थियो । यसको अर्थ एघारौँ महाधिवेशन वा ओलीको बहिर्गमनको समयतर्फ इंगित गरेको हुन सक्छ ।
माघ १४ गते विराटनगरमा उनले कोशीका नेतृ र सामाजिक क्षेत्रका अग्रजसहितसँग अलग अलग छलफल गरिन् । त्यही क्रममा उनलाई पत्रकारले बारम्बार राजनीतिमा पुनरागमनबारे सोधेपछि बोल्न बाध्य भइन् । उनी कोशीमा ओर्लिंदा शीर्ष नेताहरूको लाइन नै लागेको थियो । माघ २० गते नेपाल टेलिभिजन इटहरीको कार्यक्रममा भाग लिएर फर्किंदा बिदाइ गर्नेको लर्को पनि ठूलै थियो । मुख्यमन्त्री हिक्मत कार्की, भानुभक्त ढकालसहितका नेता–कार्यकर्ताले स्वागत र सत्कारमा कुनै कमी हुन दिएनन् । शेरधन त यसै पनि ओलीकाभन्दा भण्डारीकै प्रिय पात्र हुन् । मुख्यमन्त्री कार्कीले पनि शेरधनसँगको तिक्तताबीच भण्डारीको राम्रैसँग खातिरदारी गरे । विमानस्थलमा स्वागतका लागि पुगे । भण्डारी बसेको होटलमा पुगेर खुसुक्क संवाद गरे ।
चाखलाग्दो त के भने एमाले कोशी प्रदेशको अध्यक्षमा ओलीदेखि उनका सहयोगी सबै नेता लागेर हराइएका विनोद ढकालनिकट नेता–कार्यकर्ताको भीड भण्डारी सहभागी हुने कार्यक्रममा देखिन्थ्यो । सात दिनसम्म उत्तरतिर धरान र पूर्वतिर उर्लाबारीसम्म पुग्न भ्याएकी उनले कार्यकर्ताको मनोभाव बुझ्ने र ओलीको नाडी छाम्ने दुवै काममा आफूलाई व्यस्त राखिन् । उनले यसपाली ओलीविरोधी भावना बोकेका एमाले कार्यकर्तालाई समेत भेटिन् । ओलीप्रति एमालेमा रहेको असन्तुष्टिको तह पनि नापिन् । सार्वजनिक कार्यक्रममा पुगेकाहरूले सक्दो खातिरदारी गरे । अनि उनैले होटल पुगेर गुनासाका पोका पनि फुकाए ।
भण्डारीसँग फोटो खिचेर फेसबुकमा हाल्न नपाउने एमाले कार्यकर्ता छट्पटिएका देखिन्थे । भण्डारीको यो भ्रमणलाई असन्तुष्ट कार्यकर्तालाई थामथुम पार्ने उपाय पनि भनिएको छ । ओलीसँगको असन्तुष्टि पोख्ने ठाउँ नपाएकाहरुले पनि भण्डारीको यो भ्रमणलाई उपयोग गरेको देखिएको छ । एमालेका एक नेताको टिप्पणी थियो, ‘असन्तुष्टलाई पार्टीमै रोकेर परिआएका बेला आफ्नो कित्तामा उभ्याउने चाहना देखियो । असन्तुष्ट भएर बाहिर जान्छन् कि भनिएकाहरूलाई पनि होल्ड गर्न खोजेको प्रष्ट भयो ।’
एमालेमा अहिले समस्या कस्तो छ भने केपी ओलीसम्म पुगेर कुरा राख्नै पाइँदैन । ओली सरकारमा छन्, त्यहीकारण पनि असन्तुष्टिका आवाज सुन्न सकेका छैनन्, सकेसम्म सुन्दैनन् पनि ! यो अवस्थामा पूर्वराष्ट्रपति भण्डारी र कार्यकर्ता दुवैका लागि संवाद गर्न सहज भएको छ । ‘पूर्वराष्ट्रपतिले भेटेजति सबैका कुरा गम्भीर भएर सुन्नुभयो, धेरै बोल्नुभएन’, होटल पुगेर भेटेका एकजना कार्यकर्ताले भने, ‘पीडितहरूले मनको बह पोख्ने ठाउँ पाए ।’भण्डारीले कोशी यात्राका क्रममा पार्टी नेताहरुलाई घोच्दै भनिन्, ‘दल र नेताहरू यान्त्रिक भए, चुनावदेखि चुनावसम्मको मात्रै फन्कोमा घुमिरहे । अब सुध्रिनु आवश्यक छ ।’
दुर्ई कार्यकाल शीतल निवासमा बिताउँदा भण्डारीमा देशभरको सूचना भण्डारण रहेको कार्यकर्ताले महसुस गरेका छन् । केही कार्यकर्ताले भने पार्टी धेरै बिग्रिसकेको भन्दै काँध थाप्न तयार हुनुपर्नेसमेत सुझाव दिए । भण्डारी मोरङमा निजी विद्यालयको कार्यक्रमदेखि इटहरीको जनता स्कूलमा पनि पस्न भ्याइन् । धरानस्थित इञ्जिनियरिङ क्याम्पसको कार्यक्रममा पनि भाग लिइन् । केही ठाउँमा मदन भण्डारी प्रतिष्ठानमार्फत् गतिविधि भए । धरान किचेनमा भएको एक कार्यक्रमलाई पनि संबोधन गरिन् । आफू शीतलनिवासमा हुँदा लागु भएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमप्रति पनि उनको चासो थियो।
भण्डारी मोरङको बूढीगंगा–३ स्थित स्मृति बोर्डिङ स्कूलमा चुडाकवि स्मृति प्रतिष्ठानले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता तथा स्वास्थ्य स्वयंसेवी सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भइन् ।
विराटनगरको भेटका क्रममा उनले राजनीतिमा फर्किनेबारे ठोस जवाफ दिइनन् तर केही संकेत भने गरिन् । उनलाई भेटेका केही कार्यकर्ताले यो सक्रियतालाई राजनीतिमा फर्किने संकेत भनेका छन् । ‘उहाँले हाम्रा कुरा सुन्नुभयो, केही छ कि भनेर सोध्नुभयो तर राजनीतिक कुरामा जवाफ दिनुभएन । हामीलाई जवाफ नदिई मुस्कुराएर बिदा गर्नुभयो,’ भेटेपछि एमालेका एक कार्यकर्ताले भने ।
राजनीतिमा फर्किएमा पहिलो राष्ट्रपति भइसकेकी उनी एमालेको पनि पहिलो महिला अध्यक्ष हुन सक्छिन् । राष्ट्रपति भइसकेको व्यक्तिलाई संविधानले राजनीति गर्न रोकेको छैन । तर, राष्ट्रपति हुँदा पूरा गर्न नसकेको एजेण्डा राजनीतिमा फर्किएर उनले कसरी पूरा गर्लिन् ? यही कुरा चासोको विषय बनेको छ ।
टिप्पणीहरू