धर्म भन्दै बोर्डरमा धमाधम

नेपालको संविधान, २०७२ ले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरेको छ । भाग ३ को धारा २६ मा धार्मिक स्वतन्त्रताको हकबारे उल्लेख छ । धर्मकै नाममा कसैले विभेद खेप्न नपरोस् भन्ने उद्देश्यले संविधानमा समावेश गरिएको व्यवस्था पछिल्लो समय चरम दुरूपयोग भइरहेको छ ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी ईस्लाम धर्म प्रवर्धनका नाममा विदेशतिर कुद्नमै ठिक्क छन् भने नेपाल परिवार दलको अध्यक्ष भएर पनि एमालेबाट समानुपातिक सांसद बन्ने होलीवाइन संस्कृतिका प्रचारक एकनाथ ढकाल क्रिश्चियन धर्मको नाममा डलर कारोबार गरिरहेका छन् । यसबीच, उनै अध्यक्ष मियाँको जोडबलमा मुलुकका तीन जिल्लामा मुस्लिम समुदायको भव्य धार्मिक कार्यक्रम हुन लागेको छ ।
सुरक्षा चुनौती देखिएपछि रोक लगाइएको कार्यक्रम उनैको दबाबका कारण सञ्चालन गर्न अनुमति दिइएको छ । कोशी प्रदेशको दुई र मधेश प्रदेशको एक जिल्लामा ठूलो जमघटको आयोजना गरेर मुल्किए ईज्तेमा (ईस्लाम धर्मावलम्बीको धार्मिक प्रवचन) गर्न लागिएको छ । झापामा माघ २४ र २५, मोरङमा २८ देखि ३० र रौतहटमा २६ देखि २८ गतेसम्म कार्यक्रम हुनेछ । तीनै जिल्लामा प्रशासनले कार्यक्रम गर्न स्वीकृति दिएको छ ।
मदरसा ताजविदुल कुरानले आयोजना गरेको कार्यक्रमको सह–आयोजक मुस्लिम आयोग भएको बुझिएको छ । ‘उनको कार्यकाल सकिन लाग्यो । त्यसैले पनि यस्तो कार्यक्रमका निम्ति धेरै कसरत गरेका हुन् । यसमा मुस्लिम देशहरूको राम्रै फण्डिङ छ’, स्रोतले भन्यो ।
आयोगले एक महिनाअघि मात्र सोल्टी होटलमा भव्य ‘कुरान सम्मेलन’ गरेको थियो । नेपालस्थित साउदी अरेबियन दूतावासको आयोजना र आयोगको सहआयोजनामा भएको सम्मेलनमा सभामुख देवराज घिमिरे प्रमुख अतिथि थिए । कार्यक्रमको सम्पूर्ण खर्च दूतावासले व्यहोरेको आयोगका सदस्य महमदिन अलीले बताए । साउदीको एक मन्त्रालयका सचिव पनि कार्यक्रममा उपस्थित थिए ।
भन्छन्, ‘उतैको खर्चमा कार्यक्रम भएको हो । कार्यक्रममा शिक्षाको महत्व, ईस्लाम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरान र नमाज पढिएको थियो । ईस्लाम धर्म प्रवर्धनका लागि गर्नुपर्ने कार्यहरूमाथि पनि छलफल भयो ।’ तीन जिल्लामा हुन गइरहेको कार्यक्रममा आयोगको कुनै पनि भूमिका नरहेको सदस्य अलीले दाबी गरे । आयोगले मधेश प्रदेशको सर्लाही र महोत्तरीमा कार्यक्रम आयोजना गरेको छ ।
स्रोतका अनुसार भारतीय मुस्लिमलाई सहभागी गराउने उद्देश्यसहित तीनै जिल्लाको बोर्डर छेउ कार्यक्रम आयोजना गरिँदै छ । एउटा कार्यक्रममा २०–२५ लाखले सहभागिता जनाउने भएपछि स्थानीय प्रशासनले स्वीकृति दिन मानेन । कार्यक्रममा हुलदंगा हुने र शान्ति सुरक्षामा खलल पर्न सक्ने कारण देखाउँदै रोक लगाइएको थियो ।
हाल प्रशासनले विदेशी नागरिकलाई सहभागी हुन नदिने शर्तमा अनुमति दिएको छ । तर, खुल्ला सीमानाका कारण भारतीय सहजै कार्यक्रममा सहभागी हुने निश्चित छ । पहिले रौतहटको परोहा नगरपालिका ८, नरकटियामा कार्यक्रम हुन गइरहेको थियो । सीमा छेउको नरकटियामा कार्यक्रम गर्दा जोखिम हुने भएपछि प्रशासनले अन्तै सार्न सुझाव दियो ।
धर्मनिरपेक्ष राष्ट्रमा मुस्लिमलाई कार्यक्रम गर्न रोक लगाइएको भन्दै प्रशासनको चर्को आलोचना पनि गरियो । हाल कार्यक्रमस्थल सारेर रौतहटको राजपुर नगरपालिकास्थित मदरशामा हुँदै छ । सो स्थानीय कार्यक्रम भएको नगरपालिकाका मेयर डा. मोहम्मद राजिक आलमले बताए । कार्यक्रममा विदेशी उपस्थित नहुने उनको ठोकुवा छ ।
जनआस्थासँग उनले भने, ‘पहिले कार्यक्रम बोर्डर नजिक हुन गइरहेको थियो । अहिले बोर्डरभन्दा २०–२५ किलोमिटर अगाडि सारिएको छ । मुस्लिम समुदायको संसारभर नै कमिटी हुन्छ । त्यही कमिटीले पालैपालो कार्यक्रम गर्ने हो । यो एक किसिमको धार्मिक प्रवचन हो । स्वदेशी आएर प्रवचन सुन्न सक्नुहुन्छ ।’ रौतहटका प्रजिअ हिरालाल रेग्मीले कार्यक्रम गर्न अनुमति दिइएको बताए ।
कार्यक्रममा विदेशी पाहुना आउन नपाउनेगरी स्वीकृति दिइएको पनि जानकारी दिए । यता, मोरङको सुनवर्षी नगरपालिका–८ मा मुस्लिमको धार्मिक सभा हुँदैछ । तीन दिन चल्ने कार्यक्रमको तयारी भइरहेको वडाध्यक्ष अनवर मियाँले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, मोरङका सिडिओ इन्द्रदेव यादवका अनुसार त्यहाँ पनि प्रशासनको स्वीकृतिमै कार्यक्रम हुन लागेको हो ।
झापाको झापा गाउँपालिकामा पनि ईज्तेमा गरिँदैछ । मुस्लिम समुदायको व्यापक बसाइ भएको गाउँपालिकामा हरेक वर्ष दुई दर्जन बढी जल्सा नै हुने गर्दछ । पहिलोपटक भव्य किसिमको कार्यक्रम हुन लागेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले बताइन् । सिडिओ गोपालकुमार अधिकारीले कार्यक्रमको अनुगमन गरेको उनले जानकारी दिइन् ।
‘हिन्दूहरूको पुराण सप्ताहझैं यो मुस्लिमको महत्वपूर्ण कार्यक्रम हो । पहिलेचाँहि प्रशासनले सुरक्षाको कारण देखाउँदै रोक लगाएको थियो । हाम्रो गाउँपालिकाभित्र मुस्लिम बढी बस्नुहुन्छ । त्यसैले मैले सिडिओ कार्यालयमा पहल गरेँ । सिडिओ र इन्स्पेक्टर साब आई अनुगमन गरेर जानुभयो । कार्यक्रमको तयारी अन्तिम अवस्थामा छ’, उनले भनिन् । कार्यक्रममा भारतीयले उपस्थिति जनाउने अध्यक्ष थपलियाको भनाइ छ ।
माननीय मोहम्मद खालिदले कार्यक्रमले सुरक्षामा कुनै किसिमको खतरा नहुने बताए । नमाजको महत्व सिकाउन, समाजमा जागरुकता बढाउन र ईस्लाम धर्मसम्बन्धी प्रवचन दिन कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । भन्छन्, ‘भारतीयहरू आउँछन् । उनीहरूले हुलदंगा गर्न सक्छन् भन्ने डर न हो । तर, त्यस्तो केही हुँदैन । फेरि यो कार्यक्रममा कसैलाई निम्तो गएको हुँदैन । स्वदेशी होस् या विदेशी जो आउन चाहन्छन्, उनीहरूलाई खुला छ ।’
टिप्पणीहरू